सरकारी कर्मचारी ‘आलोपालो’ काममा

सचिवहरू नियमित कार्यालय पुगिरहेका छन् भने धेरैजसो मन्त्रालयमा सहसचिवहरूलाई आलोपालो खटाइएको छ । अरू कर्मचारीलाई आवश्यकताअनुसार बोलाउने गरी बिदा दिइएको छ । सुरक्षाकर्मी र जनस्वास्थ्यसँग सम्बन्धित कर्मचारीको बिदा कटौती गरिएको छ ।

चैत्र १४, २०७६

बलराम बानियाँ

काठमाडौँ — संघीय सरकारका मन्त्रालय, केन्द्रीय निकाय, विभाग र संस्थानहरूमा उच्चपदस्थ कर्मचारीले आलोपालो उपस्थित भएर कार्यालय सञ्चालन गरेका छन् । राजधानी उपत्यकाका अरू कार्यालयमा भने एक/दुई जना मात्रै कर्मचारी उपस्थित भइरहेका छन् । कर्मचारीलाई कार्यालय प्रमुखले घरमै बस्न तर आवश्यक परेका बेला उपस्थित हुन भनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटै मन्त्रालयमा सचिव अनिवार्य रूपमा उपस्थित छन् । धेरैजसो मन्त्रालयमा सहसचिवहरू भने आलोपालो उपस्थित भएका छन् । ‘सचिवज्यूहरू अनिवार्य रूपमा मन्त्रालय उपस्थित हुनुहुन्छ, हामी चार सहसचिवमध्ये दुई/दुई जना पालो गर्दै आएका छौं,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले कान्तिपुरसँग भने, ‘बिहीबारबाट पनि यही क्रम जारी रहन्छ । मन्त्रालयका कर्मचारीलाई जरुरी परे कार्यालय आउने गरी घरघरमा स्ट्यान्डबाइ रहने गरी बिदा दिइएको छ ।’ उनका अनुसार त्रिभुवन विमानस्थलस्थित मन्त्रालयको कार्यालयमा पनि कर्मचारीहरूलाई आलोपालो ड्युटीमा खटाइएको छ । राजधानीस्थित सबै संग्रहालय भने बन्द गरिएको छ ।


देशव्यापी ‘लकडाउन’ लाई अनुगमन, नियमन गर्ने र उल्लंघन भए सुरक्षा निकाय परिचालन गर्नुपर्ने गृह मन्त्रालयमा भने सचिव र सबै सहसचिव अनिवार्य रूपमा कार्यालयमा पूरै समय उपस्थित भई काम गरिरहेका छन् । जरुरी काम पर्नेबाहेक बाँकी सबै कर्मचारीलाई ‘स्ट्यान्डबाइ रहने गरी बिदा दिइएको छ ।


‘लकडाउनलाई सफल पार्ने काम गरिरहेका छौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘उपसचिवहरूलाई आवश्यक परे कार्यालयमा बोलाइएको छ, बांँकी सबै कर्मचारीलाई बिदा दिइएको छ । बिदामा रहेका कर्मचारी पनि जरुरी परे कार्यालयमा आएर काम गर्ने व्यवस्था मिलाइएको छ ।’


शर्माका अनुसार गृहमातहतका विभाग र केन्द्रीय कार्यालयमा माथिल्लो तहका कर्मचारी आलोपालो आउने गरी कार्यालय खुला राखिएको छ । ७७ वटै जिल्लाका जिल्ला प्रशासन खुला रहेको र अत्यावश्यक काम सञ्चालन भइरहेको उनले जानकारी दिए । ७७ जिल्ला प्रशासनमा पनि सीडीओ र आवश्यक पर्ने कार्मचारी मात्र उपस्थित छन् तर जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक अन्य सेवाग्राहीका काम बन्द छन् ।


उद्योग, पर्यटन, बैंकिङ, निर्माणजस्ता क्षेत्रमा लकडाउनका कारण पर्ने असरको विश्लेषण गरी राहत दिन आर्थिक प्याकेज तयार गरिरहेको अर्थ मन्त्रालयमा पनि सचिव, सहसचिव र उपसचिवसम्मका कर्मचारीहरू कार्यालयमा उपस्थित भएर काम गरिरहेका छन् । बाँकीलाई बिदा दिइएको छ । अर्थ मन्त्रालयका आन्तरिक राजस्व विभाग, भन्सार विभागसहित सबै कार्यालय माथिल्लो तहका कर्मचारी उपस्थित भएर आंशिक खुला राखेका छन्, बाँकी कर्मचारीलाई बिदा दिइएको छ ।


अत्यावश्यक खाद्यान्न, औषधि, ग्यासलगायतको नियमित आपूर्ति भए/नभएको अनुगमन र नियमन गर्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सचिव र सहसचिवहरू उपस्थित भएर काम गरिरहेका छन् । अरू कर्मचारी भने जरुरी परेकालाई कार्यालयमा बोलाएर बाँकीलाई बिदा गरिएको छ । उद्योग सचिव चन्द्र घिमिरेले आफूहरू कार्यालयमा उपस्थित भएर मुलुकभर अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने, नपुगेको ठाउँमा पुर्‍याउने र कालोबजारी नियन्त्रणका लागि आवश्यक काम गरिरहेको जानकारी दिए ।


सबै संवैधानिक निकायहरू पनि आंशिक रूपमा मात्र सञ्चालित छन् । अध्यक्ष/प्रमुख आयुक्तसहितका पदाधिकारी ‘स्ट्यान्डबाइ’ रहने गरी बिदामा छन् । संवैधानिक निकायमा थोरै संख्यामा मात्र कर्मचारी आलोपालो उपस्थित भएर कार्यालय आंशिक खुला राख्ने गरेका छन् । ‘थोरै संख्यामा कर्मचारी आलोपालो उपस्थित भएर कार्यालय खुला राख्नुभएको छ । केही परे हामीलाई सम्पर्क गर्नुहुन्छ । हामी (पदाधिकारी) नियमित सम्पर्कमा छौं,’ लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने, ‘आवश्यक परे उपस्थित हुन्छौं ।’


कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने, संक्रमण देखिए उपचार गर्ने र यसबारेमा मुलुकभर सतर्कता अपनाउन सन्देश प्रवाह गर्दै आएको स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालय भने मुलुकभर पूर्ण सञ्चालनमा छन् । सरकारको निर्देशनअनुसार सबै कार्यालय पूर्ण खुला राखिएको छ । स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित गराइएको छ । जनस्वास्थ्यसँग सम्बन्धितबाहेकलाई भने बिदा दिइएको छ । सुरक्षासँग जोडिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनामा भने कसैलाई बिदा दिइएको छैन । बिदामा बसेकालाई पनि फिर्ता बोलाइएको छ ।

बलराम

Link copied successfully