चुनावी एजेन्डा मात्र बन्छन् उत्तरी नाका

जब चुनाव सकिन्छ, नेताहरूले यी क्षेत्रमा विरलै पाइला राख्छन्, आफूहरुले गरेका प्रतिबद्धता पनि भुल्छन्

कार्तिक २३, २०७९

अनिश तिवारी, बलराम घिमिरे

सिन्धुपाल्चोक, रसुवा — स्थानीय तह होस् या प्रतिनिधि र प्रदेशसभा निर्वाचन । प्रत्येक चुनावी घोषणापत्र, भाषण तथा कार्यक्रममा उत्तरी तातोपानी र रसुवागढी नाका दलहरूका मुख्य एजेन्डा बन्दै आएका छन् । तर जब चुनाव सकिन्छ, नेताहरूले यी क्षेत्रमा बिरलै पाइला राख्छन् । आफूहरूले गरेका प्रतिबद्धता पनि भुलिहाल्छन् । 

०७२ को भूकम्प र त्यसयताका परकम्पले ध्वस्त भएयता भोटेकोसी गाउँपालिका- २ लिपिङ बजारबाट चीन जोड्ने तातोपानी नाका चुनावी एजेन्डा बन्दै आएको सात वर्ष पुग्यो । तर यहाँको दुरवस्था उस्तै ‘चिसो’ नै छ । बीचमा सुक्खा पहिरो, खण्डहर बजार, छियाछिया भएर आधा भत्केका क्षतिग्रस्त घरटहरा, ढले, लडेका बोर्ड, तलबाट भासिँदै गइरहेको डरलाग्दो सडकले जहिल्यै तर्साइरह्यो । 

खस्नै लागेको लिपिङ चट्टानमुनि ध्वस्त अरनिको गेटमा नेपालको राष्ट्रिय झन्डा फहराइरहेको हेर्दै जीर्ण भवनमा अध्यागमनका कर्मचारी र तैनाथ सुरक्षाकर्मी बस्छन् । त्यतिखेर नाका चल्दा भव्य चहलपहलसँगै अर्बौं रुपैयाँ राजस्व उठाउने सरकारले अहिले मालवाहक सवारी कन्टेनरलाई सुरक्षित पार्किङ र व्यवस्थापनसमेत दिन सकेको छैन । 

सर्वसाधारणका लागि नाका खुल्ने र पहिलेझैं व्यापार हुने आसमा होटल, पसलमा फर्केका व्यवसायी पनि प्रत्येक चुनावी एजेन्डा र दल नेता तथा कार्यकर्ताको लर्कोबाट वाक्क छन् । ‘जसले सर्वसाधारणका लागि नाका खोल्छ उसैलाई भोट दिने भनेर हामीले माग राखेको पनि ठ्याक्कै सात वर्ष भएछ । तर नाकाको हालत झनै नाजुक भइरहेको देख्छु,’ भोटेकोसी–२ की सुनमाया तामाङले भनिन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ मा वाम गठबन्धनबाट पूर्वसभामुख अग्निप्रसाद सापकोटा र लोकतान्त्रिकबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिस्पर्धामा थिए । नाकालाई मुख्य एजेन्डा बनाएर एमालेको साथ पाएका सापकोटाले ४० हजार मत ल्याएर बस्नेतलाई पराजित गरे । प्रदेशसभा १ (ख) मा वामबाट उम्मेदवार बनेका एमालेका केन्द्रीय सदस्य सरेश नेपालले लोकतान्त्रिकका राजेन्द्रकुमार श्रेष्ठलाई २२ हजार मतले हराए । यी विजयी र पराजित उम्मेदवारले नाकालाई मुख्य एजेन्डा बनाएका थिए । 

अहिले पूर्वसभामुख सापकोटा चुनावमा छैनन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा–१ मा माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा र त्यतिबेला प्रदेशसभा (ख) मा निर्वाचित पूर्वप्रदेशमन्त्री नेपाल प्रतिस्पर्धामा छन् । बस्नेत प्रतिनिधिसभा–२ मा पूर्वमन्त्री शेरबहादुर तामाङसँग भिड्दै छन् । यस क्षेत्रका लागि नयाँ अनुहार सापकोटा र पुराना पाका नेपाल मतदाता भेट्दै सीमा गाउँमा तातोपानी नाका खोल्ने र सहजीकरण गर्ने प्रतिबद्धता गरिरहेका छन् । 

साता दिनअघि सीमा गाउँ तातोपानी पुगेका उम्मेदवार सापकोटाले उच्चस्तरका अधिकारी र नेता यहाँ ल्याएर नाकाबारे गहिरो बहस छलफल चलाउने र नाका पूर्णरूपमा खुलाउन पहलकदमी गर्ने अभिव्यक्ति दिए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका गाउँ पुगिरहेका नेपालले पनि नाका व्यवस्थित बनाउन र खुलाउन आवश्यक पहल गरिरहेको बताउँदै आएका छन् । ‘त्यत्रो मन्त्री र सरकारमा पुग्दा केही गर्न सकेनन्, अब झन् जितेर के गर्लान् र ?’ स्थानीय व्यवसायी साल्देन शेर्पाले भने । 

चीनले आफ्नोतर्फ भवनबाहेक अन्य संरचना लगभग सकिरहँदा नेपालतर्फ सुनसान वातावरण छ । पारि चीनतर्फ धमाधम काम भइरहेछ, मितेरी पुलदेखि खासासम्मको ७ किमि सडक तयार बनाएर धमाधम प्रविधिमय संरचना उभ्याउँदै छन् । लिपिङतर्फ भने २०/२५ आधा भत्किएका र जीर्ण घर मात्रै छन्, त्यहाँ त मान्छे बस्दैनन्, न बस्ने वातावरण नै छ, लिपिङ पुलछेउमा तीन परिवार बस्छन् । भूकम्प र भोटेकोसी बाढीयता लगातार सीमा भेगमा बर्खे पहिरो झरिरह्यो, बाढीले स्थानपिच्छे कटानमा पारेको ध्वस्त कोदारी राजमार्ग २६ किलोमिटर बल्ल मर्मत सम्भार गरिँदै छ । 

आमनिर्वाचन २०७९

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

बलराम

Link copied successfully