सिंगापुरमा दुई जनाबीचको दूरी एक मिटर नराखे ८ लाख जरिवाना र ६ महिना जेल हुने

चैत्र १४, २०७६

कान्तिपुर संवाददाता

काठमाडौं — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि करिब एक तिहाइ विश्व लकडाउनमा रहेको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न देशले लकडाउनदेखि घरबाट बाहिर निस्कन नदिने निर्देशन दिएका छन् । इटालीमा कोरोना संक्रमित व्यक्ति घरबाट निस्किए ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

यसैबीच सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ । अब सिंगापुरको सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी एक मिटर(३.३ फीट) कायम नगरे १० हजार सिंगापुर डलर(करिब ८ लाख ३९ हजार नेपाली रुपैयाँ) जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । 

सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिनुसार शुक्रबार बिहानैदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ । त्यस्तै सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ । 

कोरोना नियन्त्रणका लागि सिंगापुर सरकारले चालेका कदम प्रभावकारी भएको बताइएको छ । शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ । 

कान्तिपुर

Link copied successfully