बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

चैत्र २५, २०७६

एजेन्सी

लन्डन — कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको छ ।  ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए । 


तर सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि पनि भने सबै अचम्मित परेका छन् । सेन्ट थोमस अस्पतालमा भर्ना हुनुभन्दा पहिले उनले घरबाटै प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्दै आएका थिए । आइतबार अस्पताल भर्ना भएसँगै भने उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । 


प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु जोनसनको उपचारमा खटिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ११ दिनअघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । 


बेलायतमा म‌ंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी  संक्रमित भएका छन् । 


सम्बन्धित समाचार

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित

कोरोना भाइरस

एजेन्सी

Link copied successfully