‘भारतबाट आएकालाई क्‍वारेन्टाइनमा राख्‍नू’

क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसे/नबसेको यकिन रिपोर्ट पेस गर्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै प्रवेश गरेका नेपालीलाई जसरी पनि सार्वजनिक क्वारेन्टाइन वा ‘होम क्वारेन्टाइन’ मा राख्न निर्देशन दिएको छ ।

‘भारतबाट आएकालाई क्‍वारेन्टाइनमा राख्‍नू’

लकडाउनअघि र पछि स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिको विवरण संकलन गरेर पठाउन पनि गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना संयन्त्रलाई निर्देशन दिएका छन् । उनीहरू क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसे/नबसेको यकिन रिपोर्ट पेस गर्न गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।


गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै प्रशासन कार्यालयले गाउँमा कोही नयाँ मानिस आएको थाहा भए तत्काल सुरक्षाकर्मी वा प्रशासनमा खबर गर्न पनि आग्रह गरेको छ । ‘भारतबाट आएका सबैलाई सार्वजनिक क्वारेन्टाइनमा राख्न र त्यो पर्याप्त नभए गाउँ र परिवारका सदस्यबाट टाढा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट रूपमा निर्देशन दिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘आवश्यक सहजीकरण र समन्वयका लागि स्थानीय तहहरूलाई पनि विशेष आग्रह गरिसकेका छौं ।’


नेपालमा कोभिड–१९ संक्रमित ३ जना पुगेपछि सरकारले थप फैलन नदिन पछिल्लो पटक विदेशबाट नेपाल आएकामाथि सूक्ष्म निगरानी बढाएको हो । फागुन २५ गतेबाट सरकारले भारतीय सीमा नाकाबाट भित्रिनेमाथि निगरानी राखेको थियो । चैत १० गतेसम्म करिब ६ लाख व्यक्ति नेपाल छिरेको प्रहरी र सशस्त्र प्रहरीको अभिलेखमा छ । नाकामा सामान्य ज्वरो नापेपछि प्रवेश दिइएका उनीहरू आफ्नो घर पुगिसकेका छन् । भारतबाट आउनेमा कोरोना संक्रमणको जोखिम रहेको औंल्याउँदै सरकार, स्थानीय प्रशासन र सबै स्थानीय तहमार्फत ती मानिस कहाँकहाँ पुगे भन्ने विवरण संकलन र क्वारेन्टाइनमा बसे/नबसेकोबारे अनुगमनमा जुटेको हो । भारतबाटै आएका ५० जनालाई अछाममा सामूहिक क्वारेन्टाइनमा राखिएको छ ।


नेपाली सेनाले ४१ स्थानमा, सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय ४ स्थानमा हेल्थ डेस्क राखेर भारतबाट आउनेको स्वास्थ्य परीक्षण गरेका थिए । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ७० जनामा ज्वरो र रुघाखोकी देखिएपछि उतै फर्काइएको थियो । भारतबाटै आएका एक नेपालीमा उच्च ज्वरो देखिएपछि कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : चैत्र १४, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?