आईपीएल स्थगित गर्न दबाब

एजेन्सी

नयाँदिल्ली —  यति खेर सबै तयारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा केन्द्रित हुनुपर्ने थियो । खेल आयोजनास्थल पनि झकिझकाउ भइसक्नुपर्ने थियो । तर विश्व क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता आईपीएलमाथि अहिले स्थगित गर्नुपर्ने चर्को दबाब छ । यसअघि पछाडि सार्ने निर्णय भइसकेको प्रतियोगिता नयाँ तालिकाअनुसार अप्रिल १५ देखि सुरु हुनुपर्ने हो, तर अहिले पूरा प्रतियोगितामै अन्योल छाएको छ । 

आईपीएल स्थगित गर्न दबाब

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) अहिलेसम्म प्रतियोगिताबारे केही भनेको छैन । तर भारत स्वयं कोरोना भाइरस संक्रमणबाट बच्न संघर्षरत रहेको स्थितिमा खेलकुद सबैभन्दा कम प्राथमिकतामा पर्न थालेको छ । भारतमा बुधबार मात्र २१ दिनको लकडाउन सुरु भएको स्थितिमा प्रतियोतिगाको तयारी असम्भव जस्तै छ । भारतले यसबीच अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सबै रद्द गर्नुका साथै कसैलाई पनि प्रवेशाज्ञा दिने गरेको छैन ।


त्यसैले कुनै पनि फ्रेन्चाइज टिमले आफ्ना विदेशी खेलाडीलाई कसरी भारत ल्याउने हो भन्नेबारे भन्न सकेका छैनन् । आईपीएल पनि हुनुपर्ने अन्य अन्तर्राष्ट्रिय खेल कार्यक्रमले पनि अब प्रतियोगिता अझ पछाडि सारेर आयोजना गर्नु सम्भव हुन छाडेको छ । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भनेका छन्, ‘हामीले अहिलेसम्म केही पनि निर्णय गर्न सकेका छैनौं । अप्रिल १५ सम्म प्रतियोगिता नहुने जुन निर्णय थियो, हामी त्यहीं छौं । हामी सबै स्थिति बुझ्ने प्रयासमा छौं ।’


पूर्वनिर्धारित कार्यक्रमअनुसार आईपीएलको फाइनल मे २४ मा हुनुपर्ने थियो । जुन पहिलो सातादेखि वेस्ट इन्डिज, श्रीलंका, इंग्ल्यान्ड र दक्षिण अफ्रिकी खेलाडी आफ्नो देशका लागि खेल्न व्यस्त हुनेछन् । यस्तै स्थिति त्यही महिनाको तेस्रो सातादेखि न्युजिल्यान्ड र अस्ट्रेलियाको पनि हुनेछ । यी देशका खेलाडीले सबैभन्दा बढी आईपीएलमा सहभागिता जनाउने छन् । त्यसैले पनि आईपीएल स्थगित हुने सम्भावना अझ बढी भएको छ ।


भारतले आफैं पनि जुन महिनाको चौथो साता श्रीलंकाविरुद्ध तीन एकदिवसीय र दुई ट्वान्टी–२० क्रिकेट शृंखला खेल्दै छ । चेन्नई सुपर किंग्सका सीईओ केएस विश्वनाथनले भने, ‘अप्रिल १५ सम्म लकडाउन टुंगिए पनि खेलाडीको भिसाबारे लामो प्रक्रिया बाँकी हुनेछ । हाम्रा खेलाडी र प्रशिक्षक कति बेला कसरी उपलब्ध हुनेछन्, त्यसमा पनि शंका छ । यो सबै स्थिति बुझेपछि हामीले केही भन्न सक्छौं । प्रतियोगिता वास्तवमै स्थगित भयो भने त्यो सबैका लागि ठूलो आर्थिक नोक्सानी हुनेछ ।’

प्रकाशित : चैत्र १४, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?