कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मेचीकिनारको कोरोना-विमर्श 

सजगतापूर्वक नागरिकको ज्यानका साथै लोकतन्त्रको जगेर्ना गर्नु अहिलेको चुनौती हो ।
उज्ज्वल प्रसाई

नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरिसकेको थिएन । सीमा सहर काँकरभिट्टाका चियापसल सदाझैं व्यस्त देखिन्थे । सामान्य अवस्थामा चिया–कफीका विषय विविध हुन्छन्; कोरोना विषाणुको प्रभाव बलियो बन्न थालेकाले सबैतिरका संवादमा एकरूपता छ । विषाणु–त्रासदीबारे गफ चलिरहेका बेला सानो समूह जस्तो बनाएर बसेकामध्ये एक जना बोले, ‘धेरै पटक जाँचिसक्यो; केही छैन भन्छ ।’

मेचीकिनारको कोरोना-विमर्श 

परीक्षण गर्ने व्यवस्था काठमाडौंमा मात्र भएको तथ्य थाहा पाउनेका लागि सो भनाइ अनौठो थियो। संवाद लम्बिँदै जाँदा थाहा भयो, त्यसो भन्ने मान्छे भारतबाट नेपाल फर्कंदै गरेका यात्रु रहेछन्।


भारतका दक्षिणी सहरबाट फर्केका नेपाली मजदुर घर जाने क्रममा चियापसलमा केही बेर सुस्ताएका थिए। मेचीनगरका विभिन्न वडामा घर भएका उनीहरू अटो रिक्सा खोजेर घर पुग्न चाहन्थे। लामो यात्राको थकान र कोरोना–त्रासका कारण अनुहारमा उदासी देखिन्थ्यो। उनीहरूमध्ये कसैले भन्यो, ‘हामीलाई ट्रेन चढ्नुअघि कोरोना जाँच्यो। यता पुल तर्नुअघि पनि र नेपाल आइसकेपछि पनि जाँच्यो। सबै ठीक छ भन्छ।’ नेपालपट्टिको सीमानाकामा तापक्रम परीक्षण गर्ने थलोमा ‘कोरोना जाँच’ लेखिएको सूचनापाटी झुन्ड्याइएको थियो। प्रहरी जवानदेखि सामाजिक संस्थाका कार्यकर्तासमेत स्वास्थ्यकर्मीले पहिरिने सेता कमिजमा सजिएका थिए। यात्रुका नजरमा सेता कमिजधारी सबै चिकित्सक थिए।


मेचीनगरका उल्लेख्य तन्नेरी दक्षिण भारतका होटलमा मजदुरी गर्छन्। कतिपयले त्यहाँ लिएका सीपका आधारमा झापाका सहरमा रेस्टुरेन्ट सञ्चालन गरेका छन् भने, कतिपय चल्तीका रेस्टुरेन्टमा ‘कुक’ लगायत काम गर्छन्। रोजगारीको खोजीमा भारत बसेका होटल–मजदुर कोरोना विषाणुको फैलावटले महाव्याधिको रूप लिएको सुनेपछि घर फर्के। उनीहरूमध्ये कतिलाई रोजगारदाताले बिदा दिएका थिए। यात्रामा उनीहरूको तापक्रम लिइयो। शारीरिक तापक्रम सामान्य भएकै आधारमा उनीहरू घर पुगेर आराम गर्न एवं लामो समय भेट नभएका गाउँले साथीसँग रमाइलो गर्न चाहन्थे। पराई सहरभन्दा आफ्नो गाउँ सुरक्षित भएकामा उनीहरू ढुक्क देखिन्थे। महिनौं श्रममा घोटिएका उनीहरूका लागि यो ‘फुर्सद’ जस्तो पनि भान भइरहेको थियो।


नेपालबाहिरबाट आउनेले समुदायस्तरमा विषाणु फैलाउन सक्ने सन्देह बढ्न थालेपछि भारतबाट फर्केका रेस्टुरेन्ट–मजदुरको खोजी हुन थाल्यो।मेचीनगर–६ मा निर्वाचित जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता, प्रहरीलगायतका टोलीले भारतबाट आएकालाई खोजी गरेर एकान्तबासमा राख्नखोजे। एकान्तबासका लागि स्थानीय विद्यालयका कोठा तयार पारे। खाना घरबाट पुर्‍याउने,बाहिरका कोही पनि प्रवेश गर्न नपाउने, स्वास्थ्यकर्मीले नियमित तापक्रम इत्यादि जाँच्ने र एकान्तबासमा बस्नेका लागि इन्टरनेटसमेत व्यवस्था गरेरबाहिरबाट आएकाको खोजी गरे। छरछिमेकीबाट सूचना लिएर खास गरी केरला जस्ता राज्यबाट गाउँ पुगेका केही तन्नेरीलाई एकान्तबासमा राख्न मन्जुर गराए। त्यसरी बाहिरबाट आएका महिलालाई भने घरकै एउटा कोठामा एक्लै बस्न सुझाइयो।बाहिरबाट आएकाको खोजी गर्ने टोलीमा सहभागी एक राजनीतिक प्रतिनिधिले भने, ‘अटेर गर्नेलाई अलि जबरजस्ती नै गर्नुपर्‍यो।’


एउटा वडामा यस्तो काम भएको सूचना अन्यत्र फैलियो। गाउँगाउँबाट मान्छेले छिमेकमा बाहिरबाट आएका मान्छे भएको खबर दलीय प्रतिनिधिलाई दिन थाले। तर, सबैतिर सुरक्षित ‘क्वारेन्टाइन’ को व्यवस्था भएन; सबैले उत्तिकै तदारुकतासाथ बाहिरबाट आएकालाई सम्झाइबुझाइ गर्न पनि सकेनन्; सबै व्यवस्था गरिएका क्वारेन्टाइनमा बस्न मन्जुर पनि भएनन्। कतिपयले आफू स्वस्थ भएको, विषाणु नसरेको र कसैलाई सार्ने सम्भावना पनि नभएको जिकिर गरेर घरै बसे; नियमित काम र घुमफिर गरिरहे। केही ठाउँमा त्यसरी बाहिरबाट फर्केका मान्छे भएको घरका छिमेकी त्रस्त छन्।


नेपाल सरकारले पहिले सीमानाका बन्दको घोषणा गर्‍यो अनि ‘लकडाउन’ गर्ने निर्णय गर्‍यो। निर्णय र घोषणा भए पनि सीमानाकाको आवतजावत रोकिएन। आउन नपाएका नेपाली नागरिकले मेची पुलमा धर्ना दिए, नारा लगाए। एक दिनको समय दिएर अलपत्र परेकालाई घर फर्कने मौकादिइयो। फर्केका सबैलाई क्वारेन्टाइनमा बस्नुपर्छ भनियो। तर न पर्याप्त क्वारेन्टाइनको व्यवस्था थियो, न सरकारी निर्णय शिरोपर गर्ने धैर्य एवं जाँगर नै ती नागरिकमा थियो। त्यसरी भित्रिएका नागरिक कसरी बसेका छन् भन्ने सूचना कसैसँग छैन।


यातायात, बजार एवं कार्यालय प्रायः बन्द भएपछि बजारका मान्छेलाई फुर्सद भयो। खेतबारी कायम राखेका गाउँलेहरू नियमित काममै छन्। काममा जानु नपरेपछि सहरिया सवारीचालक वयस्कलेघरभित्रबाट बस्ने मुढा निकाले। घर अघिल्तिरको सडक लगभग खाली छ; गाडी दगुर्दैनन्। सडक किनारामा मुढा राखेर बसे। उनका ‘लज’ सञ्चालक छिमेकी पनि काठको सानो कुर्सी लिएर आए अनि त्यसैमा बसे। नजिकैको औषधि पसल खुला छ तर ग्राहक खासै छैनन्; पसल सञ्चालकले एउटा बन्द सटर अघिल्तिरको पेटीमा नितम्ब टेकाए। फुर्सदमा टहल्न निस्केका अर्का छिमेकी पनि त्यहीँ अडिए। सचेत भएर हो वा संयोगले, उनीहरूले आपसमा सामान्य दूरी कायम राखेका थिए।


मुढामा बसेकाले भने, ‘यो भाइरस मान्छेले बना’को रैछ नि ! मानवबम भन्थे पहिलापहिला। मान्छेलाई बम बनाएर पड्काउने। अहिले त भाइरस बनाएर संसार फैलाउन सक्ने रैछन्।’ अर्काले भने, ‘अमेरिकाले बनाएर चीनमा पठा’को भन्ने लेखेको रैछ; मैले पनि पढेको थिएँ।’ टहल्न हिँडेकाले चाहिँ हातमा बस्न आएको लामखुट्टे धपाउँदै थपे, ‘यो चिसामा मात्रै फैलिने बनाएको भन्छ तर गर्मीमा पनि फैलिन थाल्यो। जे बनाए पनि बनाइसकेपछि मान्छेले चाहे जस्तो मात्रै हुँदो रैनछ।’ लज सञ्चालकको मत थियो, ‘खै होउ, अरू धनी देशले त हामी जस्तो सानो व्यापारीलाई पनि खर्चबर्च दिन्छ भन्छन्। हाम्रोले त के देला र? गाउँमा खेतीपाती हुनेलाई सजिलो भयो अब। आफ्नोत सबै सिद्ध्याइयो।’ औषधि पसलमा आइपुगेका एक ग्राहकले वरैबाट गफमा सामेल पसलेलाईसोधे, ‘क्लोरोक्विन भन्ने दवाई छ?’ उनले ‘छैन’ भन्न मुन्टो हल्लाए।


भारतबाट फर्केका रेस्टुरेन्ट–मजदुर होऊन् वानेपालकै यातायात–मजदुर वा साना व्यापारी,कोही पनि सूचनाभन्दा पर छैनन्। उनीहरूसँग स्मार्टफोन छ इन्टरनेट चलाउन जान्दछन्; सम्भवतःसबैको फेसबुक अकाउन्ट पनि छ। बन्द भएका बेला सडकपेटीमा गफ गरेझैं, कामको चटारो बीचमा पनि सम्भवतः मेसेन्जरमा गफिन्छन्; फेसबुकमा आएका खबर पढ्छन्; भिडियो हेर्छन्। यहाँ चर्चा गरिएका पात्र सबैजसो भारतीय टेलिभिजनका नियमित दर्शक हुन् भन्ने अनुमान गर्न सकिन्छ। दुनियाँमा भइरहेका अनेक घटनामा चासो राख्छन्; त्यसैले खबर सुन्छन्, हेर्छन् र पढ्छन्।तर तापक्रम मापनलाई कोरोना परीक्षण बुझ्छन्। विषाणुको फैलावट र महामारीलाई भूराजनीतिक षड्यन्त्र सम्झन्छन्। औलोका लागि उपयुक्त ठानिएको क्लोरोक्विन नामक औषधिले कोरोना निको हुने ठान्छन्। क्वारेन्टाइनमा राख्न बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।अफवाहका भरमा अनावश्यक वस्तुको सेवनमा वृद्धि भएको छ, जसका कारण अन्य स्वास्थ्यसंकट निम्तिन सक्छन्। यस्तै अवस्था कायम रहे ज्वरो आएको बिरामीलाई हेर्ने र ऊसँग गर्ने व्यवहारमा न्यानोपन, सहानुभूति र हार्दिकता हराउन सक्छ। सही सूचना र वैज्ञानिक जानकारीको अभावमा प्रत्येक बिरामीले अछूतको व्यवहार भोग्नुपर्ने हुन सक्छ। बाहिरबाट आएको हरेक छिमेकीमा सन्देह पैदा हुँदा गाउँ र नगरवासीको आपसी सम्बन्धमा चिसोपन बढ्न सक्छ।


यस्तो प्रत्येक छिद्रलाई उपयोग गर्दै समुदायमा शासकको नियन्त्रण वृद्धि हुन सक्छ। शासक सधैं घरेलु मात्रै नहुन सक्छन्। घरेलु शासकका कमजोरी ‘एक्सपोज’ हुन थाले, बाहिरियाले विज्ञानसम्मत सूचना एवं ज्ञानमा आधारित व्यवस्थाको ठेक्का लिइदिने खतरा आइपर्न सक्छ। सतहमा देखिएका साना कमजोरीलाई उपयोग गर्दै निगरानी प्रविधि हातमा भएका अन्तर्राष्ट्रिय शासकले हैकम विस्तार गर्न सक्छन्। त्यसैले सजगतापूर्वक नागरिकको ज्यानका साथै लोकतन्त्रको जगेर्ना गर्नु अहिलेको चुनौती हो।


लोकतन्त्र बचाउन ज्ञान र सूचना अद्यावधिक गर्नुपर्छ। त्यसका लागि संस्थाहरूको निर्माण आवश्यक हुन्छ। लोकअनुकूल निर्माण गरिएका विधिअनुसार ती संस्था सञ्चालन भए मात्रसबैका लागि काम दिने हुन्छन्। समुदायले संस्था र संस्था सञ्चालनका विधिप्रति अपनत्व जनाउनुपर्छ। हाम्रा संस्था र संस्था सञ्चालनका तरिकाले हाम्रा कमजोरी उदांगो पारिदिएका छन्। आशा गरौं, नेपालमा ठूलो क्षति नगरी कोरोना–कहर साम्य हुनेछ। त्यसपछि आइपर्ने अनेक संकट सामना गर्न प्रचुर कल्पनाशीलता र गहिरो अध्ययनको खाँचो छँदै छ, धमाधम थाल्नुपर्ने कामको सूची पनि असाध्यै लामो छ। मेचीकिनारबाट पनि हाम्रो त्रासद विडम्बना प्रस्ट देखिन्छ— विद्यमान नेतृत्व चुनौती सामना गर्न तयार छैन।

प्रकाशित : चैत्र १४, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?