विश्‍व बैंकको सहयोगमा सञ्‍चारमाध्यमबाटै पठनपाठन

वैशाख २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को तीव्र संक्रमणसँगै गरिएको लकडाउनपछि विश्वका कतिपय देशमा अनलाइन, रेडियो तथा टेलिभिजनबाट पठनपाठन सुरु गरिएको छ ।

विश्व बैंकको सहयोगमा विभिन्न देशका शिक्षा मन्त्रालयहरूले शैक्षिक प्रविधि (एडटेक) मार्फत विद्यार्थीहरूका लागि आवश्यक पाठ्यसामग्री प्रदान गरेका हुन् । हाल विभिन्न देशले अनलाइन, रेडियो र टेलिभिजन कक्षा तथा विभिन्न वेबसाइटमार्फत विद्यालयको पाठ्यक्रममा आधारित श्रव्य, दृश्य तथा पाठ्यसामग्री उपलब्ध गराएका हुन् ।

विश्व बैंकका अनुसार ४६ देश तथा वेस्ट बैंक र गाजा क्षेत्रमा त्यस्ता कक्षा सञ्चालनमा ल्याइसकिएको छ । त्यसका लागि देशको पाठ्यक्रमअनुसारको कोर्स तथा डाटाबेस तयार पारिएको विश्व बैंकले जनाएको छ । कतिपय देशले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने छुट्टै एपसमेत निर्माण गरेका छन् ।


कोभिड–१९ को महामारी फैलिएको चीनमा गत फेब्रुअरी ९ देखि नै प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरूका लागि नयाँ शैक्षिक सत्रका कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिसकेको छ ।


त्यसका लागि चिनियाँ शिक्षा मन्त्रालयले मुख्य टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकमार्फत सहज, सुलभ र भरपर्दो सेवा उपलब्ध गराउन प्रविधि मन्त्रालयसँग सहकार्य गरेको छ । शिक्षा मन्त्रालयका अनुसार त्यस्ता कक्षा लिने विद्यार्थीहरूको संख्या २० करोड छ ।


त्यसैगरी पछिल्लो पटक अप्रिल ६ मा मलेसियामा विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले नयाँ टेलिभिजन च्यानल सुरु गरिएको छ । दैनिक २ घण्टा प्रसारण गरिने सामग्रीहरू शिक्षा मन्त्रालयको वेबसाइटमा समेत राखिँदै आएको छ ।


भारतको मानव संसाधन विकास मन्त्रालयले मार्च २१ देखि डिजिटल अध्ययनको व्यवस्था गरेको छ । दीक्षा वेबसाइट तथा ई–पाठशाला एपमार्फत कक्षा १ देखि १२ सम्मका पाठ्यक्रममा आधारित श्रव्य, दृश्य तथा पाठ्यसामग्री हिन्दी, उर्दू र अंग्रेजी भाषामा उपलब्ध गराइएको छ ।


त्यसैगरी, माल्दिभ्स, यूएई, जापान, कोरियालगायत युरोपेली, दक्षिण अमेरिकी र अफ्रिकी देशका शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यार्थीहरूका लागि आवश्यक पाठ्यसामग्री अनलाइन, रेडियो तथा टेलिभिजनमार्फत उपलब्ध गराइएको विश्व बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully