सन्तानलाई जीवनपद्धति सिकाउने मौका

बच्चाको अगाडि कोरोनाबारे अनावश्यक कुरा नगर्नुस् । बरु कमेडी भिडियो देखाउनुस् । नाच्न र गाउन लगाउनुस् । ब्याडमिन्टन, बल, क्यारेमबोर्ड सँगै खेल्नुस् । स्कुलका साथीसँग फोनमा कुरा गराइदिनुस् ।

कोभिड–१९ को त्रासले स्कुल बन्द र लकडाउन गरिएपछि आमअभिभावकको चिन्ता सारमा एउटै थियो, ‘अब कसरी बच्चालाई घरमा राख्ने ? दुःख दिएर हैरान गर्छन् ।’ सन्तान अभिभावकको साथ चाहन्छन्, अभिभावक सन्तानलाई सकेसम्म टाढा राख्न खोज्छन् । भौतिक आवश्यकता पूरा गरिदिनु नै अभिभावक हुनुको दायित्व पूरा भएको ठानिन्छ ।

सन्तानलाई जीवनपद्धति सिकाउने मौका

तर, होइन । बच्चाले भावनात्मक सम्बन्ध चाहेको हुन्छ । झन् यस्तो डरको माहोलमा त अभिभावक साहसको धरोहर हुनुपर्छ । पेसागत व्यस्तताका कारण सन्तानलाई समय दिन नसकेका आमाबाबुले यो अवधिको भरपूर सदुपयोग गर्नुपर्छ ।पहिले म केही उदाहरण दिन्छु ।


बाबुआमा घरी टीभी, घरी मोबाइल, घरी ल्यापटपमा झुन्डिँदा रहेछन् । घरमा बोल्ने आमाबाबुबाहेक कोही हुन्न । तर, उनीहरू नै आ–आफ्नो धुनमा भएपछि बच्चाले एक्लो महसुस गर्छ, झर्किन्छ, सामान फुटाउन खोज्छ । मेरो छिमेकमा पाँच वर्षकी नानीले यस्तै गरिछन् । तर आमाबाबुलाई आफ्नो गल्तीको महसुस छैन । उल्टै फोनमा मसँग छोरी जिद्दी भई, भनेको टेर्दिन भनेर गुनासो गरे । जब कि ती नानी गीत गाउन हुरुक्कै हुन्छिन्, चित्र कोर्छिन्, कथा मन पराउँछिन् । छोरीको यस्तो भित्री इच्छाबारे बाबुआमालाई वास्तै छैन । उनीहरू कोरोनाकै पछि दौडिरहेका छन् ।


यो एकदमै घातक प्रवृत्ति हो । सम्झनुस् त, तपाईंले छोरीको गीत सुनिदिनुभयो, युट्युबबाट हेरेरै भए पनि गीत गाउन सिकाउनुभयो भने कति खुसी हुन्छिन् ? छोरी मात्र होइन, तपाईंको मन पनि प्रफुल्लित हुन्छ । घरमा सुरक्षित ढंगले बसेपछि कोरोनाको आतंकलाई तारन्तर पछ्याउनु पर्दैन ।


टेलिभिजनमा कोरोनाले मान्छे मरेको समाचार हेरेपछि मेरो आफन्तको छोराले घरभित्रै तर्सेर मास्क लगाएछ । संसारै सकिन थाल्यो भनेजस्तो डर पैदा हुन सक्छ । अभिभावकले घरभित्र बस्यो भने हामीलाई केही हुन्न, केही दिनपछि सबै खुल्छ, फेरि स्कुल जानुपर्छ, पढ्नुपर्छ, साथीहरूसँग खेल्न पाइन्छ, सामान्य हुँदै जान्छ भनेर बुझाइरहनुपर्छ । सधैं यस्तै भइराख्छ भन्ने छाप बस्यो भने मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् । भूकम्पका बेला पनि बच्चामा यस्तै समस्या देखिएको थियो । अहिलेको माहोल त्योभन्दा भिन्न छ । भूकम्पलाई उनीहरूले महसुस गर्न सक्थे तर कोरोना अहिलेसम्म अमूर्त छ । आयो, आयो भन्छन्, सबै तर्सिरहेका छन् तर खास के हो भनेर बच्चाले मेसै पाउँदैन । यो ‘कन्फ्युजन’ लाई हटाउन अभिभावकले आवश्यक र प्रभावकारी ज्ञान दिनुपर्छ । अभिभावकमा धेरै बेचैनी देखेनन् भने चार वर्षभन्दा मुनिका बच्चामा चाहिँ यो त्रासलाई बुझ्ने क्षमता हुँदैन ।

घर वा फ्ल्याटमा बस्ने बच्चालाई त तैबिसेक सजिलो होला, वल्लो कोठा–पल्लो कोठा गर्न पाउँछन् । तर, अभिभावकसहित एउटै कोठा भाडामा बस्ने बच्चाहरूलाई कति उकुसमुकस होला ? घरमा स्मार्टफोन, इन्टरनेट र टेलिभिजन पनि नहुन सक्छ । अभिभावकले उचित समय दिने हो भने बच्चाले एक्लोपना र छटपटी महसुस गर्दैन ।


आम रूपमा सेल्फ–क्वारेन्टाइन अवधि बच्चाका लागि कसरी प्रतिफलमूलक बनाउन सकिन्छ ? त्यसमा अभिभावकको आनीबानी कस्तो हुनुपर्छ ? कुरा गरौं ।


यो समयमा सन्तानसँग धेरैभन्दा धेरै भलाकुसारी गरौं । उसलाई मन पर्ने शिक्षक को हो, किन मन पर्छ भनेर सुनौं । उसको मिल्ने साथीबारेमा जिज्ञासा राखौं । मन पर्ने विषय, खेल सोधेर त्यसबारे भन्न लगाइयो भने दंग पर्दै सुनाउँछ, उसको व्यक्तित्व विकास हुन्छ । मेरो पनि कुरा सुन्ने कोही छ भने आत्मविश्वास पैदा हुन्छ । भोलि सानो समस्या वा खुसी पनि अभिभावकलाई खुलेर भन्न सक्छ । अहिलेको बच्चाहरू बुबाआमासँग कुरा लुकाउँछन्, शिक्षक, साथी वा अरू कोहीबाट दुर्व्यवहार हुँदा पनि भन्न सक्दैनन् । किनभने, अभिभावकले कहिल्यै रुचिपूर्वक उसको कुरा सुनिदिने र समाधानका लागि प्रयत्न गरेका हुँदैनन् । उल्टै गाली खानुपर्छ । त्यसैले यो समयमा सन्तानसँगको दूरी घटाऔं, उसको विश्वास जितौं ।


बच्चालाई कथा सुन्न खुब मन पर्छ । आफैंले कल्पेर कथा भने पनि भयो । कतै पढेको सुनाए पनि भयो । कथाले कल्पनाशीलतामा विकास गर्छ । बच्चाको उमेरअनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय कुनै घटना, सफल व्यक्तिबारे बतायो भने चाखपूर्वक सुन्छन् र प्रश्न गर्छन् । हेर्दा सामान्य लागे पनि बच्चामा भन्ने, सुन्ने र प्रश्न गर्ने बानी विकास हुनु ठूलो उपलब्धि हो । अहिले पाठ्यक्रमकै पुस्तक रटाउन हुन्न । कोरा किताबीभन्दा व्यावहारिक ज्ञान सिकाउनुपर्छ । जस्तो– घरको सरसफाइमा सामेल गराउने । जे काम गर्न सक्छ, त्यही लगाउने । आफ्नो टाई, मोजा, रुमाल धुन लगाउने । कपडा सुकाउन, सुकेको कपडा निकाल्न, पट्याएर राख्न सिकाउने । बारी वा बगैंचामा सँगै लैजाने । बोटबिरुवा चिनाउने । त्यसको विशेषता भन्ने । आगो र चक्कुले गर्नुपर्नेबाहेक केराउ छोडाउने, उसिनेको आलुको बोक्रा ताछ्ने, काटेको तरकारी धुनेजस्ता किचेनका सक्ने जति काम लगाउने । भाडा माझ्दा पानी हाल्न लगाउने ।

भाडा धुन लगाए पनि भयो । पसल बन्द हुने भएकाले चाउचाउ र मःम चाहियो भनेर जिद्दी गर्दैनन् । त्यसैले घरमै मःम, चपटपटे, चाउमिन मिलेर बनाउने गर्नुपर्छ । यसो गरियो भने बच्चाको ‘फुड ह्याबिट’ मा परिवर्तन पक्कै आउँछ ।


फेरि पनि भन्छु, बच्चाको अगाडि कोरोनाबारे अनावश्यक कुरा गर्दै–नगर्नुस् । बरु कमेडी भिडियो देखाउनुस् । नाच्न र गाउन लगाउनुस् । नेपाली आउँदैन भने नेपाली टेलिभिजन सँगै हेर्नुस् । अंग्रेजी आउँदैन भने अंग्रेजी च्यानल हेर्नुस् । दुई–चार नयाँ शब्द सिक्छन् । ब्याडमिन्टन, बल, क्यारेमबोर्ड सँगै खेल्नुस् । मोबाइल गेमबाटचाहिँ परै राख्नुस् । शारीरिक रूपमा सक्रिय राखेपछि थाक्छन् र मस्तले निदाउँछन् । घर बस्न थालेपछि कम बोलेको वा व्यवहारमा परिवर्तन आएको जस्तो लाग्यो भने बच्चालाई माया गरेर सोध्नुपर्छ । धेरै दिन नभेटेपछि स्कुलको साथी ‘मिस’ गरिरहेको हुन सक्छ । सम्भव भएपछि फोनमा कुरा गराइदिनुपर्छ । यसले बच्चामा स्फूर्ति दिन्छ । अभिभावकपछि साथी नै प्रिय हुन्छन् ।


अहिलेका खासगरी केटाहरू गल्ती हुँदासमेत सरी भन्दै भन्दैनन् । अटेरी भएर बस्छन् । यो जिद्दीपन कहाँ जन्मियो होला ? पक्कै पनि घरमा । बुबाले गिलास फुटायो भने कसैले गाली गर्दैनन्, सरी पनि भन्नु पर्दैन । आमाले फुटाउँदा बुबाको गाली खानुपर्छ, सरी भन्नुपर्छ । प्रायः छोराले बुबालाई ‘रोल मोडल’ मान्छन् । बुबाले गल्ती गर्दा सरी भनेको देखेनन् भने आफूमा यही बानी विकास गर्छन् । लैगिक विभेदको भाव यहीँबाट सुरु हुन्छ । अहिले घरमा लामो समय सँगै हुने भएकाले यो सोच परिवर्तन गराउन सकिन्छ । त्यसका लागि, बुबाले जानीजानी भए पनि केही गर्ने, आमाले सोध्ने, अनि बुबाले कान समातेर सरी भन्ने । बुबाले यसो गरेको देखेपछि बच्चा खुसी हुन्छ र अप्रत्यक्ष रूपमा गल्तीबोध गर्न र सच्चाउन सिकिरहेको हुन्छ ।


भाइरसको संक्रमणबाट आफू जोखिनुस्, बच्चालाई जोगाउनुस् । अनि, सेल्फ–क्वारेन्टाइनको बसाइलाई आफ्नो सन्तान सुसंस्कृत र आत्मविश्वासी बनाउने, सिर्जनशीलता पहिचान गर्ने र त्यसलाई प्रस्फुटित गराइदिने मौकाको रूपमा सदुपयोग गर्नुहोस् ।


-गोकर्ण गौतमसँगको कुराकानीमा आधारित

प्रकाशित : चैत्र १४, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?