कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कोरोनाको सामना

इटालीमा डाक्टरहरूकै मृत्यु भएको खबरबाट त्रस्त हुँदै नेपालमा नर्स र डाक्टरहरूले काम गरिरहेका छन् । उनीहरूको सुरक्षा आउँदा दिनमा अझ संवेदनशील हुनेछ ।
सरु जोशी

कोरोनाले एकै चोटि विश्वका १९५ मुलुकलाई कर्‍यापझ्याप पारेकाले के गर्ने के नगर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अलमलको स्थिति छ । कोरोनाबारे अहिले जताततैबाट धाराप्रवाह सूचना आइरहेका छन् । सूचनाको बाढी जस्तो, जसको कसरी व्यवस्थापन गर्ने भन्ने पनि कसैलाई थाहा छैन ।

कोरोनाको सामना

सुरक्षित हुन घरमै बस्नु सबैभन्दा उत्तम उपाय, हात धुने तरिका जस्ता सूचना प्रभावकारी भए पनि धेरैजसोलाई कुन महत्त्वपूर्ण, कुन अलि कम र कुन गलत हो भन्ने छुट्याउन हम्मेहम्मे पर्ने स्थिति छ । यसबाट जरुरी सूचना ओझेलमा पर्ने सम्भावना उत्तिकै छ । अरू त अरू, जानेबुझेकाले पनि ‘फेक मेसेज’ हरू सेयर गर्ने गरेका छन् । सरकार तथा विकास साझेदार संस्थाले यसमा छिटो समन्वय गरेर एकै खाले सामग्री फरक संस्थाबाट निकाल्नुभन्दा भएकै सामग्री पुनः प्रयोग गर्दा र स्रोतसाधन अन्य महत्त्वपूर्ण विषयमा लगाउनु आवश्यक देखिन्छ ।


अहिलेको अन्योलमा केही आधिकारिक सूचना चाहियो भने कहाँ सोध्ने ? यसबारे छरितो प्रक्रिया सार्वजनिक हुनु जरुरी छ । नेपालमा परीक्षणको सुविधा सीमित भएको र हवाईजहाज, बसबाट मानिस नेपाल भित्रिएको सन्दर्भमा सूचनाको हक प्रयोग गर्ने सरल विधि थाहा हुन सके नागरिकलाई राहत पुग्थ्यो । तुरुन्त डाक्टरलाई सम्पर्क गर्ने केही नम्बर सार्वजनिक भएका छन्, जुन सराहनीय छ, तर काठमाडौंबाहिर पनि चौबीसै घण्टा काममा ल्याउन सकिने त्यस्ता नम्बरको माग अधिकांशले गरेका छन् ।

यस्तो बेला समाचारहरूले मानिसलाई आतंकित बनाउन पनि भूमिका खेल्दा रहेछन् । कतिका श्रीमान्, कतिका श्रीमती वा बालबच्चा बाहिर छन् । विदेशमा भएका श्रमिकहरूले यस्तो बेला नेपाल आउन पाउँदैनन् भन्ने सरकारको निर्णयले अत्यन्त मर्माहत भएको बताएका छन् । यस्तो संवेदनशील कुरालाई फरक ढंगले सम्बोधन गर्नुपर्थ्यो । ‘जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित बस्नुहोस्; हाम्रा दूतावासहरूसँग निरन्तर वार्ता भइरहेको छ; तपाईंको प्रश्न यो नम्बरमा राख्नुहोस्’ भनेर आश्वासन दिनुपर्थ्यो । अर्को कुरा, नेपाल सरकारले घरेलु श्रमिकलाई प्रतिबन्ध लगाएकाले कति महिला कुन देशको कुन सहरमा छन्, अत्तोपत्तो छैन । राज्य उनीहरूनजिक पुग्नुपर्छ । सरकारी निकायको सहमति लिएर गएका होइनन् भन्दैमा बेवास्ता गर्न मिल्दैन । त्यस्ता महिला, तिनका बालबच्चा, परिवारबीच सूचना प्रवाह गर्न जरुरी छ । त्यस्ता श्रमिकलाई, केही सेवासुविधाको प्याकेज आयो भने, अभिलेखबद्ध नभई गएका भनेर सधैंझैं पाखा लाग्नुपर्ने परिस्थिति नआओस् । नत्र उनीहरूले महिलाका लागि जुन सरकार आए पनि फरक छैन भन्नेछन् । यी महिलाबारे पनि केही निर्णय गरिनुपर्छ ।

अमेरिका, अस्ट्रेलिया लगायतमा अध्ययनरत विद्यार्थीको संख्या ठूलो छ, जसको अवस्था बुझ्न पनि जरुरी छ । दूतावास नभएका सहरमा डायस्पोराको सहयोग लिएर मनोबल बढाउने, आश्वासन दिने, सतर्कता अपनाउने सन्देश प्रवाह गर्दै तिनमा ‘मेरो देशले मेरो खोजी गरेको छ, पर्बाह गरेको छ’ भन्ने भाव उत्पन्न गरिदिन जरुरी छु । यस विषयमा दूतावासहरूसँग परराष्ट्रमन्त्रीको छलफल भएको जानकारी सामाजिक सञ्जालमार्फत पाइयो । विदेशमा रहेका नेपाली केकस्तो परिस्थितिमा छन्, तीबारे दूतावास–मन्त्रालय नियमित जानकारी आदानप्रदान भई नागरिकको सूचनाको हक सुनिश्चित गर्ने पहल गर्दा सरकार र नागरिकबीचको सम्बन्ध सुदृढ हुनेछ । यस्ता पहलमा प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै लैजाने रणनीति अपनाउनु पनि प्रभावकारी हुन सक्छ ।

भारतसँगका विभिन्न सीमानाकाबाट असंख्य नेपाली स्वदेश छिरेका छन् । उनीहरू संक्रमित हुने आशंका छ । एकातिर उनीहरू पनि नेपाली हुन्, नेपाल फर्कन पाउनुपर्छ, तत्कालै उनीहरूको खाना, नाना र छानाको व्यवस्था हुनुपर्छ भन्ने तर्क मनासिब छ भने, अर्कातिर उनीहरूका कारण नेपालमा भएका नागरिक जोखिममा पर्न सक्छन्, उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्छ भन्ने दबाब पनि उत्तिकै आवश्यक छ । तीमध्ये कति नेपालगन्जको क्वारेन्टाइनबाट भागेर घर पुगेको समाचारले धेरैलाई भयभीत बनाएको छ । अर्कातिर, अबुधावीको जहाज हुँदै अस्ट्रेलियाबाट आएका दुई नेपाली फर्काइए भन्ने पनि सुनिन आयो । नेपाल नै आइसकेपछि त मुलुक पस्न पाउनुपर्ने हो; क्वारेन्टाइनमा राखे हुन्थ्यो । मानवीय र व्यावहारिक पक्ष सँगै लैजानुपर्छ ।

होहल्ला अनि हावादारी र भ्रमपूर्ण समाचारको व्यवस्थापनमा यस बेला अत्यन्त गम्भीर हुनुपर्छ । परिस्थिति झन्झन् जटिल हुने संकेत देखिएको छ । हिजो ५० रुपैयाँ किलो पाइएको टमाटार आज १०० रुपैयाँ भएको छ । यो महँगी र कालाबजारीको खबरदारी हामी नागरिकले पनि गर्नुपर्छ । लकडाउनमा बजारबजार भौंतारिनबाट मानिसहरूलाई निरुत्साहित गर्न पनि नागरिक समाजको भूमिका रहन्छ । यस्तो विषम परिस्थितिमा हामी रमिते हुने र आलोचना गर्ने भूमिकाबाट माथि उक्लिन सक्नुपर्छ ।

यस बेला सबैभन्दा प्रभावित हुने भनेका नर्स, डाक्टर, स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । इटालीमा डाक्टरहरूकै मृत्यु भएको खबरबाट त्रस्त हुँदै नेपालमा नर्स र डाक्टरहरूले काम गरिरहेका छन् । उनीहरूको सुरक्षा आउँदा दिनमा अझ संवेदनशील हुनेछ । आलोचना बढी गर्ने हाम्रो प्रवृत्तिलाई एक क्षण थाती राखेर उनीहरूको कामप्रति आभारी जनाउनु र मनोबल बढाउनु जरुरी छ । के बिर्सनु हुन्न भने, हामीलाई घरमा सुरक्षित राखेर अहिले अस्पतालमा, नाकानाकामा खट्ने उनीहरू नै हुन् । हामी कम से कम घरै बसेर पनि उनीहरूको आत्मबल बढाउने, सकारात्मक अनुभव सेयर गर्ने अभियान चलाउन सक्छौं । नागरिकका तर्फबाट पनि सतर्कता र सामूहिक पहल हुन सक्नुपर्छ ।

रोजगारमा रहेका, अनौपचारिक क्षेत्रका, दैनिक ज्यालामा काम गर्नेहरूलाई कोरोनाको कहरभन्दा पनि कसरी छाक टार्ने भन्ने समस्या छ । यसका लागि श्रमिकको अधिकारसँगै रोजगारदाताको पनि क्षमता र अवस्था बुझ्नुपर्छ । अहिले त्यस्ता निजी संस्थाको कम्तीमा तीन महिनाको ऋण वा कर मिनाहा गरेर श्रमिकलाई तलब दिन सक्ने बनाउन सरकारले सहजीकरण गर्न सक्छ । दैनिक ज्यालादारीमा भएकालाई सरकारले आर्थिक प्याकेज कम्तीमा तीन महिनाका लागि ल्याउन सक्छ । यसका साथै बैंकहरूले छरितो ऋणको प्याकेज ल्याउने, छलफल गर्ने काम सुरु गर्नुपर्छ । यसले घरपरिवारको ध्यान अर्को उत्पादनशील विषयमा लैजान सक्छ ।

राम्रो कुरामा चीनबाट मास्क, टेस्टिङ किट, डाक्टरहरूको टोली आउन तयार छ भन्ने समाचार मात्रै पनि हाम्रा लागि सञ्जीवनी बनेको छ, जति छिटो चीनबाट जहाज आउँछ, उत्ति नै सेवा र परीक्षण सशक्त हुनेछ भन्ने नेपालीले आशा गरेका छन् । कोरोना महामारीका लागि राष्ट्रिय कोष खडा भएको छ । कसैले तलब मात्र होइन, पेन्सन पनि कोषमा जम्मा गरेका छन् । केही घरबेटीले तीन महिना भाडा नलिने भन्ने समाचार आएको छ । नागरिक समाज, सहकारी, स्कुलहरूले क्वारेन्टाइनमा राख्न कार्यालय, स्कुल दिएका छन् । सँगसँगै डाक्टर, नर्सलाई घरभाडा नदिने कुरा पनि बाहिर आएका छन् । भूकम्पका बेला दलितले घर भाडामा पाएनन्, कोरोनाले गर्दा डाक्टरहरू दलितझैं बन्न पुगे । घरबेटीहरूलाई यस्ता अमानवीय पक्षमा सचेत गराइनुपर्छ ।

यस्तो विपत्‌मा महिला घरमा बस्दा कार्यबोझ झन् बढ्ने विश्वका अनुभवसहितको भिडियो ‘युएन वुमन’ ले सार्वजनिक गरेको छ । यस बेला घरका सदस्य विवेकी भइदिए महिलालाई राहत पुग्छ । त्यसैले यस्ता विषय पनि समेटे लैंगिक उत्तरदायित्वका हिसाबले सन्देश प्रवाह हुनेछ ।

सरकारका प्रयास राम्रा तर अपर्याप्त छन् । नागरिकसँगै कतिपय विशेषज्ञ संस्था, अवकाशप्राप्त कर्मचारी, सेना, प्रहरी लगायतलाई आह्वान गरेर जजसको विज्ञता जे विषयमा छ, ती सबैको सहयोग लिई सामूहिक नेतृत्वमा अगाडि बढ्न सके प्रयास प्रभावकारी हुनेछ, हरेकले स्वामित्वबोध गर्नेछन् । अन्धाधुन्ध अहंकार, इगो, अमानवीय प्रतिस्पर्धामा बढ्दाबढ्दै एकाएक विश्व एउटा अस्पतालमा परिणत हुन पुगेको छ । अब सरकार, विकास साझेदारलगायत विभिन्न निकाय, नागरिक सबै मिलेर संयुक्त रूपमा कोरोनाको कहर सम्बोधन गर्न तयार हुनुको विकल्फ छैन ।

[email protected]

प्रकाशित : चैत्र १४, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?