काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए । उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए ।
हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।
नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन् । हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन् ।
त्यसैगरी आइसोलेसनमा देशभरी ९५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन् । क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए ।
भारत र चीनद्वारा स्वास्थ्य सामग्री सहयोग
भारत र चीनले कोरोना रोकथाम तथा परीक्षणका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले औषधिहरु चरणबद्ध रुपमा प्राप्त हुने जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट १८ किसिमका औषधि २३ टन सहयोग प्राप्त भएको बताएको छ । त्यसैगरी चीनले कोरोना रोकथामका लागि प्रयोग हुने सामग्री पनि सहयोग गरेको छ । पीसीआर मेसिन, थर्मोमिटर, पीपीइ सेट लगायतका सामग्री सहयोग गरेको हो ।
