लकडाउनले सुनसान बेलायत

चैत्र १४, २०७६

नवीन पोखरेल

लन्डन — कोभिड–१९ को संक्रमण फैलन नरोकिएपछि सोमबार मध्यरातदेखि तीन साताका लागि लकडाउन गरिएको बेलायत सुनसान बनेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले सोमबार तीन साता लामो लकडाउन घोषणा गर्दै खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अन्यलाई घरैमा बस्न निर्देशन दिएका थिए ।


उनले ‘सरकारी निर्देशन नमान्नेलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको’ जनाएपछि बेलायत थप सुनसान बनेको हो । उनको घोषणासँगै बेलायतभर पुस्तकालय, जिम, खेल मैदान, चर्च बन्द छन् भने । धार्मिक भेला तथा विवाह समारोमा रोक लगाइएको छ । अन्तिम संस्कारमा भने प्रतिबन्ध लागू हुनेछैन । दुई जनाभन्दा बढी भेला हुन नपाइने र पार्कमा व्यायामका लागि एक जना मात्र वा परिवारका साथ जान भनिएपछि सडकमा मानिसहरू देखिन छाडेका छन् ।


बैंक, फार्मेसी, पेट्रोलपम्प, खाना, पत्रिका, हार्डवेयर, लन्ड्री भने खुलेका छन् । सडक र रेल नेटवर्क खुला रहे पनि अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्नेलाई मात्र प्रयोग गर्न दिइएको छ ।


प्रधानमन्त्री जोनसनले बेलायतको स्वास्थ्य सेवा (एनएचएस) लाई कोभिड–१९ बिरामीको चापका कारण तहसनहस हुन नदिन पछिल्लो कदम चाल्नुपरेको बताएका थिए । यसअघि जमघट, अनावश्यक यात्रा नगर्न र सकभर घरैबाट काम गर्न गरेको अनुरोध अवज्ञा भएपछि बेलायत सरकार थप कठोर बनेको जनाइएको छ ।


यसैबीच, बेलायतले आगामी साता ४ हजार जनालाई उपचार गर्न सक्ने आपत्कालीन उपचारकक्ष खोल्ने भएको छ । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पूर्वी लन्डनस्थित एक प्रदर्शनीकक्षलाई अस्पतालमा परिणत गरिने बताए । स्वास्थ्य सेवालाई सघाउ पु‍र्‍याउन अनि जोखिममा रहेका मानिसलाई सहयोग गर्न २ लाख ५० हजार स्वयंसेवक भर्ना गरिने पनि उनले जनाएका छन् ।


शुक्रबार बिहानसम्म बेलायतमा कोराेना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार ६ सय ५८ पुगेको छ भने ५ सय ७८ जनाको मृत्यु भएको छ ।

नवीन

Link copied successfully