कांग्रेसमा शर्माका लागि सिटौला पक्षबाट निरन्तर असहयोगको पृष्ठभूमि, एमालेमा सर्वसम्मत सिफारिस कोइराला पन्छाएर खरेललाई टिकट दिँदा असन्तुष्टि
झापा — झापामा मौसम चिसिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ । चासो र चर्चाको केन्द्रमा भने झापाको निर्वाचन क्षेत्र १ छ । यहाँको चुनावी चासो राष्ट्रियस्तरसम्मै छ । मुख्य प्रतिस्पर्धीका रूपमा एकातिर कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने अर्कातिर एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र खरेल पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता हुन् ।
२०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा यही क्षेत्रबाट पराजित भएका कांग्रेस महामन्त्री शर्मा तेस्रो प्रयास सफल हुने विश्वासमा छन् । तर कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग लामो समयदेखि चलेको अन्तरसंघर्षले असर गर्न सक्ने चिन्ता हटिसकेको देखिँदैन ।
यसअघिका निर्वाचनमा शर्मा पराजित हुनुमा सिटौला पक्षसँगको द्वन्द्वलाई एउटा कारणका रूपमा औंल्याउने गरिन्छ । शर्मा भने सिटौला पक्षले असहयोग गर्ने प्रचारबाजी गलत भएको बताउँछन् । टिकट वितरणदेखि नै सहकार्यमै अघि बढिरहेको उनको भनाइ छ । ‘स्थानीयमा निर्वाचनमा उम्मेदवार बन्न प्रतिस्पर्धा हुँदा केही असन्तुष्टि थियो । अहिले हामी एक ठाउँमा छौं । गठबन्धनका दलहरू एकले अर्कोलाई जिताउन लागेका छौं,’ शर्माले भने, ‘यसले ऊर्जा थपेको छ ।’
झापा–१ का लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रवीन कोइरालालाई पन्छाएर टिकट दिइएका खरेलका लागि सुषुप्त रूपमा रहेको असन्तुष्टिले मत दायाँबायाँ हुने भय छ । खरेल झापा–२ मा सिफारिस भएका थिए । कोइराला प्रदेशसभा सदस्यको उम्मेदवार छन् । खरेल पार्टीभित्र कुनै समस्या नरहेको दाबी गर्छन् । ‘त्यस्तो कुरा रवीनजी र मेरो दिमाग र व्यवहारमा छैन । विपक्षी मित्रले बेलाबेला हल्ला चलाउनुभएको छ,’ उनले भने, ‘उहाँहरू सके प्वाल पारेर, नसके फकाएर वामपन्थी मत लिने रणनीतिमा हुनुहुन्छ ।’ शर्मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पार्टीमा आन्तरिक एकता र सत्ता गठबन्धनको बलमा आफूले चुनाव जित्ने बताउँछन् ।
महामन्त्री शर्मा र पूर्वमहामन्त्री सिटौलाबीच समस्या नरहेको सन्देश दिन दुवैले एउटै मञ्चबाट सम्बोधन गर्ने तयारी गरेका छन् । सिटौला झापा–३ मा उम्मेदवार छन् । सिटौलानिकट मानिने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलका अनुसार भद्रपुरमा कात्तिक २७ मा हुने चुनावी सभामा सिटौला र शर्माले सम्बोधन गर्नेछन् ।
एमालेले यहाँ राप्रपासँग तालमेल गरेको छ । अघिल्लो निर्वाचनमा पनि झापामा एमाले–माओवादीको वाम गठबन्धनसँग राप्रपाको तालमेल थियो । त्यति बेला झापा–१ मा रैथाने कांग्रेस नेता शर्मालाई ओखलढुंगामा जन्मिएका, २०६४ को संविधानसभा निर्वाचनमा ताप्लेजुङमा प्रतिस्पर्धा गरेका माओवादी नेता राम कार्कीले पराजित गरेका थिए । पाँच वर्षअघि एमालेको सहयोग पाएको माओवादीले यसपालि शर्मालाई सघाउँदै छ । एमालेबाट विभाजित एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ । ‘म हारेर हराएको पनि छैन । म कुनै न कुनै रूपमा यहाँको जीवनमा गाँसिइरहेको छु,’ शर्मा भन्छन्, ‘यसले मलाई सहज भएको छ ।’
एमाले उम्मेदवार खरेल स्थानीय निर्वाचनमा प्राप्त जनमतका आधारमा आफूले जित्ने दाबी गर्छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका हिसाबले झापा–१ मा एमाले–राप्रपा बलियो देखिन्छ । त्यही कारण खरेल उत्साहित देखिएका हुन् । ‘स्थानीय चुनावमा अभिव्यक्त जनमत बलियो पक्ष हो,’ उनले भने, ‘अर्को, यो कम्युनिस्ट पार्टीको व्यापक प्रभाव रहेको क्षेत्र पनि हो ।’
२०६४ र २०७० का संविधानसभामा सभासद रहेका खरेलको यो पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो । उनी झापाका हुन् तर उनको घर झापा–१ मा पर्दैन । टिकट पाउनुअघिसम्म उनले झापा–२ का लागि तयारी गरिरहेका थिए । झापा–१ का आकांक्षी कोइरालालाई पार्टी विभाजन हुनुअघि माधव नेपाल समूहमा रहेकै कारण प्रदेशमा झारिएको कतिपय एमाले नेता–कार्यकर्ता बताउँछन् । ‘ओलीको आलोचक भनेर चिनिएको समूहमा रहेकाले कोइरालालाई माइनस गर्न पार्टी नेतृत्वले खरेललाई झापा–१ मा पठाएको हो,’ कोइरालापक्षीय एक जिल्ला नेताले भने ।
महामन्त्री शर्मालाई पनि यहाँबाट चुनाव लड्ने निधो गर्न सहज भएन । गत भदौ १६ मा क्षेत्रीय समितिले प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस गरिसक्दा पनि उनी उम्मेदवार बन्नेमा ढुक्क थिएनन् । ‘सिटौला गुटले सघाउने निधो भएपछि मात्र उहाँ ढुक्कसाथ उम्मेदवारी दिने अवस्थामा पुग्नुभएको हो,’ कांग्रेसका एक स्थानीय नेताले भने । मनोनयन दर्ता गराउन सिटौला र शर्मासँगै झापा झरेका थिए र एकैसाथ कार्यकर्तामाझ उपस्थित भएका थिए ।
शर्मा २०६७ को अधिवेशनमा जिल्ला सभापतिमा सिटौला पक्षका उद्धव थापासँग पराजित भएका थिए । सिटौला पक्षबाट ‘निरन्तर असहयोग’ मा रहेका उनी गत वर्ष पार्टी महाधिवेशनमा संस्थापन र शेखर कोइराला समूह बाहिरबाट महामन्त्रीमा निर्वाचित भए । शर्माले संसद् छिर्ने मौका पाएका छैनन् । उनका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्त्वपूर्ण देखिन्छ । महामन्त्री भएपछि जिल्लामा उनको प्रभाव बढेको र आन्तरिक समस्या मत्थर भएको कार्यकर्ता बताउँछन् । ‘पहिलो चुनाव परिचयको थियो, दोस्रो अनुभवको र यो चुनाव परिणामको हो, पहिलेभन्दा यसपालि मेरा लागि सहज छ,’ शर्माले कान्तिपुरसित भने ।
दुवै पक्ष एकअर्को दलको मत तान्ने कसरतमा छन् । तर दुवैमा सुषुप्त रहेको असन्तुष्टिले मतदानसम्म कस्तो आकार लिन्छ, त्यसमा चुनावी परिणाम निर्भर रहने विश्लेषक बताउँछन् । झापा निवासी वाम बुद्धिजीवी लीला उदासीले चुनावका बेला सधैं दलभित्र अन्तर्घात चुलिने गरेको बताउँछन् । ‘उम्मेदवारले पहिले पार्टीभित्र मिलाउन सक्नुपर्छ, त्यसपछि तालमेल/गठबन्धन गरिएका दलका मतदातालाई विश्वस्त दिलाउन सक्नुपर्छ,’ उनले भने ।
