विदेशबाट आएका पनि गाडीबाट गाउँ फर्कंदै

‘काठमाडौंबाट आउने टोलीमा कतार, मलेसिया, दुबई, साउदी लगायतका मुलुकबाट आएका पनि छन्।’

वैशाख १०, २०७७

राजविराज — काठमाडौंबाट धमाधम गाडीमा सर्वसाधारण गाउँ फर्कन थालेपछि जिल्लामा व्यवस्थापन मिलाउन सकस परेको छ। लकडाउनभन्दा केहीअगाडि मलेसिया, कतार, दुबई लगायतका मुलुकबाट आएर काठमाडौंमा रहेकाहरु पनि अहिले स्थानीयसँगै फर्कन थालेपछि थप समस्या देखिएको हो।

बुधबार दिउँसोसम्म राजधानीबाट २ वटा बसमा ६० जना सप्तरी पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी निरीक्षक यामलाल बन्जाडेले जानकारी दिए। जिल्ला प्रहरीका डीएसपी तिलक भारतीका अनुसार उनीहरुसँगै आएका केही भारतीय नागरिकलाई सप्तरीको सीमामा प्रवेश दिइएको छैन। अरु बस भने पूर्वतिर लागेको ट्राफिक प्रहरीको भनाइ छ।

सरकारले जो जहाँ छ, त्यही बस्न भने पनि स्थानीय तहले आफ्नो पहलमा स्थीनयलाई गाउँ फर्कने व्यवस्था मिलाइरहेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले राजधानीबाट आएकालाई आरडीटीपछि मात्रै घर जान दिइने बताए। ‘काठमाडौंबाट आउने टोलीमा कतार, मलेसिया, दुबई, साउदी लगायतका स्थानबाट आएका पनि छन्,’ उनले भने, 'आएका सबैको आरडीटी गरेर मात्रै होम क्वारेन्टाइनमा जान दिइनेछ।’

काठमाडौंबाट समूह समूहमा मानिस आउन थालेपछि जिल्लामा आरडीटी किटसमेत अभाव हुने भएको छ। परीक्षण नहुँदासम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले क्वारेन्टाइन कक्षको क्षमता समेत बढाउनुपर्ने अवस्था देखिएको छ।

Link copied successfully