ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान देउवाको चुनौती  

डीआर पन्त

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती दिएका छन् । शुक्रबार प्रतिपक्षी दलका नेता ओलीले दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्दै गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताएका थिए । 

ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान देउवाको चुनौती  

शनिबार प्रधानमन्त्री देउवाले डडेलधुराको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीलाई जवाफ फर्काएका हुन् । ओलीप्रति लक्षित गर्दै देउवाले भने ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि !’

कूटनैतिक माध्यमवाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको पनि देउवाले बताए । प्रधानमन्त्रीले भने ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनूचित हो ।' प्रतिपक्षी दलका नेता ओलीले आफ्नो पहिलो चुनावीसभामा लिपुलेकको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताएका थिए । ओलीले एमालेले सरकार बनाएर गुमेको भूमि फिर्ता ल्याउने आश्वासन पनि दार्चुलावासीलाई दिएका थिए । ओलीले राष्ट्रियताका मामिला गठबन्धन दलहरु अनुत्तरदायी भएको आरोप पनि लगाएका थिए ।

एमालेले दार्चुलाबाट प्रचार अभियान सुरु गर्नुअघि प्रधानमन्त्री देउवाले डडेलधुरामा आयोजित पहिलो चुनावीसभामा एमालेले लिपुलेकलाई चुनावी मुद्दा बनाउन सक्ने सम्भावनाका कारण सीमा विवादलाई चुनावी मुद्दा बनाउन नहुने बताएका थिए । लगत्तै दोस्रो दिन ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै यसलाई प्रमुख चुनावी मुद्दा बनाएपछि सत्ता र प्रतिपक्ष दुवै नेताबीच लिपुलेकको विषयमा जुहारी चलेको हो ।

प्रकाशित : कार्तिक १९, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?