विश्‍वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा

चैत्र १४, २०७६

एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ ।

शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ । त्यस्तै अमेरिकामा करिब २ हजार संक्रमित निको भएको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ३ सय ४० पुगेको छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ९२ को मृत्यु भएको छ भने करिब ७५ हजार निको भएका छन् ।


कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन् । व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ । न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएझैं अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको छ । बिहीबार मात्रै अमेरिकी सिनेटले कोरोना प्रकोपसँग जुझ्न २ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । 


स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा शुक्रबार बिहानसम्म ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। 

शुक्रबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ। मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन। स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ।

त्यस्तै शुक्रबार बिहानसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, फ्रान्समा एक हजार ६ सय ९६, बेलायतमा ५ सय ७८, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १९२, बेल्जियममा २२० र दक्षिण कोरियामा १३९ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ। शुक्रबार बिहानसम्म विश्वभर ५ लाख ३२ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २४ हजार ८७ जनाको मृत्यु भएको छ। त्यस्तै एक लाख २४ हजारभन्दा बढी निको भएका छन्।

एजेन्सी

Link copied successfully