नवलपरासी — निर्माणाधीन गैंडाकोट-दाउन्ने सडक खण्डको काम सुरु हुने भएको छ । मेसिनले गर्ने ठूला काम सुरु गर्दा जोखिम नहुने भएकाले चिनियाँ ठेकेदार कम्पनी सडक निर्माणको काम अघि बढाउन लागेको हो ।
गैडाकोट-दाउन्ने सडक खण्डका इन्जिनियर सुजन अधिकारीले सडकमा पुल निर्माणको काम महत्त्वपूर्ण हुने भएकाले निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिए । उनले धेरै मेसिन र थोरै जनशक्तिबाट काम हुने भएकाले काम थालिएको बताए । मेसिनका कामदारलाई क्वारेन्टाइनमै राखेर काम अघि बढाइने उनको भनाइ थियो ।
मेसिन चलाउने कामदारलाई क्वारेन्टाइनमा नै राखेर सडकको काम अगाडि बढाउने सहमति भइसकेको पनि अधिकारीले जानकारी दिए । काममा खटिने कामदारलाई बाह्य सम्पर्कमा जान नदिने र कामको निगरानी गरिने बताइएको छ ।
सानो संख्यामा स्थानीय मजदुरलाई काम गर्ने क्षेत्रमै टेन्टमा राखेर काम गराउन चिनियाँ ठेकेदार कम्पनीले रुचि देखाएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल भइरहेको अधिकारीले बताए ।
बुटवल-नारायणगढ सडकको निर्माणाधीन ११४ किलोमिटर खण्डको निर्माण कार्य कोरोना भाइरसको प्रकोप फैलिन नदिन गरिएको लकडाउनका कारण चैत्र ११ गतेदेखि रोकिएको थियो ।
गैंडाकोट-दाउन्ने सडक खण्डको ६८ किलोमिटरमा ९ वटा ठूला पुल बनाउनुपर्ने छ । काम सुरु भएर रोकिएका लोकाह पुललगायतका ४ पुलको निर्माण कार्य अगाडि बढाइने भएको हो ।
दाउन्ने-बुटवल खण्डमा भने तत्काल काम गर्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
गैंडाकोट-दाउन्ने सडक खण्डको नियमित काम पनि तत्काल सुरु नहुने बताइएको छ ।