आक्रमणमा संलग्नलाई ६ महिनादेखि ७ वर्षसम्मको कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना हुने
नयाँदिल्ली — भारतमा विगत केही दिन यता स्वास्थ्यकर्मीहरुमाथि आक्रमण र दुव्र्यवहार बढ्दै गएपछि त्यसलाई रोक्न केन्द्र सरकारले कडा कानुन ल्याएको छ ।
कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि पछिल्ला दिनमा भौतिक आक्रमण र दुव्र्यवहार बढ्दै गएको थियो । भारतका विभिन्न स्थानमा ती स्वास्थ्यकर्मीले भाइरस फैलाएको भन्दै भौतिक आक्रमणसमेत भएका थिए ।
त्यस्ता गतिविधि रोक्न सरकारले महाव्याधि नियन्त्रण तथा रोकथामसम्बन्धी सय वर्षभन्दा पुरानो कानुनलाई संशोधन गर्दै सजाय कडा पारेको हो । नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई ६ महिनादेखि ७ वर्षसम्मको सजाय हुने गरी सन् १८९७ को महामारीविरुद्धको ऐनमा संशोधन गर्नका लागि नयाँ अध्यादेश पारित गरेको छ ।
साथै, दोषीलाई १ लाखदेखि ५ लाखसम्मको जरिवाना गर्ने व्यवस्थासमेत अध्यादेशमा गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्दबाट अध्यादेश जारी भएपछि नयाँ व्यवस्था लागू हुनेछ । सरकारको उक्त निर्णयलाई वातावरण मन्त्री प्रकाश जावडेकरले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
दक्षिण भारतको चेन्नईमा गत आइतबार कोभिड–१९ बाट संक्रमणबाट मृत्यु भएका एक चिकित्सकको अन्तिम संस्कार बेला स्थानीयहरुको भीडले आक्रमण गरेका थिए । आक्रमण परी अन्तिम संस्कारका लागि पुगेका मृतकका सहकर्मी चिकित्सकहरु घाइते भएका थिए ।
गत साता मेघालयको सिलोनमा पनि कोरोना संक्रमणका कारण मृत्यु भएका एक जना चिकित्सकको अन्तिम संस्कारका क्रममा स्थानीयहरुको विरोध एवं अवरोधको सामना गर्नुपरेको थियो । विरोधका कारण उनको दाहसंस्कार ३६ घण्टापछि मात्र पूर्वनिर्धारित ठाउँभन्दा फरक ठाउँमा गरिएको थियो । उक्त घटनाको भारतभरि नै आलोचना भएको थियो । भारतका उपराष्ट्रपति बैकैंया नायडुले मेघालयको घटनाको विरोध गर्दै भारतीयको समाजको चेतनाका लागि दाग भएको बताएका थिए ।
यसअघि दक्षिण भारतको हैदराबादमा भएको दुइटा घटनामा पनि कोभिड–१९ संक्रमितको उपचारहरुको संलग्न चिकित्सकमाथि आक्रमण भएको थियो । त्यसैगरी इन्दोर, मुरादावादलगायतका करिब एक दर्जन घटनामा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण र दुव्र्यवहार गरिएको थियो ।
इन्दोरमा त कोरोना भाइरस परीक्षणका लागि एउटा बस्तीमा गएका स्वास्थ्यकर्मीमाथि स्थानीयले ढुंगामुडा नै गरेका थिए । त्यसैगरी बिहारको मुंगेरमा स्थानीयको स्वास्थ्य परीक्षणका लागि गएका स्वास्थ्यकर्मीहमाथि पनि आक्रमण गरिएको थियो ।
राजधानी दिल्लीमै समेत यस किसिमका घटना भएका थिए । आक्रमणका घटनासँगै राजधानी दिल्लीलगायतका सहरहरुमा भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई उनीहरु बस्ने डेरा वा घरमा प्रवेशमा रोक लगाउने घटनासमेत भएका छन् । जब कि दिल्लीलगायतका राज्य सरकारहरुले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण र कुनै किसिमको दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिँदै आएका छन् ।
तर विगत केही दिनयता यस किसिमका घटना रोकिनुको साटो उल्टो बढ्दै गएका छन् । यस्ता घटना देशव्यापी बन्दै गएपछि विरोधस्वरूप इन्डियन मेडिकल एसोसिएसनले मंगलबार (२३ अप्रिल) लाई कालो दिवसका रूपमा मनाउने घोषणा पनि गरेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो निर्णय हुनुअघि भारतीय गृहमन्त्री अमित शाहसँगको भिडियो कन्फरेन्समार्फत भएको अन्तरक्रियापछि संघले तत्कालका लागि उक्त कार्यक्रम फिर्ता लिने निर्णय गरेको थियो ।
