कोरोनाबारे सचेतना फैलाउँदै कटुवाल

चैत्र १४, २०७६

हरिराम उप्रेती

गोरखा — घोक हालेर गाउँघरलाई सूचना दिने जिम्मेवारीमा कटुवालको सक्रियता झन् बढेको छ । ६४ वर्षीय डम्बरबहादुर गुरुङले धार्चे गाउँपालिका–४ लाप्राकको डाँडामा बसेर कराउन थालेको पाँच वर्ष पुग्यो । चर्को र प्रस्ट आवाज भएकाले गाउँलेले उनलाई कटुवाल चयन गरेका थिए ।

डम्बरबहादुर लाप्राकका पाँच सयभन्दा बढी घरधुरीको सूचनाको संवाहक हुन् । उनले डाँडामा बसेर नकराएसम्म गाउँमा हुने सार्वजनिक कार्यक्रम र सामान्य सूचनासमेत स्थानीयले पाउन मुस्किल पर्छ ।


उनी यतिबेला कोरोनाबाट बच्ने उपायबारे सचेतना फैलाउन व्यस्त छन् । लाप्राकको मनीडाँडामा कटुवाल कराएपछि गाउँले चनाखो बन्छन् । कोरोनाको सम्भावित संक्रमणबाट सतर्कता अपनाउन झुरुप्प बस्ती रहेको गाउँमा केही दिनयता कटुवाल कराउन थालेको हो । कोरोना भाइरसबाट जोगिने उपायबारे सन्देश छर्ने गरेको गुरुङले बताए ।


‘यतिबेला कोरोनाबारे खबर भन्दै छु,’ डम्बरले भने, ‘सुरुका दिनमा हात धुनुपर्छ, रुघाखोकी लागे स्वास्थ्य चौकी जानुहोला भन्थेँ, अब घरबाट बाहिर निक्लन हुँदैन, हूलमुल नगर्नुस्, काम बन्द गरेर घरभित्रै बस्नुस् भन्छु ।’ बिहान र बेलुकी दुई–दुई घण्टा यसरी कोरोनाका बारे कराउने गरेको उनले बताए । ‘चार–पाँच ठाउँबाट कराएपछि सबै गाउँलेले सुन्छन्, बूढाबूढीलाई घरमै पुगेर पनि सरसफाइमा ध्यान दिन भन्ने गरेको छु,’ उनले भने ।


वडा कार्यालय र स्वास्थ्यकर्मीले भनेबमोजिम कोरोनाबारेमा फलाक्न थालेको उनले सुनाए । कटुवालले भनेको कुरा गाउँलेले पनि विश्वास गर्ने धार्चे–४ का वडाध्यक्ष राज गुरुङले बताए । ‘पुरानो सञ्चारको माध्यम कटुवाल हो,’ उनले भने, ‘रेडियो टेलिभिजनभन्दा पनि यहाँका मान्छे कटुवालले भनेको कुरामा विश्वास मान्छन् ।’


स्वास्थ्यकर्मीसँग सल्लाह गरेर कोरोना सन्देश दिन लगाउने गरेको वडाध्यक्ष गुरुडले बताए । ‘सुरु–सुरुमा साबुन पानीले हात धुने, कोरोना भाइरसबाट आफैं जोगिनुपर्छ भनेर भन्न लगायौँ, लक्षणबारे पनि पहिले कटुवालालाई सिकाएर पछि फलाक्न लगायौँ,’ उनले भने, ‘अहिले लकडाउन भएपछि घरभित्र बस्न भनेका छौँ ।’

अत्यावश्यक कामबाहेक घर बाहिर जानुपरे मास्क लगाएर जान कटुवालले सन्देश प्रवाह गर्छन् । कुनै स्वास्थ्य समस्या देखिए पनि स्वास्थ्य चौकीमा खबर गर्न स्थानीयलाई कटुवालमार्फत सन्देश दिएको राजले बताए ।


धार्चेको उहिया, लापु गुम्दा, केरौजा, कासिगाउँमा कोरोनाबाट बच्ने उपायबारे गाउँलेलाई सुझाउन कटुवाललाई प्रयोग गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘एक वडा एक कटुवाल’ भन्ने तय गरेर कटुवाललाई प्रोत्साहनस्वरूप पारिश्रमिक पनि उपलब्ध गराउन थालिएको हो । गाउँपालिका भरिका सात कटुवाललाई गाउँपालिकाले मासिक तलबको व्यवस्थासमेत गरेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully