गाउँमा पालना भएन लकडाउन

सहरबजारका बासिन्दा घरघरमै बसेका बेला गाउँमा किसानलाई चैते धान रोपाइँको चटारो छ । विदेशबाट फर्किएकाहरू निस्फिक्री गाउँघरमा डुलिरहेका छन् ।
गण्डकी प्रदेश ब्युरो

पोखरा — कोरोना संक्रमणको जोखिम रोक्न सरकारले मंगलबारदेखि गरेको लकडाउन सहरमा प्रभावकारी देखिए पनि ग्रामीण क्षेत्रमा भने कुनै प्रभाव परेको छैन । विदेशबाट फर्किएकाहरु बेरोकटोक गाउँघरमा घुमिरहेका छन् ।

पर्वत सदरमुकाम कुश्मा बजार पूर्वको गाउँमा बुधबार साँझ लक्ष्मी, सीता र सरु पौडेल डोकोमा मल ओसार्दै थिए । एकै परिवारका उनीहरुले मास्कसमेत लगाएका थिएनन् । ‘कोरोना सहर बजारमा बस्नेलाई लाग्ने हो,’ लक्ष्मीले भनिन्, ‘हामीले काम गर्नैपर्‍यो । यहाँ लकडाउन–सकडाउन छैन ।’


पर्वतका सबैजसो गाउँका बासिन्दा घरबाहिर निस्किने, विदेशबाट फर्केकाको सम्पर्कमा रहने क्रम घटेको छैन । गाउँका अधिकांश सर्वसाधारण अघिपछिजस्तै खेतबारी र वरपरका चिया पसलमा भेला हुने गरेका देखिन्छन् । गाउँमा सर्वसाधारणले आफ्नो दैनिकीमा कत्ति पनि परिवर्तन गरेका छैनन् ।


स्थानीय तहले गरेको सर्वेक्षणअनुसार दुई सातायता विभिन्न गाउँमा कोरोना प्रभावित मुलुकबाट आएकाको संख्या डेढ सय जनाभन्दा बढी छ । विदेशबाट फर्किएकाहरू बजार क्षेत्रभन्दा गाउँमा धेरै छन् । तर, उनीहरु सरकारले भनेजस्तो ‘होम क्वारेन्टाइन’ मा बस्नुको सट्टा गाउँमा छरछिमेक र साथीभाई भेट्नमै व्यस्त छन् ।


पर्वतको कुश्मा नगरपालिका–९ मा निर्धक्कसाथ खेतमा काम गर्दै गरेका महिला । तस्बिर : अगन्धर तिवारी/कान्तिपुर


बिहादी–३ रानीपानीका शिक्षक रामप्रसाद पराजुलीका अनुसार गाउँमा हुने खेतीपाती तथा विकास निर्माणका काम रोकिएका छैनन् । कतिपयले प्रहरीको आँखा छलेर सवारीसाधनसमेत चलाएको उनले बताए । ‘यता केही प्रभाव छैन,’ उनले भने, ‘लुकीछिपी जिप मोटरसाइकल चलेकै छन् ।’ बजार क्षेत्रमा लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरी र सेनाले समेत गस्ती गरिरहेका छन् । लकडाउन उल्लंघन गर्ने तीन जनालाई कारवाही पनि गरिएको छ ।


खेतीपातीमा रमाउँदै किसान

तनहुँका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । लकडाउनको असर ग्रामीण क्षेत्र र किसानमा परेको छैन । किसान धान रोप्न खेतखेतमा पुगेका छन् । म्याग्दे–२ माथिल्लो गुणादीका विष्णुबहादुर थापामगरले गाउँमा कुनै त्रास नभएको बताए । उनले भने, ‘आज काम नगरे भोलि खान पाइँदैन । खेत रोपिसकेपछि हामी पनि घरमै बसौँला भनेर रोपाइँमा जुटेका छौँ ।’ खेताला अभाव भएका बेला कोरोना संक्रमणको त्रासले सहरबाट युवायुवती गाउँ फर्किएका कारण खेती लगाउन सहज भएको किसानहरु बताउँछन् ।


पोखरामा व्यवसाय गर्दै आएका स्याङ्जाको बिरुवा गाउँपालिका–६ चिन्नेबासका देवेन्द्र लम्साल यतिबेला घरको काममा व्यस्त छन् । उनी गाउमा कोरोनाबारे सचेतना फैलाउने साथै बाँझो जमिनलाई खनजोत गरि खेतीयोग्य बनाउनमा लागेका छन् । ‘फुर्सद निकालेर व्यस्त हुदाँ पुस्तक पनि पढ्ने गरेको छु,’ उनले भने, ‘आफू सचेत रहनुपर्छ तर, डराउनु हुँदैन ।’


सहरबाट गाउँ फिर्नेको संख्या बढ्दो छ । यो मकै छर्ने, चैते धान रोप्ने समय हो । लकडाउनले सहर सुनसान भए पनि गाउँ चहलपहल छ । पुतलीबजार–८ कोल्माका डिलकुमार भुजेलले पनि यतिबेला गाउँमा रहेर घरायसी काममा व्यस्त रहेको बताए ।


होमस्टे सञ्चालन गरे ५० हजार जरिवाना

लमजुङको स्मार्ट भिलेज घलेगाउँबासीले होमस्टेमा पर्यटक राखे ५० हजारसम्म जरिवाना तोकेका छन् । पर्यटन व्यवस्थापन समितिले गाउँ आएका पर्यटकलाई फर्काउनुपर्ने र अटेर गरेर होमस्टेमा राखेमा २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको हो ।

लकडाउनका बेला सहरमा समय बिताउन गाह्रो भएको भन्दै केही व्यक्ति जिप र मोटरसाइकल चढेर बुधबार घलेगाउ पुगेका थिए । उनीहरुलाई फिर्ता पठाएर वैशाख १ सम्म कोही पर्यटक नराख्न उर्दी गरिएको र जरिवाना तोकेको समिति अध्यक्ष प्रेम घलेले बताए । छिमेकी गाउँमासमेत आवतजावतमा रोक लगाइएको छ ।


अत्यावश्यक सामान किन्न घेरा

बागलुङमा दैनिक उपभोग्य वस्तु खरिद बिक्रीका लागि पसलमा सोझै नजाने, भीड नगर्ने गरी सामान किन्ने व्यवस्थापन मिलाउन पसल अगाडि रेखांकन गरिएको छ । एउटा पसलमा बढीमा चार जनासम्म जान सक्ने गरी रेखा र घेरा बनाइएको हो । ग्राहकले घेरामा बसेर सामान माग्नुपर्नेछ ।


बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा प्रशासन र प्रहरीले घेरा बनाएका हुन् । ‘तोकिएको स्थानमा बसेर सामान माग्ने र दिने व्यवस्था गरिएको छ,’ प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘लकडाउन कडाइका लागि हो ।’

दिनभर प्रहरी र सेनाले बजारमा गस्ती गरिरहेका छन् । लकडाउनको प्रभाव बागलुङका ग्रामीण क्षेत्रमा पनि परेको छ । सुरक्षा निकायसँगै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छन् ।


मजदुरलाई सामग्री वितरण

बागलुङको काठेखोला गाउँपालिकाले मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएकालाई सहयोग गरिएको अध्यक्ष अमर थापाले बताए । ‘पहिलो चरणमा १३ परिवारलाई २५ केजी चामल, २ केजी नुन र ३ केजी दाल दिइयो,’ थापाले भने । पूर्वी नवलरासीका सबै आठ स्थानीय तहले विदेशबाट फर्किएकाको विवरण संकलन सुरु गरेका छन् । प्रकाशित : चैत्र १४, २०७६ ०७:५१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सन्तानलाई जीवनपद्धति सिकाउने मौका

बच्चाको अगाडि कोरोनाबारे अनावश्यक कुरा नगर्नुस् । बरु कमेडी भिडियो देखाउनुस् । नाच्न र गाउन लगाउनुस् । ब्याडमिन्टन, बल, क्यारेमबोर्ड सँगै खेल्नुस् । स्कुलका साथीसँग फोनमा कुरा गराइदिनुस् ।
प्रा.डा. निर्मला उप्रेती

कोभिड–१९ को त्रासले स्कुल बन्द र लकडाउन गरिएपछि आमअभिभावकको चिन्ता सारमा एउटै थियो, ‘अब कसरी बच्चालाई घरमा राख्ने ? दुःख दिएर हैरान गर्छन् ।’ सन्तान अभिभावकको साथ चाहन्छन्, अभिभावक सन्तानलाई सकेसम्म टाढा राख्न खोज्छन् । भौतिक आवश्यकता पूरा गरिदिनु नै अभिभावक हुनुको दायित्व पूरा भएको ठानिन्छ ।

तर, होइन । बच्चाले भावनात्मक सम्बन्ध चाहेको हुन्छ । झन् यस्तो डरको माहोलमा त अभिभावक साहसको धरोहर हुनुपर्छ । पेसागत व्यस्तताका कारण सन्तानलाई समय दिन नसकेका आमाबाबुले यो अवधिको भरपूर सदुपयोग गर्नुपर्छ ।पहिले म केही उदाहरण दिन्छु ।

बाबुआमा घरी टीभी, घरी मोबाइल, घरी ल्यापटपमा झुन्डिँदा रहेछन् । घरमा बोल्ने आमाबाबुबाहेक कोही हुन्न । तर, उनीहरू नै आ–आफ्नो धुनमा भएपछि बच्चाले एक्लो महसुस गर्छ, झर्किन्छ, सामान फुटाउन खोज्छ । मेरो छिमेकमा पाँच वर्षकी नानीले यस्तै गरिछन् । तर आमाबाबुलाई आफ्नो गल्तीको महसुस छैन । उल्टै फोनमा मसँग छोरी जिद्दी भई, भनेको टेर्दिन भनेर गुनासो गरे । जब कि ती नानी गीत गाउन हुरुक्कै हुन्छिन्, चित्र कोर्छिन्, कथा मन पराउँछिन् । छोरीको यस्तो भित्री इच्छाबारे बाबुआमालाई वास्तै छैन । उनीहरू कोरोनाकै पछि दौडिरहेका छन् ।

यो एकदमै घातक प्रवृत्ति हो । सम्झनुस् त, तपाईंले छोरीको गीत सुनिदिनुभयो, युट्युबबाट हेरेरै भए पनि गीत गाउन सिकाउनुभयो भने कति खुसी हुन्छिन् ? छोरी मात्र होइन, तपाईंको मन पनि प्रफुल्लित हुन्छ । घरमा सुरक्षित ढंगले बसेपछि कोरोनाको आतंकलाई तारन्तर पछ्याउनु पर्दैन ।

टेलिभिजनमा कोरोनाले मान्छे मरेको समाचार हेरेपछि मेरो आफन्तको छोराले घरभित्रै तर्सेर मास्क लगाएछ । संसारै सकिन थाल्यो भनेजस्तो डर पैदा हुन सक्छ । अभिभावकले घरभित्र बस्यो भने हामीलाई केही हुन्न, केही दिनपछि सबै खुल्छ, फेरि स्कुल जानुपर्छ, पढ्नुपर्छ, साथीहरूसँग खेल्न पाइन्छ, सामान्य हुँदै जान्छ भनेर बुझाइरहनुपर्छ । सधैं यस्तै भइराख्छ भन्ने छाप बस्यो भने मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् । भूकम्पका बेला पनि बच्चामा यस्तै समस्या देखिएको थियो । अहिलेको माहोल त्योभन्दा भिन्न छ । भूकम्पलाई उनीहरूले महसुस गर्न सक्थे तर कोरोना अहिलेसम्म अमूर्त छ । आयो, आयो भन्छन्, सबै तर्सिरहेका छन् तर खास के हो भनेर बच्चाले मेसै पाउँदैन । यो ‘कन्फ्युजन’ लाई हटाउन अभिभावकले आवश्यक र प्रभावकारी ज्ञान दिनुपर्छ । अभिभावकमा धेरै बेचैनी देखेनन् भने चार वर्षभन्दा मुनिका बच्चामा चाहिँ यो त्रासलाई बुझ्ने क्षमता हुँदैन ।
घर वा फ्ल्याटमा बस्ने बच्चालाई त तैबिसेक सजिलो होला, वल्लो कोठा–पल्लो कोठा गर्न पाउँछन् । तर, अभिभावकसहित एउटै कोठा भाडामा बस्ने बच्चाहरूलाई कति उकुसमुकस होला ? घरमा स्मार्टफोन, इन्टरनेट र टेलिभिजन पनि नहुन सक्छ । अभिभावकले उचित समय दिने हो भने बच्चाले एक्लोपना र छटपटी महसुस गर्दैन ।

आम रूपमा सेल्फ–क्वारेन्टाइन अवधि बच्चाका लागि कसरी प्रतिफलमूलक बनाउन सकिन्छ ? त्यसमा अभिभावकको आनीबानी कस्तो हुनुपर्छ ? कुरा गरौं ।

यो समयमा सन्तानसँग धेरैभन्दा धेरै भलाकुसारी गरौं । उसलाई मन पर्ने शिक्षक को हो, किन मन पर्छ भनेर सुनौं । उसको मिल्ने साथीबारेमा जिज्ञासा राखौं । मन पर्ने विषय, खेल सोधेर त्यसबारे भन्न लगाइयो भने दंग पर्दै सुनाउँछ, उसको व्यक्तित्व विकास हुन्छ । मेरो पनि कुरा सुन्ने कोही छ भने आत्मविश्वास पैदा हुन्छ । भोलि सानो समस्या वा खुसी पनि अभिभावकलाई खुलेर भन्न सक्छ । अहिलेको बच्चाहरू बुबाआमासँग कुरा लुकाउँछन्, शिक्षक, साथी वा अरू कोहीबाट दुर्व्यवहार हुँदा पनि भन्न सक्दैनन् । किनभने, अभिभावकले कहिल्यै रुचिपूर्वक उसको कुरा सुनिदिने र समाधानका लागि प्रयत्न गरेका हुँदैनन् । उल्टै गाली खानुपर्छ । त्यसैले यो समयमा सन्तानसँगको दूरी घटाऔं, उसको विश्वास जितौं ।

बच्चालाई कथा सुन्न खुब मन पर्छ । आफैंले कल्पेर कथा भने पनि भयो । कतै पढेको सुनाए पनि भयो । कथाले कल्पनाशीलतामा विकास गर्छ । बच्चाको उमेरअनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय कुनै घटना, सफल व्यक्तिबारे बतायो भने चाखपूर्वक सुन्छन् र प्रश्न गर्छन् । हेर्दा सामान्य लागे पनि बच्चामा भन्ने, सुन्ने र प्रश्न गर्ने बानी विकास हुनु ठूलो उपलब्धि हो । अहिले पाठ्यक्रमकै पुस्तक रटाउन हुन्न । कोरा किताबीभन्दा व्यावहारिक ज्ञान सिकाउनुपर्छ । जस्तो– घरको सरसफाइमा सामेल गराउने । जे काम गर्न सक्छ, त्यही लगाउने । आफ्नो टाई, मोजा, रुमाल धुन लगाउने । कपडा सुकाउन, सुकेको कपडा निकाल्न, पट्याएर राख्न सिकाउने । बारी वा बगैंचामा सँगै लैजाने । बोटबिरुवा चिनाउने । त्यसको विशेषता भन्ने । आगो र चक्कुले गर्नुपर्नेबाहेक केराउ छोडाउने, उसिनेको आलुको बोक्रा ताछ्ने, काटेको तरकारी धुनेजस्ता किचेनका सक्ने जति काम लगाउने । भाडा माझ्दा पानी हाल्न लगाउने ।
भाडा धुन लगाए पनि भयो । पसल बन्द हुने भएकाले चाउचाउ र मःम चाहियो भनेर जिद्दी गर्दैनन् । त्यसैले घरमै मःम, चपटपटे, चाउमिन मिलेर बनाउने गर्नुपर्छ । यसो गरियो भने बच्चाको ‘फुड ह्याबिट’ मा परिवर्तन पक्कै आउँछ ।

फेरि पनि भन्छु, बच्चाको अगाडि कोरोनाबारे अनावश्यक कुरा गर्दै–नगर्नुस् । बरु कमेडी भिडियो देखाउनुस् । नाच्न र गाउन लगाउनुस् । नेपाली आउँदैन भने नेपाली टेलिभिजन सँगै हेर्नुस् । अंग्रेजी आउँदैन भने अंग्रेजी च्यानल हेर्नुस् । दुई–चार नयाँ शब्द सिक्छन् । ब्याडमिन्टन, बल, क्यारेमबोर्ड सँगै खेल्नुस् । मोबाइल गेमबाटचाहिँ परै राख्नुस् । शारीरिक रूपमा सक्रिय राखेपछि थाक्छन् र मस्तले निदाउँछन् । घर बस्न थालेपछि कम बोलेको वा व्यवहारमा परिवर्तन आएको जस्तो लाग्यो भने बच्चालाई माया गरेर सोध्नुपर्छ । धेरै दिन नभेटेपछि स्कुलको साथी ‘मिस’ गरिरहेको हुन सक्छ । सम्भव भएपछि फोनमा कुरा गराइदिनुपर्छ । यसले बच्चामा स्फूर्ति दिन्छ । अभिभावकपछि साथी नै प्रिय हुन्छन् ।

अहिलेका खासगरी केटाहरू गल्ती हुँदासमेत सरी भन्दै भन्दैनन् । अटेरी भएर बस्छन् । यो जिद्दीपन कहाँ जन्मियो होला ? पक्कै पनि घरमा । बुबाले गिलास फुटायो भने कसैले गाली गर्दैनन्, सरी पनि भन्नु पर्दैन । आमाले फुटाउँदा बुबाको गाली खानुपर्छ, सरी भन्नुपर्छ । प्रायः छोराले बुबालाई ‘रोल मोडल’ मान्छन् । बुबाले गल्ती गर्दा सरी भनेको देखेनन् भने आफूमा यही बानी विकास गर्छन् । लैगिक विभेदको भाव यहीँबाट सुरु हुन्छ । अहिले घरमा लामो समय सँगै हुने भएकाले यो सोच परिवर्तन गराउन सकिन्छ । त्यसका लागि, बुबाले जानीजानी भए पनि केही गर्ने, आमाले सोध्ने, अनि बुबाले कान समातेर सरी भन्ने । बुबाले यसो गरेको देखेपछि बच्चा खुसी हुन्छ र अप्रत्यक्ष रूपमा गल्तीबोध गर्न र सच्चाउन सिकिरहेको हुन्छ ।

भाइरसको संक्रमणबाट आफू जोखिनुस्, बच्चालाई जोगाउनुस् । अनि, सेल्फ–क्वारेन्टाइनको बसाइलाई आफ्नो सन्तान सुसंस्कृत र आत्मविश्वासी बनाउने, सिर्जनशीलता पहिचान गर्ने र त्यसलाई प्रस्फुटित गराइदिने मौकाको रूपमा सदुपयोग गर्नुहोस् ।

-गोकर्ण गौतमसँगको कुराकानीमा आधारित

प्रकाशित : चैत्र १४, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×