२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चुनावी रुझान : चुच्चे नक्सा कि संविधान रक्षा ?

मतदातामा बढिरहेको 'तेस्रो मनोविज्ञान' चुनावको दिनसम्म बढ्यो र मतपत्रमा अभिव्यक्त भयो भने सत्ता र एमाले गठबन्धनले अहिले जुन नतिजाको परिकल्पना गरेका छन्, त्यो परिणामको रुपमा प्रकट नहुन सक्छ ।
दुर्गा खनाल

काठमाडौँ — निर्वाचन आयोगले दोस्रो चरणको प्रचार खुला गरेपछि प्रमुख दल र उम्मेदवारहरुले गत बिहीबारबाट चुनावी दौडाहा सुरु गरेका छन् । उम्मेदवारी दर्तापछि आफ्नो क्षेत्रमा सीमित रहेका प्रमुख पार्टीका शीर्ष नेताहरु देशव्यापी प्रचारमा निस्केका छन् । मंसिर १ गतेसम्म चल्ने यो चरण चुनावको निर्णायक प्रचार अवधि हो । जुन अवधिमा दलहरुको चुनाव प्रचारको मुख्य केन्द्रीय मुद्दा 'चुच्चे नक्सा कि संविधानको रक्षा' भन्नेतर्फ मोडिएको छ ।

चुनावी रुझान : चुच्चे नक्सा कि संविधान रक्षा ?

जसको सुरुवात दार्चुलाबाट केपी शर्मा ओली र डडेलधुराबाट प्रधामन्त्री शेरबहादुर देउवाले आफ्ना चुनावी भाषणमार्फत सुरु गरेका छन् ।

कात्तिक १८ गते एमालेको चुनावी अभियानको सुरुवात अध्यक्ष ‌ओलीले दार्चुलाबाट गरे । झापाका उम्मेदवार ओलीले दार्चुलाबाट देशव्यापी चुनावी प्रचार अभियान थाल्नुको पछाडि भूगोलसँग गाँसिएको 'राष्ट्रवाद' को त्यही अन्तिम चुनावी अस्त्रलाई खोल्नु थियो, जसलाई एमालेले आफ्नो राष्ट्रवादी छवि उजिल्याउने मुख्य आधार मान्दै आएको छ ।

दार्चुलामा ठूलो जनउपस्थितिमा ओलीले गत शुक्रबार भारतसँग वर्षौंदेखिको सीमा विवादको कुरा पनि निकै जोडतोडकासाथ उठाए ।

'नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं, 'खलंगा बजारमा आयोजित सभामा ओलीले भने, 'मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले‌ सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।'

'नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गरेका छन् । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेका थिए । जुन कुरा अहिले एमाले चुनावी अभियानको मुख्य नारा बनेको छ । अहिले ओली देश दौडाहामा छन् ।

ओलीको ट्विटर ह्याण्डलबाट सोमबार सार्वजनिक भएको चुच्चे नक्साहितको भिडियो प्रचार सामग्रीमा भनिएको छ, 'हामीले बदल्यौं देशको नक्सा, अब फर्काउनु छ भूमि ! आउनुहोस्- हातमा हात, साथमा साथ मिलाऔं !'

यो प्रचार सामग्री र ओलीको भाषणको मुख्य सन्देश नक्सा हामीले फेर्यौं, अब भूमि नै फिर्ता ल्याउने हो भन्ने छ । जब ओलीले दार्चुलाबाट सिमानाको कुरा उठाए । त्यसको जवाफ सत्ता गठबन्धनका मुख्य नेता रहेका प्रधानमन्त्री देउवाले कात्तिक १९ गते डलेलधुराबाट दिएका छन् । उनले ओलीलाई 'बन्दुक लिएर सीमामा लड्न जान' चुनौती दिए । ओलीले सीमा विवादलाई भोट माग्ने अस्त्र बनाएको भन्दै रुष्ट रहेका देउवाले भने, ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि, ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित हो ।'

देउवाले बन्दुक लिएर सीमानामा लड्न जान चुनौती दिएपछि ओलीले सोमबार कास्की पुगेर त्यसको जवाफ दिएका छन् । ‘दार्चुला गएर जमिन फिर्ता ल्याउने कुरा गरेको थिएँ,’ ओलीले कास्कीमा भने, ‘भोलिपल्टै प्रधानमन्त्री देउवाले बन्दुक लिएर सीमानामा जान भन्नुभएछ । बन्दुकले होइन भारतसँग वार्ता गरेर हामी हाम्रो भूमिको रक्षा गर्छौं ।’ ओलीले देउवाले 'प्रचण्ड'को संगत गर्न थालेपछि बन्दुकको कुरा गर्न लागेको भन्दै कटाक्ष गरेका थिए ।

ओलीले भूगोलसँग जोडिएको राष्ट्रियताको मुद्दा अघि सारेपछि त्यसको प्रतिवादमा सत्ता गठबन्धनका अर्का नेता नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रखर रुप बाहिर आएका छन् ।

एमाले अध्यक्ष ‌ओलीले कात्तिक १८ मा दार्चुलाको सभाबाट सीमा विवादको कुरा झिकेपछि त्यही दिन भट्टराईले ओली लक्षित गर्दै राजा महेन्द्र र जर्मनीका तानाशाह हिटलरको राष्ट्रवादसँग तुलाना गरेर टिप्पणी गरे । 'देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ ! यदि कसैले चुनावी स्वार्थका लागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं !' भट्टराईले ट्विट गर्दै भनेका छन् ।

दार्चुलाको चुनावी सभा सकेर त्यही दिन कञ्चनपुर झरेका ओलीले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीको स्मरण गरेका थिए । जसलाई उनले कास्की पुगेर सोमबार पनि स्मरण मात्र गरेनन् नाकाबन्दीका बेलामा देउवा भारतसामु घुँडा टेकेर चुँइक्क नबोलेको आरोप लगाए । 'घुँडा टेक्दा सुरुवाल मात्र होइन छाला नै फाट्ने गरि टेके' ओलीले देउवालाई भने ।

सोमबार स्याङ्जा र कास्कीका चुनावी सभामा फेरि सीमा विवाद र नाकाबन्दीसम्मको कुरा ‌ओलीले झिकेपछि सत्ता गठबन्धनका नेता भट्टराई चुप बसेनन् । फेरि टिप्पणी गर्दै 'भूराजनीतिक भुमरी' निम्त्याउन खोजेको उल्लेख गरे । 'यो चुनाव अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो ! एकातिर शान्तिप्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति छन् भने अर्कोतिर द्वन्द्व चर्काउने, संविधान च्यात्ने, भूराजनीतिक भूमरी निम्त्याउने शक्ति छन् । शान्ति र विधिको शासनमा बिनासुशासन र समृद्धि हुन्न । आफ्नो कित्ता रोजौं!' भट्टराईले भनेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्र तीनवटै दलले आफ्नो चुनावी घोषणापत्रमा सीमा विवादको कुरा उल्लेख गरेका छन् । एमाले र माओवादीले लिम्पियाधुरादेखि कालापानी क्षेत्रमा भारतसँगको सीमा विवादबारे उल्लेख गरेका छन् । यता कांग्रेसले भने चीनसँग पनि सीमा विवाद रहेको कुरा घोषणापत्रमै उल्लेख गरेको छ । तीनवटै दलले चुनावी घोषणापत्रमा सीमा विवाद समाधानलाई कूटनीतिक वार्ता माध्यमबाटै समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।

घोषणा पत्रमा जुन शैलीमा यो मुद्दाको समाधानको कुरा गरिएको छ त्यो भन्दा चर्को आयतनमा एमालेले चुनावी सभामा यो विषय उठाउने गरेको छ । यता सत्ता गठबन्धनका नेता भने एमाले नेताहरुले अभिव्यक्तिको खण्डनमा बढ्ता जोड दिइरहेको देखिन्छ ।

एमालेले राष्ट्रियताको विषयमा सत्ता गठबन्धनको धरातल कमजोर रहेको देखाउन खोजिरहेको छ । तर सत्ता गठबन्धन भने यो विषयलाई भोट तान्ने एमालेको अस्त्रको रुपमा बुझिरहेको छ । त्यसैले सत्ता गठबन्धनका नेताहरुले 'संविधानको रक्षा' विषयलाई आफ्नो मूल चुनावी अस्त्र बनाएका छन् । जसरी ओली जहाँ पुग्दा पनि सीमाको कुरा गर्छन्, त्यसैगरी सत्ता गठबन्धनका नेता एमालेको विजय भए संविधान नै धरापमा पर्ने भन्दै मतदातालाई अपिल गरिरहेका छन् ।

मंगलबार चुनावी सभाका लागि कर्णाली प्रदेशको जुम्ला पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले 'संविधान च्यातेर धुजाधुजा' पारेको टिप्पणी्मात्र गरेनन् एमाले अब पत्तासाफ हुने ठोकुवासमेत गरे ।

'७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए' दाहालले सत्ता गठबन्धनको औचित्य उल्लेख गर्दै भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेको अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ ।'

जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन भएको उनको भनाइ थियो ।सत्ता गठबन्धनले एमालेले चुनाव जिते व्यवस्था नै परिवर्तन गर्ने दिशा जाने समेत आरोप लगाउन गरेका छन् । यसका लागि उनीहरुले राप्रपासँग एमाले गरेको चुनावी तालमेललाई त्यसको प्रारम्भिक प्रस्थानविन्दु भन्दै आएका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको छ । धर्मनिरपेक्षताको खारेजी पनि उसको मुख्य माग छ । यस्तो शक्तिसँगको चुनावी तालमेल परिणाममुखी भए व्यवस्था नै बदल्ने दिशमा जाने र विगतमा जस्तै संसद्को पनि घाँटी निमोठ्ने सत्ता गठबन्धनका नेताहरुले उल्लेख गर्ने गरेका छन् ।

जसको प्रतिवाद एमालेले विदेशीसामु झुक्ने, राष्ट्रियता कमजोर पार्ने र विकास तथा समृद्धिको अवरोधक शक्ति भन्दै सत्ता गठबन्धनलाई चित्रण गर्दै आएको छ ।

तेस्रो मनोविज्ञान

सत्ता र एमाले गठबन्धन विगतको आफ्ना क्रियाकलापमाथि टेकेर एक अर्कालाई कमजोर सावित गर्ने प्रयासमा लागिरहँदा मतदाताहरुमा तेस्रो मनोविज्ञान विकास भइरहेको देखिन्छ । दुवै गठबन्धनले ‍ विगतमा गरेका गतिविधिलाई नराम्रो देख्ने एउटा पंक्ति छ । जुन पंक्तिलाई नयाँ बनेका पार्टी र स्वतन्त्र भनिने उम्मेदवारहरुले क्यास गर्ने प्रयास गरेका छन् ।

वर्षौंदेखि सत्तामा हालिमुहाली गरिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्रले अघि सारेका एजेण्डा फगत उनीहरुले सत्तामा आफ्नो पुनरागमनका लागि मात्र हो भन्नेहरु पनी बढेका छन् । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरुको प्रचारका क्रममा केही स्थानमा मानिसहरुको बाक्लो उपस्थितिले नयाँ विकास भइरहेको मनोविज्ञानको प्रारम्भिक संकेत दिन्छ । यसपटक ४० वर्षमुनिका मतदाताको संख्या झण्डै ४८ प्रतिशत बढी छ । उम्मेदवार भने ४० वर्ष भन्दा बढीका ६८ प्रतिशत छ ।

विषेशगरी दुई गठबन्धनका उम्मेदवार बनेका व्यक्तिहरु पुराना छन् । त्यसैले युवा उमेर समूहमा रहेका मतदाता र दलीय खिचतानीलाई नजिकबाट नियाल्ने मतदाताहरुमा यो तेस्रो मनोविज्ञान झांगिँदो छ ।

गत स्थानीय तहको चुनावमा काठमाडौं, धरान लगायतका नगरमा जसरी स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारहरुलाई पछि पारे त्यसले पनि नयाँ धारप्रति मतदाताको प्रारम्भिक रुझान देखिन्छ । कुनै न कुनै रुपमा सत्ता गठबन्धन र एमालेले जुन मुद्दा उठाएका छन् त्यो फगत सत्ता प्राप्तिको औजारमात्र हो भन्ने बुझाई राख्ने मतदाताहरु बढेको चुनावी रिर्पोटिङहरुमा स्पष्ट झल्किन्छ ।

यदी मतदातामा बढीरहेको तेस्रो मनोविज्ञान चुनावको दिनसम्म बढ्यो र त्यो मतपत्रमा अभिव्यक्त भयो भने अहिले सत्ता र एमाले गठबन्धनले जुन प्रकारको नतिजाको परिकल्पना गरेका छन् त्यो परिणामको रुपमा प्रकट नहुन सक्छ ।

प्रकाशित : कार्तिक २२, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?