खुद्रा पसलमा मनपरी मूल्य, बजार अनुगमन शून्य
काठमाडौँ — सरकारले लकडाउन गरेका बेला फाट्टफुट्ट खुलेका पसल पनि प्रहरीले बन्द गर्दै हिँडेको गुनासो बढेको छ । यस्तो बेला प्रहरीकै समन्वयमा पसल सञ्चालन हुनुपर्नेमा उल्टै बन्द गराउँदै हिँड्नु गलत भएको सरोकारवाला बताउँछन् ।
सरकारी निकायबीच नै समन्वय नहुँदा यस्तो भएको खुद्रा व्यवसायीहरूको भनाइ छ । ‘गल्कोपाखामा पसल छ । तर पसल खोल्न प्रहरीले नै दिन्न,’ एक खुद्रा व्यवसायीले भने, ‘आपूर्ति मन्त्रालयले खाद्य पसल खोल्नू भन्छ । प्रहरीले बन्द गर भन्छ ।’
काठमाडौंको असनमा खाद्यान्नको पसल गरिरहेका अर्जुन दुलालले पनि पसल खोलेका बेला प्रहरीले अवरोध गर्ने गरेको गुनासो गरे । पसलमा ग्राहक बढी हुनेबित्तिकै प्रहरी आएर जबर्जस्ती बन्द गराइहाल्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रशासनिक अधिकृत खड्गबहादुर श्रेष्ठले भने बिहान र बेलुका दुई घण्टा खोल्न दिइएको बताए । ‘बिहान ५ देखि ७ र बेलुका पनि सोही समयमा खाद्य पसल खोल्न दिएका छौँ,’ उनले भने ।
लकडाउनको मौका छोपी खुद्रा पसलहरूले भने चर्को मूल्य असुल्न थालेका छन् । सवारी आवतजावत बन्द भएसँगै तरकारी, फलफूललगायत खुद्रा व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिएका छन् ।
सरकारले अत्यावश्यक वस्तु तरकारी, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्रीवितरणमा छुट दिएको छ । तर होलसेलमा वृद्धि नभए पनि खुद्रा पसलमा व्यवसायीले मनपरी मूल्य लिएका हुन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सिमीको औसत होलसेल मूल्य ५५ रुपैयाँ निर्धारण गरेको छ । तर खुद्रा बजारमा भने प्रतिकिलो २ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।
‘साथीहरुले कालिमाटीमा प्रतिकिलो ३० रुपैयाँमा बिक्री गरेको सिमी कलंकीमा मैले पाउकै ४० रुपैयाँ तिरें,’ ढुंगाना एग्रिकल्चरका सञ्चालक समर्थन ढुंगानाले भने, ‘खुद्रामा लुट नै रहेछ ।’ ढुंगाना तरकारीका होलसेल व्यवसायी हुन् । उनले चितवन, भैरहवालगायत तराईका विभिन्न जिल्लाबाट तरकारी संलकन गरी कालिमाटी ल्याउँछन् । बिहीबार भने आफैं ठगिनुपरेको उनले बताए । ‘हाम्रा कर्मचारीले हरियो फर्सी प्रतिकिलो २० रुपैयाँ र बोडी किलोको १ सय रुपैयाँमा बिक्री गरेका थिए,’ उनले भने, ‘तर खुद्रा पसलेले तेब्बरसम्म मूल्य लिएका रहेछन् ।’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकै सूचना अधिकारी विनय श्रेष्ठको भनाइ पनि उस्तै छ । कालिमाटीमा ४० देखि ५० रुपैयाँ मूल्य निर्धारण गरेको काउली कपनमा १ सय रुपैयाँमा खरिद गर्नुपरेको उनले बताए । ‘होलसेलमा मूल्य सामान्य नै छ । तरकारीको मूल्य भने बढेको छैन,’ उनले भने, ‘तर खुद्रामा स्वयं म बढी मूल्य तिर्न बाध्य भएँ ।’ कालिमाटी तरकारी बजारमा बिहीबार मूला प्रतिकिलो २० मा बिक्री भएको छ । कपनमा भने प्रतिकिलो ४० रुपैयाँमा खरिद गर्नुपरेको उनले जानकारी दिए ।
ढुंगाना र श्रेष्ठ उदाहारण मात्रै हुन् । कोरोनाको त्रासले प्रायः खाद्य पसल बन्द छन् । आंशिक रूपमा खुलेका पसलमा भने चर्को मूल्य असुली भइरहेको उपभोक्ता अधिकारकर्मी पनि बताउँछन् । ‘महाराजगन्ज, लाजिम्पाट, सामाखुसी, बालाजु, माछापोखरीलगायत ठाउँका खाद्य पसल बन्द छन् । खुलेका पसलमा आचाक्ली मूल्य बढेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर खोइ सरकारको उपस्थिति ? खोइ बजार अनुगमन ?’ बजारमा गुणस्तरहीन तरकारी र फलफूल बिक्री भइरहेको उनले बताए । लकडाउन भए पनि बेलुका ५ देखि ६ बजेसम्म खाद्यान्न किन्नेको भीड लाग्छ । त्यस बेला व्यापारीहरुले गुणस्तहीन वस्तुसमेत बिक्री गरेको उनको दाबी छ ।
‘२/३ दिनदेखि ओइलाएको तरकारी र फलफूल पनि बिक्री भएको छ । मूल्यमा पनि व्यापारीकै मनोमानी छ,’ तिमिल्सिनाले भने, ‘सरकारले ट्रोल फ्री नम्बर ११३७ जारी गरे पनि त्यो उठ्दैन । उठे पनि सुनुवाइ भएको छैन ।’ समितिको तथ्यांकअनुसार तरकारी यथावत् रूपमै आयात भइरहेको छ । बिहीबार २ सय ३३ टन तरकारी भित्रिएको समितिका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । तर बिक्रीवितरण र ढुवानीमा द्विविधा सबै पक्षलाई समस्या भएको जानकारहरू बताउँछन् । समितिले बिहीबार काउलीको मूल्य ३८ रुपैयाँ तोकेको छ । खुद्रामा भने यो १ सय २० रुपैयाँसम्ममा बिक्री भएको छ ।
हरियो खुर्सानीको मूल्य प्रतिकिलो १ सय २५ रुपैयाँ तोकिए पनि बजारमा ४ सय ५० रुपैयाँ, ५० रुपैयाँको ब्रोकाउली १ सय ५० रुपैयाँ, २८ रुपैयाँको फर्सी ९० रुपैयाँ र ४८ रुपैयाँको गोलभेडा १ सय ५० रुपैयाँसम्मा बिक्री भएको छ । बजारमा खुलमखुला लुट भए पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने मौन छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी गर्नेलाई जरिवाना र कैद गर्ने दाबी गरे पनि अनुगमनमा ध्यान दिएको छैन । बढी मूल्य लिएको सूचना आए अनुगमन गरिने आपूर्ति विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए । ‘अहिले अनुगमन भएको छैन । गुनासो सुनुवाइको काम भइरहेको छ,’ उनले भने ।
