निर्वाचनमा स्वतन्त्र र भयरहित वातावरण तयार गर्न जिल्ला प्रशासनलाई आयोगको निर्देशन

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार गर्न र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता एवं मतदातालाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सहभागी हुने अवस्था तयार गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

आयोगले मंगलबार गृह मन्त्रालयमार्फत् ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो। उम्मेदवारहरूले निर्वाध रूपले प्रचारप्रसारमा अवरोध भएको बारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक विषयको सन्दर्भमा आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले त्यस्ता समाचारबारे गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

'नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ,' आयोगले जनाएको छ ।

मंगलबार आयोगका सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully