कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

विपत्‌मा आफ्नै भर

प्रज्ञा पनेरु

आफ्नो मात्र हात धोएर सुरक्षित भइँदैन । जीवाणु नसर्न आफ्नो सम्पर्कमा आउने र आउन सक्ने सम्भावित सबैको हात सफा हुनुपर्छ । त्यसै गरी, कतिपय मानिस यो जीवाणुलाई लिएर जातिवादतिर लम्केका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भने ।

विपत्‌मा आफ्नै भर

यसैका कारण विश्वभर उनको आलोचना भइरहेको छ । यस्तो विपत्का बेला समुदाय विशेषलाई गाली गर्ने र अपमान गर्ने काम हुने रहेछ । इरान, चीनलगायतले पनि यो जीवाणुलाई अमेरिकासँग जोडेर नराम्रो टिप्पणी गरेका छन् । यसले कोरोना भाइरस र यसले निम्त्याएका समस्यालाई राजनीतिक रंग दिएको छ । कुनै समुदाय र जातिसँग जोड्नु र एकअर्कालाई होच्याउनु सकारात्मक कुरा होइन । एकजुट भएर लड्ने बेलामा एकर्कालाई दोष लगाउँदा समस्याको हल गर्न मुस्किल हुन्छ र यस्तो कार्यले कुनै देश वा जाति विशेषको भावनामा ठेस पुग्छ । त्यसैले यस्तो आरोप–प्रत्यारोपलाई सबैले निरुत्साहित गर्नुपर्छ ।

अप्ठ्यारो परिस्थितिमै मानवता झल्कनुपर्ने हो, तर त्यसो भइरहेको छैन । अस्ट्रेलिया लगायतका विकसित मुलुकमा पनि कोभिड–१९ को खबरले हताशामा खाद्यान्न तथा सफाइ सामग्री आवश्यकताभन्दा बेसी घरमा थुपार्ने काम भयो । सरकारले सामग्री अभाव हुँदैन भनिरहँदा पनि नागरिक आत्तिए । अस्ट्रेलियाका पसलमा स्यानिटाइजर र खाद्यान्न अभाव छ । यसो हुँदा वृद्धवृद्धा, स्वास्थ्य कर्मचारी, आप्रवासी तथा विद्यार्थीलाई समस्या

परेको छ । सामान थुपार्दा विपत्का बेला अरूभन्दा आफू सुरक्षित भइन्छ भन्ने होला, तर यस्तो कार्यले समाजका हरेक क्षेत्र र मानिसलाई असर पर्छ । कोरोना भाइरसले मानिसको जीवन उथलपुथल बनाइदिएको छ । व्यक्तिगत जीवनशैलीतर्फ उन्मुख भइरहेका हामीलाई कोरोना भाइरसले एकअर्कासँग आत्मनिर्भर छौं भन्ने पाठ पढाएको छ । यो भाइरस मानव समाजको साझा समस्या बनेको छ ।

नेपालमा पनि कोरोना भाइरससम्बन्धी विभिन्न भ्रम फैलाउने मानिसको सक्रियता बढेको देखिन्छ । भ्रम फैलाउने मानिसलाई सस्तो चर्चामा आउने लोभ होला । हामी एकअर्कामा निर्भर छौं । हामीले समाजका कमजोर मानिसलाई सहयोग गर्ने हो । भ्रम फैलाउँदा त्रास उत्पन्न हुन्छ । विपत्का बेला यस्तो कार्य गर्नु हुन्न, एकअर्कालाई माया गर्ने हो । कोरोना भाइरसको विपत्मा मास्क लुकाइनु, बजारमा खाद्यावस्तुको वृद्धिले पूर्वीय समाजमा पनि पश्चिमाको जस्तो व्यक्तिवादी संस्कृति र सोच हावी भएको देखाउँछ । यस्तोमा कालो व्यापारीलाई कारबाही गर्ने सरकारको निर्णय सराहनीय छ । त्यस्तै ‘लकडाउन’ को निर्णय ठीक समयमै आएको छ । यो निर्णयलाई सफल पार्न सबै जनताको साथ र सहयोग जरुरी छ । ‘लकडाउन’ ले पार्ने आर्थिक असर न्यूनीकरण हामी सबैको पहिलो प्राथमिकतामा पर्नुपर्छ ।

देश सम्झेर आएका नागरिकलाई सिमानामा यसै बिचल्लीमा पार्नु हुन्न । बरु क्वारेन्टाइनमा बस्न झकझक्याउनुपर्छ । क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ । सचेत नागरिक आफैं सजग भएर एक्लै बस्नुपर्छ । भारतीय नाका हुँदै नेपाली सम्भ्रान्त परिवारका नागरिक प्रायः आउँदैनन्; दैनिक मजदुरी गरेर जीवन चलाउने मानिस मात्रै आउने हुन् । देशले ज्यालादारीको काम दिन नसक्दा उनीहरू भारत पुगेका हुन् । शिक्षा र चेतनाको कमी हुन सक्छ । यस्तोमा क्वारेन्टाइनमा कसरी बस्ने, के कुरामा ध्यान दिने जस्ता विषय सिकाउनुपर्छ । कोरोना भाइरसको संक्रमण र जोखिमबारे पनि शिक्षा दिन आवश्यक छ । भारतबाट नेपाल फर्केका श्रमिकलाई आफ्नै घर ‘क्वारेन्टाइन’ बनाउन मिल्ने सुविधा नहुन सक्छ । यस्तोमा स्थानीय तह वा सामाजिक संस्थाले छुट्टै बासस्थानको व्यवस्था गर्नुपर्छ । स्थानीयस्तरमा छुट्टै क्वारेन्टाइन बनाउँदा समुदायले नै नियम पालना गरेको छ वा छैन, निरीक्षण गर्नुपर्छ ।

विपत् निम्त्याए पनि कोरोना भाइरसले परिवार र आफैंलाई समय दिने परिस्थति बनाइदिएको छ । संसारको जुनसुकै ठाउँका मानिसका दुःख र अनुभव साझा बनेका छन् । समाजका खराब र मनकारी व्यक्ति चिन्ने अवसर पनि कोरोना भाइरसले दिएको छ । घरबेटीले भाडा मिनाहा र पसलअगाडि साबुनपानीको व्यवस्था गरेको खबर सुन्दा नेपाली समाजमा मनकारीको कमी नरहेको सन्देश गएको छ । त्यस्तै, एकअर्कालाई आरोप–प्रत्यारोप गरेको, व्यपारीले सामान लुकाएको, मानिसले चाहिनेभन्दा बेसी खाद्यान्न बटुलेको जस्ता खराब नियतले दुःखी बनाएको छ । अझैसम्म हामीलाई कोरोना भाइरसले जितिसकेको छैन । यस्तोमा बलियो गरी लड्न आवश्यक छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?