भारतमा मे ३ सम्म लकडाउन, अप्रिल २० पछि ससर्त छुट दिइने

वैशाख २, २०७७

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा थप उन्नाइस दिनका लागि लकडाउन लम्ब्याइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मे ३ (वैशाख २१)सम्म लकडाउन बढाउने घोषणा गरेका छन् ।

गत  मार्च २४ मा घोषणा गरिएको पहिलो चरणको लकडाउन बुधबार सकिँदैछ । उक्त तीन साता लामो लकडाउन सकिनुअघि नै दोस्रो चरणको १९ दिने लकडाउनको घोषणा गरिएको हो । ‘लकडाउनका कारण जनताको अप्ठ्यारा कसरी सम्बोधन गर्ने ? लकडाउनलाई निरन्तरता दिने नदिनेलगायतका विषयमा राज्यहरुसँग निरन्तर छलफल गरियो । यो छलफलमा सबैको एउटा सुझाव रह्यो लकडाउनलाई बढाउनुपर्छ । सबै सुझावहरुलाई ध्यानमा राख्दै भारतमा लकडाउनलाई ३ मेसम्म बढाउने निर्णय गरिएको छ,’ मोदीले आफ्नो सम्बोधनमा भने । 

त्यसैगरी मोदीले दोस्रो चरणको लकडाउनमा केही खुकुलो हुने संकेत गरेका छन् । उनले आगामी एक साताको अवस्थालाई विश्लेषण गर्दै स्थानीयस्तरमा लकडाउनलाई खुकुलो बनाउने र नबनाउने निर्णय लिइने पनि बताएका छन् । ‘अप्रिल २० सम्म हर जिल्ला, हल टोल, हर राज्यलाई नजिकबाट हेरिनेछ । लकडाउनको पालना कसरी पालना गरिएको छ ? कोरोनाबाट कसरी ती क्षेत्रलाई बचाइएको छ ? त्यसको आधारमा निर्णय लिइनेछ’ मोदीले भनेका छन् । 

जुन क्षेत्रले त्यसवधिमा लकडाउनको पूर्ण पालना गर्नेछन् त्यहाँ अप्रिल २० बाट केही अत्यावश्यक गतिविधिका लागि छुट दिइने मोदीले बताएका छन् । ‘जो क्षेत्र यो अग्निपरीक्षामा सफल हुनेछ, जसले आफ्नो क्षेत्रमा हटस्पट बढ्न दिँदैनन् ती क्षेत्रमा २० अप्रिलबाट केही अत्यावश्यक गतिविधिका लागि छुट दिइनेछ । त्यो छुट सशर्त हुनेछ । बाहिर निस्कन पाउने नियम निकै कडा हुनेछ,’ मोदीले उल्लेख गरेका छन् । 

भारतमा जहाँ बढी नेपाली त्यहीँ बढी संक्रमण

यो छुटको निर्णय गरिबहरुको हितमा ध्यानमा राख्दै लिएकोसमेत मोदीले भनेका छन् । ‘जो दैनिक कमाइमा निर्भर छन् उनीहरुलाइ लक्षित गरी यो छुट दिने व्यवस्था गरिएको हो,’ उनले भने । तर, यदि लकडाउनको नियम तोडिन्छ र त्यसले कोरोना संक्रमणको जोखिम बढाउँछ भने त्यो छुटलाई तत्कालै खारेज गरिने चेतावनी पनि उनले दिएका छन् । लकडाउनका सम्बन्धमा लापर्बाही नगर्न र अरुलाई पनि लापबार्ही गर्न नदिन आह्वान गरेका छन् । यससम्बन्धी विस्तृत कार्यविधि बुधबार सार्वजनिक गरिने समेत मोदीले बताएका छन् । त्यसैगरी केन्द्र र राज्य सरकार मिलेर किसानलाई कम असर परोस् भन्नेमा पनि ध्यान दिइएको समेत उनले बताएका छन् । 

मोदीले कोरोना संक्रमणलाई कुनै पनि हालतमा नयाँ क्षेत्रमा फैलिन नदिन गम्भीर बन्न पनि आह्वान गरेका छन् । उनले स्थानीय स्तरमा एउटा पनि संक्रमण बढ्छ र कसैको मृत्यु हुन्छ भने त्यो चिन्ताको विषय हुनुपर्ने समेत बताएका छन् । ‘त्यही भएर पहिलेको भन्दा थप सतर्क बन्नुपर्नेहुन्छ । जुन स्थानलाई हटस्पट बनाउनुपर्ने छ, त्यस्ता ठाउँहरुका बारेमा पनि सजग बन्नुपर्ने अवस्था छ,’ मोदीले भने । मोदीले हटस्पटले चुनौती थप बढाउने भएकाले कसैलाई लकडाउनको पालनाका लागि लापर्बाही नगर्न पनि अनुरोध गरेका छ्न । त्यसैगरी उनले युवा वैज्ञानिकहरुलाई कोभिड–१९ को भ्याक्सिनको अनुसन्धानमा जुट्न पनि आह्वान गरेका छन् । 

साथै उनले दोस्रो चरणको लकडाउन सफल बनाउन सात कुरामा विशेष ध्यान पनि मोदीले आग्रह गरेका छन् । जसअन्तर्गत सबैभन्दा पहिलो परिवारका जेष्ठसदस्यको विशेष ख्याल राख्न मोदीले भनेका छन् । त्यसैगरी उनले 

लकडाउनको पूर्ण पालना गर्दै, सामाजिक दूरीको लक्ष्मण रेखालाई ख्याल गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि अनुरोध गरेका छन् । साथै आफ्नो प्रतिरोध क्षमता बढाउन, तातो पानी र कागती पानीको निरन्तर प्रयोग पनि आह्वान गरेका छन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणसम्बन्धी जनचेतना जगाउने सम्बन्धमा तयार पारिएका आरोग्य सेतु मोबाइल एप प्रयोग गर्न पनि मोदीले भनेका छन् । सकेसम्म गरिब परिवारको रेखदेख गर्न र भोजनको व्यवस्था गर्नुका साथै आफ्ना कामदार र व्यवसायमा काम गर्नेहरुप्रति सम्वेदना देखाउन पनि मोदीले अनुरोध गरेका छन् । 

साथै उनले कोरोना भाइरसविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति सम्मान देखाउन र उनीहरुको मनोबल बढाउन पनि मोदीले आग्रह गरेका छन् । 

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully