कुरुवाको चिन्ता- एउटै मास्कले कति दिन धान्ने?

‘अस्पताल जस्तो संवेदनशील ठाउँमा समेत मास्क छैन। एक जनामात्र संक्रमितभए भोलि के होला?’

वैशाख १०, २०७७

फातिमा बानु

काठमाडौँ — मंगलबार बिहान १० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको क्यान्टिन पुग्दा खाना अर्डर गर्ने र खानेको भिड थियो। बिरामी कुरुवा एक-अर्कामा टाँसिएर खाना खाने तर्खरमा थिए। कोभिड–१९ को संक्रमणबाट बच्न अर्का व्यक्तिसँग कम्तीमा तीन फिटको दुरी कायम गर्नुपर्ने नियमले यहाँ गिज्याइरहेको थियो।

हात धुने ठाउँमा साबुनका टुक्राटाक्री मात्रै थिए। ‘हात धोएर मात्रै खाना खाने भन्छन्, यहाँ कहिले साबुन हुँदैन,’ एक कुरुवाले भने, ‘कतिचोटि आफैले साबुन किनेर यहाँ राखिसकेँ।’

अस्पतालको आईसीयू कक्षमुनि कुरुवा सुत्ने कोठा छ। कोठामा कुरुवा सुत्न र बस्न भनेर राखिएका साना खालको सबै बेड टाँसिएका छन्। त्यही टाँसिएका बेडमा कुरुवा बस्ने, सुत्ने गर्दा रहेछन्। रात पर्न थालेपछि भुइँमा अरु कुरुवा पनि सुत्न भनेर म्याट बोकेर त्यही कोठामा आउँछन्।

हामी त्यहाँ पुग्दा केही कुरुवा ‘एकै ठाउँमा ४० जना सुत्नुपर्छ, लौन कतै मास्क पाइएन, कसरी बच्ने’ भन्दै गुनासो पोखिरहेका थिए। 

धादिङदेखि बुवाको उपचारका लागि अस्पताल आएका दिवस खतिवडाले भने, ‘घरबाट एक महिनाअघि लगाएर आएको एउटै मास्क अहिलेसम्म लगाइराछु, अरु केही विकल्प नभएपछि के गर्नु?’ अस्पताल नजिकका सबै मेडिकलमा पुग्दा पनि कतै मास्क नपाइको उनले बताए। लकडाउनका कारण बैंक बन्द भएर घरबाट पठाएको खर्च लिन पनि उनले पाएका छैनन्।

‘जुन बैंकमा हाम्रो खाता छ। त्यो अस्पताल नजिक छैन,’ उनले भने, ‘साधन छैन, हिँडेर जाऊँ प्रहरीले दिँदैन। अस्पतालले यस्ता समस्या बुझ्दैन। औषधि ल्याउनुस्, पैसा डिपोजिट गर्नुस् भन्छ। के गर्ने होला?'


भिड गरेर सुत्ने कुरुवालाई अस्पतालले दैनिक ज्वरो मात्रै नापिदिए पनि केही सुरक्षा हुन्थ्यो जस्तो लाग्ने केही कुरुवाले बताए। ‘सर्जिकल मास्क पाउँदैन, कपडाको मास्क किनौं बाहिर जान दिँदैन,’ आमाको उपचारका लागि जरखुंबाट आएका अर्का कुरुवाले भने, ‘घरबाट ल्याइदे भनौं भने गाडी चलेको छैन, संक्रमणले कतिखेर छुने हो थाहा छैन।’

२० दिनअघि स्याङ्जादेखि बुवाको उपचारका लागि आएका गणेश खनाल आएदेखि एउटै सर्जिकल मास्कको भरमा छन्। मास्क किन्न खोज्दा नपाएपछि एउटै मास्क लगाएर बस्न बाध्य भएको उनले बताए। ‘अस्पतालको फार्मेसीमा पनि पाउँदैन,’ उनले भने, ‘बाहिरको फार्मेसीतिर पनि दिनहुँ सोध्न जान्छु, पाइएको छैन।’ 

मास्कबिना अस्पतालमा हिँडडुल गर्न दिइँदैन। संक्रमणको जोखिम मोलेर उनी एउटै मास्क लगाएर बस्छन्। बुवालाई कुर्न अस्पताल आउजाउ गर्न थालेपछि आफन्तका घरबेटीले पनि उनलाई कोठा नफर्के हुन्थ्यो जस्तो व्यवहार गरे। बिरामी कुर्न पालो दिनका लागि घरबाट कोही आउन पाएका छैनन्। 

‘क्यान्टिनको खाना धेरै चिल्लो हुन्छ, खानै मन लाग्दैन,’ उनले भने, ‘गाडी नचलेर कोठाबाट कसैले ल्याइदिन पाएको छैन।’ २० दिन अस्पताल बस्दा, मास्क नपाउँदा अनि अस्पतालको फोहोरले उनी आफै बिरामी जस्ता भइसके। ‘बुवालाई प्यारालाइसिस भइसक्यो, कति दिन अस्पताल बस्नुपर्ने हो थाहा छैन,’ उनले भने, ‘यही अस्पतालमा संक्रमित र शंकास्पद बिरामी भर्ना गर्ने ठाउँ छ, मास्कबिना हिँड्न कस्तो डर लाग्छ।’ 


कुरुवालाई हात धुने ठाउँ अथवा सेनिटाइजरको व्यवस्था गरिदिनुपर्यो भन्दै उनी अस्पताल प्रशासनमा गुनासो लिएर पुगिरहन्छन्। प्रशासन प्रमुख उल्टै तर्किन्छन्। दिनभरि मैलो मास्क लगाएर हिँड्दा उनको मन त्यति आत्तिँदैन जति अस्पतालको गल्लीमा राति ३० जनाको भिडमा सुत्दा डराउँछन्। ‘अस्पताल जस्तो संवेदनशील ठाउँमा मास्क पाउँदैन,’ उनले भने, ‘एक जना मात्र कुरुवा संक्रमित भए भोलि के होला।’ 

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितका अनुसार एउटै मास्क धेरै दिन प्रयोग गर्दा उल्टै अन्य संक्रमणका किटाणु नाक र मुखबाट भित्र छिर्ने जोखिम हुन्छ। ‘अस्पताल छिर्ने जोसुकैले सफा मास्क प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘फोहोर मास्क प्रयोग गर्नुभन्दा सफा रुमालले मुख छोप्दा सुरक्षित भइन्छ।’


अस्पतालको शौचालयमा हात धुन साबुन छैन। मुलगेटमा हात धुन भनेर राखिएको ठाउँमा झोल साबुन कहिले हुन्छ, कहिले हुँदैन। कुरुवालाई बिरामीको चिन्ता त छँदै छ लकडाउनले उनीहरूलाई अन्य व्यावहारिक समस्या थपिदिएको छ। रगत लिन जानुपरे कुरुवाले उस्तै सास्ती झेल्छन्। हिँडेर गए सुरक्षाकर्मीले बाटोमा रोक्छन्, जिल्ला प्रशासनको पास माग्छन्। उनीहरू ५ सय रुपैयाँको रगत किन्न एक हजार भाडा तिरेर एम्बुलेन्समा भइरहेका छन्। दुर्गमबाट उपचारका लागि आएका गरिब विपन्न बढी मारमा छन्।


फातिमा

Link copied successfully