पहिरो नियन्त्रण गर्नेलाई मत

कार्तिक २३, २०७९

राजकुमार कार्की

सिन्धुली — सुनकोसी गाउँपालिकाको केन्द्र रामटारबाट ४ घण्टा उकालो यात्रापछि पुगिन्छ वडा–५ को खन्नेखर्क । बीपी राजमार्गको सहायक मार्ग लिट्टेभन्ज्याङ, थापा थुम्का हुँदै खन्नेखर्क छिचोलेर बन्दीपुरसम्म मौसमी सडक पुगेको छ । यही सडककै कारण पहिरोको जोखिममा छन् खन्नेखर्कका २४ परिवार । आसन्न निर्वाचनमा आफूहरूलाई पहिरोको जोखिमबाट मुक्तिको प्रतिबद्धता गर्नेलाई मत दिने उनीहरूको भनाइ छ ।

प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट बिनाअध्ययन उक्त सडकको ट्र्याक खोलिएको हो । अहिले भीरजस्तो बनएर छोडिएको सडकबाट झरेको माटो–ढुंगा स्थानीयको घरआँगनसम्म आइपुग्छ । ‘सडक आयो भनेर खुसी भएका हामी अहिले निद्रा नै हराएको छ,’ स्थानीय सुवास तामाङले भने, ‘घरमाथिको पाखोबाट बाटो त खनिएको छ तर भीर बनाएर छोडिएकाले पहिरोको जोखिम छ ।’ नालीसमेत नखनिएकाले वर्षाको पानी भेलजस्तै बनेर बस्तीमै आइपुग्ने उनले सुनाए । ‘डोजर चालककै ज्ञानको भरमा सडक खनियो । जसका कारण यसपालि बर्खामा धेरै साना पहिरा झरे । अहिले पनि दिनदिनैजसो ढुंगा खसिरहन्छ,’ उनले भने । 

बर्खाका ४ महिना यहाँ यातायातका साधन चल्दैनन् । हिउँदमा पनि ठाडो उकालो र घुम्ती भएकाले बढो मुस्किलले मात्र गाडी आउने गरेको ८६ वर्षीय मगरसिङ घिसिङले बताए । ‘सडक कालोपत्र गरेर नालाबाट पानी बग्ने नबनाएसम्म पहिरोको जोखिम कायमै रहन्छ,’ उनले भने, ‘जमिन खोस्रिएपछि त्यसको उचित व्यवस्थापन नहुँदा हामीलाई रातदिनको पिरलो भएको छ ।’

गाउँमाथिको पाखोलाई छलेर सडक बनाउन स्थानीयले सुझाएका थिए । त्यतिखेर ‘सडक पनि चाहिने अनि डराएर हुन्छ’ भनेर उल्टै हप्की खानुपरेको अर्का स्थानीय शुक्रकुमार तामाङले सम्झिए । ‘बन्दीपुरसम्म सडक नलैजानु भन्न पनि सकिएन,’ उनले भने, ‘अहिले पहिरोको भयले गाउँ नै छाडेर बसाइँ सर्नुपर्ने अवस्था आयो ।’ 

आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग खन्नेखर्कवासीले सडक कालोपत्र गरी पहिरोको व्यवस्थापनको माग राखेका छन् । पहिरो नझर्ने बनाएर बस्ती संरक्षण गरिदिन उम्मेदवारहरूसमक्ष माग गरेको स्थानीय जेनिशा योञ्जनले बताइन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारीभन्दा हाम्रो पहिलो माग नै पहिरो नियन्त्रण हो,’ उनले भनिन्, ‘पाखाबाट ठूल्ठूला ढुंगासहितको पहिरो आउने त्रास छ । यो बर्खामा पहिरो झर्न सुरु भइसकेको छ । नियन्त्रण नभए खन्नेखर्क नै बगाउन सक्छ ।’ 

यो क्षेत्र सिन्धुली–२ मा पर्छ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट लेखनाथ दाहाल (राजन) र एमालेबाट मनोजजंग थापा उम्मेदवार छन् । प्रदेससभातर्फ क्षेत्र–२ (१) मा गठबन्धनका छेत्रबहादुर बम्जन र एमालेका विनोद खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै पक्षका उम्मेदवार मत माग्दै एक पटक खन्नेखर्क पुगिसकेका छन् । उनीहरूले सडक कालोपत्र र पहिरो नियन्त्रणको बचन दिएका मगरसिङले सुनाए । ‘बचन त दिएका छन् तर काम गर्छन्, गर्दैनन् भर लागेको छैन,’ उनले थपे ।

आमनिर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully