जब मुख्यमन्त्री औषधि छर्न निस्किए

कोभिड–१९ को त्रास रहँदासम्मै पोखराका भीडभाड हुने, सेवाग्राही बढी आउने अस्पताल, सरकारी कार्यालयलगायत ठाउँमा जीवाणुनाशक औषधि छर्किइने
दीपक परियार

पोखरा — चढ्दो गर्मीमा सर्लक्कै ज्यान छोप्ने पहिरनमा दुई व्यक्ति देखिए । एकअर्कालाई हेरेर मुखामुख गरे । पोखरा महानगरपालिकाको कार्यालयभित्र थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नगरप्रमुख मानबहादुर जीसी ।

हेलमेट, चस्मा, मास्क, रेनकोट र बुट लगाएर दुवैले स्प्रे मेसिन बोके । एक हातले पम्प गर्दै अर्को हातले औषधि छर्किए । कोभिड–१९ को संक्रमण रोक्न उनीहरूले जीवाणुनाशक औषधि छर्किएका हुन् ।


यो अभियान महानगरले बिहीबार आफ्नै कार्यालयमा सुरु गरेको थियो । त्यसपछि औषधि छर्दै मुख्यमन्त्री र नगरप्रमुख सडकमा निस्किए । मुख्यमन्त्री गुरुङ औषधि छर्दै न्युरोड डुले । बाटोमा पर्ने अस्पताल, एटीएम मेसिन, पसलका सटरलगायत मानिसको निरन्तर सम्पर्क हुने स्थानमा उनले औषधि छरे । महानगरले बिहीबार नै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विभिन्न अस्पतालमा औषधि छर्कियो । कोभिड–१९ को त्रास रहँदासम्मै भीडभाड हुने, सेवाग्राही बढी आउने अस्पताल, सरकारी कार्यालयलगायत ठाउँमा जीवाणुनाशक औषधि छर्किने महानगर प्रमुख जीसीले बताए ।


मुख्यमन्त्री गुरुङले कोभिड–१९ रोकथाम तथा नियन्त्रण राष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा प्रदेशमा पनि योजना बनाइएको जानकारी दिए । उनले गण्डकी प्रदेशमा विदेशबाट हालै आएकाको तथ्यांक खोजी भइरहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उनीहरूको खोजी भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अब विदेशबाट आउनेलाई सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पठाउँछौं ।’ उनले संक्रमण भेटिए पहिले आइसोलेसन र पछि डेडिकेटेड अस्पतालमा राख्ने जानकारी दिए ।


यसअघि प्रदेशले लेखनाथ लायन्स सामुदायिक अस्पताल, फूलबारीको आर्मी अस्पताल र बाटुलेचौरको मातृशिशु अस्पताललाई डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । ती अस्पतालमा पूर्वाधार थप्न ३ करोड १३ लाख रुपैयाँ प्रदेशले विनियोजन गरेको छ । लकडाउन सुरु भएपछि कामदार अभावले अस्पताल तयार गर्न नसकिएको मुख्यमन्त्री गुरुङले बताए । उनका अनुसार तत्काललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताललाई नै डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने प्रदेशले निर्णय गरेको छ ।


पोखरामा बिहीबार जीवाणुनाशक औषधि छर्कंदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगर प्रमुख मानबहादुर जीसी । तस्बिर : दीपक परियार/कान्तिपुर

कोभिड–१९ रोकथाम तथा नियन्त्रण आकस्मिक कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्याएको छ । प्रदेशका मन्त्रीले १–१ महिनाको तलब, सांसदले न्यूनतम १५ दिनको तलब कोषमा सहयोग गर्नेछन् । विभिन्न व्यक्ति तथा संघसंस्थालाई पनि सहयोग गर्न प्रदेशले आह्वान गरेको छ ।


कोभिड–१९ बाट कोही संक्रमित भइहाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आइतबारसम्म आइसक्ने मुख्यमन्त्री गुरुङले बताए । ‘पीपीई लिएर शनिबारसम्म कार्गो जहाज चीनबाट आउँछ र आइतबारबाट सबै प्रदेशको केन्द्रमा सैनिक हेलिकप्टरबाट सामग्री पुर्‍याउने संघीय सरकारको तयारी छ,’ उनले भने ।


पोखरामा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला खोल्ने निर्णय संघीय सरकारले गरे पनि उपकरण आउन बाँकी छ । उपकरण आइसकेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने, त्यहाँ नभए क्षयरोग केन्द्रमा राख्ने प्रदेशको योजना छ । ‘इटाली र स्पेनको जस्तो स्थिति भयो भने हामीलाई जनशक्तिको अभाव हुन सक्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘चीन सरकारसँग जनशक्ति माग गर्‍यो भने त्यहाँबाट आउन सक्छन् । यो स्थानीय, प्रदेश सरकार सबै मिलेर गर्नुपर्छ ।’


महानगर प्रमुख जीसीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको अभियानमा सघाउन महानगरवासीलाई आग्रह गरेका छन् ।


महानगरमा पहिलो चरणमा १ सय लिटर जीवाणुनाशक औषधि ल्याई छर्न थालिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।‘आवश्यकताअनुसार खरिद गरी मुख्य–मुख्य स्थानमा औषधि छर्किन्छौं,’ उनले भने । प्रकाशित : चैत्र १४, २०७६ ०७:५७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा पालना भएन लकडाउन

सहरबजारका बासिन्दा घरघरमै बसेका बेला गाउँमा किसानलाई चैते धान रोपाइँको चटारो छ । विदेशबाट फर्किएकाहरू निस्फिक्री गाउँघरमा डुलिरहेका छन् ।
गण्डकी प्रदेश ब्युरो

पोखरा — कोरोना संक्रमणको जोखिम रोक्न सरकारले मंगलबारदेखि गरेको लकडाउन सहरमा प्रभावकारी देखिए पनि ग्रामीण क्षेत्रमा भने कुनै प्रभाव परेको छैन । विदेशबाट फर्किएकाहरु बेरोकटोक गाउँघरमा घुमिरहेका छन् ।

पर्वत सदरमुकाम कुश्मा बजार पूर्वको गाउँमा बुधबार साँझ लक्ष्मी, सीता र सरु पौडेल डोकोमा मल ओसार्दै थिए । एकै परिवारका उनीहरुले मास्कसमेत लगाएका थिएनन् । ‘कोरोना सहर बजारमा बस्नेलाई लाग्ने हो,’ लक्ष्मीले भनिन्, ‘हामीले काम गर्नैपर्‍यो । यहाँ लकडाउन–सकडाउन छैन ।’

पर्वतका सबैजसो गाउँका बासिन्दा घरबाहिर निस्किने, विदेशबाट फर्केकाको सम्पर्कमा रहने क्रम घटेको छैन । गाउँका अधिकांश सर्वसाधारण अघिपछिजस्तै खेतबारी र वरपरका चिया पसलमा भेला हुने गरेका देखिन्छन् । गाउँमा सर्वसाधारणले आफ्नो दैनिकीमा कत्ति पनि परिवर्तन गरेका छैनन् ।

स्थानीय तहले गरेको सर्वेक्षणअनुसार दुई सातायता विभिन्न गाउँमा कोरोना प्रभावित मुलुकबाट आएकाको संख्या डेढ सय जनाभन्दा बढी छ । विदेशबाट फर्किएकाहरू बजार क्षेत्रभन्दा गाउँमा धेरै छन् । तर, उनीहरु सरकारले भनेजस्तो ‘होम क्वारेन्टाइन’ मा बस्नुको सट्टा गाउँमा छरछिमेक र साथीभाई भेट्नमै व्यस्त छन् ।

पर्वतको कुश्मा नगरपालिका–९ मा निर्धक्कसाथ खेतमा काम गर्दै गरेका महिला । तस्बिर : अगन्धर तिवारी/कान्तिपुर

बिहादी–३ रानीपानीका शिक्षक रामप्रसाद पराजुलीका अनुसार गाउँमा हुने खेतीपाती तथा विकास निर्माणका काम रोकिएका छैनन् । कतिपयले प्रहरीको आँखा छलेर सवारीसाधनसमेत चलाएको उनले बताए । ‘यता केही प्रभाव छैन,’ उनले भने, ‘लुकीछिपी जिप मोटरसाइकल चलेकै छन् ।’ बजार क्षेत्रमा लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरी र सेनाले समेत गस्ती गरिरहेका छन् । लकडाउन उल्लंघन गर्ने तीन जनालाई कारवाही पनि गरिएको छ ।

खेतीपातीमा रमाउँदै किसान
तनहुँका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । लकडाउनको असर ग्रामीण क्षेत्र र किसानमा परेको छैन । किसान धान रोप्न खेतखेतमा पुगेका छन् । म्याग्दे–२ माथिल्लो गुणादीका विष्णुबहादुर थापामगरले गाउँमा कुनै त्रास नभएको बताए । उनले भने, ‘आज काम नगरे भोलि खान पाइँदैन । खेत रोपिसकेपछि हामी पनि घरमै बसौँला भनेर रोपाइँमा जुटेका छौँ ।’ खेताला अभाव भएका बेला कोरोना संक्रमणको त्रासले सहरबाट युवायुवती गाउँ फर्किएका कारण खेती लगाउन सहज भएको किसानहरु बताउँछन् ।

पोखरामा व्यवसाय गर्दै आएका स्याङ्जाको बिरुवा गाउँपालिका–६ चिन्नेबासका देवेन्द्र लम्साल यतिबेला घरको काममा व्यस्त छन् । उनी गाउमा कोरोनाबारे सचेतना फैलाउने साथै बाँझो जमिनलाई खनजोत गरि खेतीयोग्य बनाउनमा लागेका छन् । ‘फुर्सद निकालेर व्यस्त हुदाँ पुस्तक पनि पढ्ने गरेको छु,’ उनले भने, ‘आफू सचेत रहनुपर्छ तर, डराउनु हुँदैन ।’

सहरबाट गाउँ फिर्नेको संख्या बढ्दो छ । यो मकै छर्ने, चैते धान रोप्ने समय हो । लकडाउनले सहर सुनसान भए पनि गाउँ चहलपहल छ । पुतलीबजार–८ कोल्माका डिलकुमार भुजेलले पनि यतिबेला गाउँमा रहेर घरायसी काममा व्यस्त रहेको बताए ।

होमस्टे सञ्चालन गरे ५० हजार जरिवाना
लमजुङको स्मार्ट भिलेज घलेगाउँबासीले होमस्टेमा पर्यटक राखे ५० हजारसम्म जरिवाना तोकेका छन् । पर्यटन व्यवस्थापन समितिले गाउँ आएका पर्यटकलाई फर्काउनुपर्ने र अटेर गरेर होमस्टेमा राखेमा २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको हो ।
लकडाउनका बेला सहरमा समय बिताउन गाह्रो भएको भन्दै केही व्यक्ति जिप र मोटरसाइकल चढेर बुधबार घलेगाउ पुगेका थिए । उनीहरुलाई फिर्ता पठाएर वैशाख १ सम्म कोही पर्यटक नराख्न उर्दी गरिएको र जरिवाना तोकेको समिति अध्यक्ष प्रेम घलेले बताए । छिमेकी गाउँमासमेत आवतजावतमा रोक लगाइएको छ ।

अत्यावश्यक सामान किन्न घेरा
बागलुङमा दैनिक उपभोग्य वस्तु खरिद बिक्रीका लागि पसलमा सोझै नजाने, भीड नगर्ने गरी सामान किन्ने व्यवस्थापन मिलाउन पसल अगाडि रेखांकन गरिएको छ । एउटा पसलमा बढीमा चार जनासम्म जान सक्ने गरी रेखा र घेरा बनाइएको हो । ग्राहकले घेरामा बसेर सामान माग्नुपर्नेछ ।

बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा प्रशासन र प्रहरीले घेरा बनाएका हुन् । ‘तोकिएको स्थानमा बसेर सामान माग्ने र दिने व्यवस्था गरिएको छ,’ प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘लकडाउन कडाइका लागि हो ।’
दिनभर प्रहरी र सेनाले बजारमा गस्ती गरिरहेका छन् । लकडाउनको प्रभाव बागलुङका ग्रामीण क्षेत्रमा पनि परेको छ । सुरक्षा निकायसँगै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छन् ।

मजदुरलाई सामग्री वितरण
बागलुङको काठेखोला गाउँपालिकाले मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएकालाई सहयोग गरिएको अध्यक्ष अमर थापाले बताए । ‘पहिलो चरणमा १३ परिवारलाई २५ केजी चामल, २ केजी नुन र ३ केजी दाल दिइयो,’ थापाले भने । पूर्वी नवलरासीका सबै आठ स्थानीय तहले विदेशबाट फर्किएकाको विवरण संकलन सुरु गरेका छन् ।

प्रकाशित : चैत्र १४, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×