कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोरोना प्रभावित देशहरूको सूचीमा भारत पाँचौं स्थानमा

काठमाडौँ — भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपले बढ्ने क्रम जारी रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको छ । 

कोरोना प्रभावित देशहरूको सूचीमा भारत पाँचौं स्थानमा

पहिलो पटक भारतमा एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । यसअघि शनिबार ९ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ सय ८७ जनाको मृत्यु भएको छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २८ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा एक लाख १९ हजारभन्दा बढी निको भएका छन् ।

भारतमा कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव महाराष्ट्र, गुजरात, राजस्थान र तमिलनाडुलगायतका राज्य रहेका छन् ।

संक्रमणका हिसाबले पाँचौ स्थानमा भारत

कोरोना संक्रमणका हिसाबले भारतले युरोपेली देश स्पेन र इटालीलाई उछिन्दै पाँचौँ स्थानमा उक्लेको छ । स्पेनमा अहिलेसम्म २ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनमा अहिलेसम्म २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । स्पेनमा करिब एक लाख ५० हजार जना निको भएका छन् । त्यस्तै कोरोनाबाट प्रभावित युरोपेली मुलुक इटालीमा अहिलेसम्म २ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ भने करिब एक लाख ६५ हजार जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अमेरिकामा अहिलेसम्म करिब १९ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै करिब एक लाख १० हजारको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ५ लाख निको भएका छन् ।

त्यस्तै ब्राजिलमा ६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ३६ हजारको मृत्यु भएको छ भने २ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

त्यसैगरी रुसमा ४ लाख ५८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । रुसमा ५ हजार ७ सय १७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ भने करिब २ लाख २० हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको बेलायतमा करिब २ लाख ८६ हजारमा कोरोना संक्रमण देखिएको छ । बेलायतमा अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरा विश्व आक्रान्त छ । आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी करिब ६९ लाखमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट करिब ४ लाखको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी निको भएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?