१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आपत्कालीन प्रयोगका लागि कोरोना खोप प्रयोगमा ल्याएको चीनको दाबी

लक्ष्मी लम्साल

बेइजिङ — चीनले आपत्कालीन प्रयोगका लागि कोभिड-१९ भ्याक्सिन प्रयोगमा ल्याउन थालेको दाबी गरेको छ। एक जना चिनियाँ उच्च स्वास्थ्य अधिकारीले शनिबार बेइजिङमा घरेलु कम्पनीबाट त्यस्तो भ्याक्सिन प्रयोगमा ल्याएको बताएका हुन् ।

आपत्कालीन प्रयोगका लागि कोरोना खोप प्रयोगमा ल्याएको चीनको दाबी

चिनियाँ कोभिड-१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुख एवं चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ् चोङवेइले चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा त्यो भ्याक्सिन आपत्कालीन प्रयोगमा ल्याइएको बताए। उनले भने, ‘कोरोनाको सम्पर्कमा रहने उच्च खतरा भएका मानिसहरू जस्तै स्वास्थ्यकर्मी, फ्रन्टलाइन (अग्रपंक्ति)का महामारी नियन्त्रकहरू र भन्सार कर्मचारीहरूमा प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ।’

शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटिभी)मा बोल्दै चङ्ले आपत्कालीन प्रयोगका लागि आवेदनबमोजिम व्यापक बहस र मूल्यांकनपछि चीनको केन्द्र सरकारले जुन २४ तारिखमा योजनालाई अनुमोदन गरेर जुलाई २२ तारिखदेखि कोरोना खोप प्रयोगमा ल्याउन थालिएको खुलासा गरे ।

आगामी शरद र हिउँद ऋतुमा कोरोना महामारीको सम्भावना नदोहोरियोस् भन्नका लागि दायरा बढाउँदै स्वास्थ्य संकटका बेला सर्वसाधारणको सहज जीवनशैली कायम राखिने उनले बताए।

खोपको मूल्य बजारको मागभन्दा पनि उत्पादनको लागतअनुसार हुने बताउँदै उनले भने, ‘खोप उत्पादक कम्पनीले फाइदा नकमाउने भन्ने होइन तर यो आधारभूत नियमअनुसार उत्पादन लागत र तर्कसंगत हुनुपर्छ।’

चाइना नेसनल बायोटेक ग्रुपका सीईओ याङ स्याउमिङले कम्पनीले विगत केही महिनामा थुप्रै मुलुकसँग तेश्रो चरणको खोप परीक्षणका लागि सम्झौता गरेको जानकारी दिए। ‘करिब २० हजार मानिसमा भ्याक्सिन परीक्षण भइसकेको छ,’ उनले भने, ‘भ्याक्सिन सुरक्षाका हिसाबले ग्यारेन्टी गर्नयोग्य छ र यसको प्रभावकारिताको चाहिं गम्भीरताका साथ सुपरीवेक्षण भइरहेको छ ।’

विश्व स्वास्थ्य संगठनले गत अगस्ट ६ तारिखमा बताएअनुसार ६ वटा खोप तेश्रो चरणको परीक्षणका लागि तयार भएका छन्, तीमध्ये ३ वटा खोप चीनले विकास गरेको हो ।

विभिन्न देशहरूले खोप परीक्षणमा सफलताको नजिक पुगेको बताएप नि कहिलेदेखि सर्वसुलभ रूपमा सर्वसाधारणमाझ पुग्छ भन्नेबारे यकिन गरिसकेका छैनन् ।

प्रकाशित : भाद्र ८, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?