कञ्चनपुर — निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको छ । चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो ।
कञ्चनपुरको वेदकोट नगरपालिकाअन्तर्गत गणेश र बत्छेला सामुदायिक वनको उत्तरतर्फ चुरेमा आधा दर्जन सालका रूखहरू काटिएको अवस्थामा भेटिएका हुन् । तीमध्ये केही रूखहरू तस्करी भइसकेको छ भने केही सोही क्षेत्रमा चिरान भइरहेको अवस्थामा भेटिएका सञ्जालका उपाध्यक्ष मोहन चन्दले बताए । सामुदायिक वनको झन्डै ५ किलोमिटर उत्तरतर्फ कमलताल क्षेत्रमा सालका गोलियासँगै काट्न प्रयोग भएको हाते आरासमेत भेटिएको चन्दले बताए ।
‘एकै ठाउँमा छ रूख काटिएका छन्, आधाभन्दा बढी अन्तै लगिसकिएको छ,’ उनले भने, ‘आधा पनि गोलिया बनाएर चिरान भइरहेको देखियो ।’ अनुगमनका क्रममा तस्करीमा संलग्नहरू भने नभेटिएको सञ्जालका कर्मचारी करन भट्टले बताए । उनका अनुसार बत्छेला र गणेश सामुदायिक वनका उत्तरतर्फ चुरेमा धेरै ठाउँमा रूखहरू काटिएका छन् ।
नयाँ काटिएका मात्रै ४ वटा रूख भेटिएको उनले बताए । उनका अनुसार एक साताअघि बत्छेला सामुदायिक वन क्षेत्रमा काठ तस्करी भइरहेको अवस्थामा बरामद भएको थियो । उक्त बरामद भएको काठ पनि सोही क्षेत्रबाट ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।
मतदानको दिन नजिकिँदै गर्दा राजनीतिक दलदेखि प्रहरी प्रशासनलगायत सबै कर्मचारी निर्वाचनमा केन्द्रित भएका बेला चुरेमा वन फँडानी भइरहेको हो । विगतमा पनि निर्वाचनका बेला वन फँडानी हुने गरेको छ । तर डिभिजन वन कार्यालयका कर्मचारी भने यसतर्फ बेखबर हुने गरेका छन् । कतिपय क्षेत्रमा वनकै कर्मचारीको मिलेमतोमा समेत तस्करी हुने गरेको सञ्जालका पदाधिकारीको आरोप छ ।
उनले डिभिजन वन कार्यालय कञ्चनपुरलाई समेत जानकारी गराइएको बताए । कमलताल आसपासमा भइरहेको फँडानीको अनुगमनका डिभिजन वनकै कर्मचारी पनि सहभागी भएको उनले बताए । ब्रह्मदेव सव डिभिजनअन्तर्गत पर्ने उक्त क्षेत्रमा एक रूख मात्रै ढालेको भेटिएको छ । ब्रह्मदेव सव डिभिजन कार्यालयका प्रमुख जीवन भण्डारीले गस्तीका क्रममा रूख ढालेको भेटिएको बताए ।
