काठमाडौँ — सामुदायिक, निजी विद्यालय र क्याम्पस भवनमा क्वारेन्टाइन बनाउन शिक्षा मन्त्रालयले अध्ययन थालेको छ । क्वारेन्टाइन बनाउन सकिने शिक्षण संस्थाको तथ्यांक संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीले प्याब्सन, एनप्याब्सन, हिसानलगायत निजी शिक्षण संस्था सञ्चालकहरूसँग क्वारेन्टाइन स्थापना र सञ्चालनका विषयमा छलफल गरेका हुन् । सामुदायिक विद्यालय र क्याम्पसलाई पनि क्वारेन्टाइन र आइसोलेसन कक्षका रूपमा विस्तार गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।
‘निजी शिक्षण संस्था सञ्चालकहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘काठमाडौंमा मात्रै ५ हजार कक्षाकोठा क्वारेन्टाइन बनाउन उपयोगी छन् भन्ने अनुमान गरिएको छ ।’ आवश्यकताअनुसार देशभरका शिक्षण संस्थाको कक्षाकोठाको अवस्थाबारे अध्ययन भइरहेको उनले जनाए ।
संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरेर क्वारेन्टाइन निर्माणको पहल गरिएको उनले बताए । ‘भूकम्पपछि सामुदायिक विद्यालयमा पनि सुविधासम्पन्न भवन बनेका छन्,’ उनले भने, ‘शौचालय र खानेपानी सुविधा राम्रो भएका शिक्षण संस्थामा क्वारेन्टाइन बनाउन सकिन्छ ।’ क्वारेन्टाइन निर्माणका लागि मन्त्रालयले संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराई संयोजक रहेको समितिलाई विवरण उपलब्ध गराएको उनले जनाए ।
त्रिभुवन विश्वविद्यालयले पनि क्वारेन्टाइन निर्माण गर्न सकिने शिक्षण संस्थाको विवरण सरकारलाई उपलब्ध गराइसकेको छ । शिक्षा मन्त्रालयको विद्यालय, उच्च र प्राविधिक शिक्षा महाशाखाले विद्यालय, क्याम्पस र प्राविधिक शिक्षालयका भवनको लेखाजोखा गरिरहेका छन् ।
वेबसाइटमा कक्षा
विद्यालय बन्द रहेका बेला वेबसाइटबाटै पढ्न, सिक्न र खेल्न सकिने व्यवस्था गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न ७ वेबसाइटबाट अध्ययनलाई निरन्तरता दिन सकिने जनाएको छ । शिक्षा मन्त्रालयका मातहतका निकायबाट निर्मित पठन सामग्री केन्द्रको वेबसाइटमा राखिएको छ । वेबसाइटमा उपलब्ध सामग्रीबाट बालबालिकाको अध्ययनलाई निरन्तरता दिन केन्द्रले अभिभावकलाई आग्रह गरेको छ । वेबसाइटमा कक्षा ६ देखि १० सम्मका गणित, विज्ञान र अंग्रेजी विषयका विषयवस्तु राखिएको छ । डिजिटल लाइब्रेरी, बालबालिका केन्द्रित कथा र खेल सामग्री पनि उपलब्ध छन् ।
