चितवन-२ का राप्रपा उम्मेदवार अधिकारीको घोषणापत्र : गुन्द्रुक, ढिँडो र सेलरोटीलाई ‘ब्रान्डिङ’ गर्ने

कार्तिक २३, २०७९

रमेशकुमार पौडेल

चितवन — राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन अधिकारीले नेपाली खाना गुन्द्रुक, ढिँडो र सेलरोटीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने उत्पादन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिकारीले जारी गरेको घोषणापत्रमा यी खानाको ब्रान्डिङ, लेबलिङ गर्ने र व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्ने उल्लेख छ । 

‘यी हाम्रा मौलिक खानाहरु हुन् । देशभित्र मन नपाउने कमै छन् । विदेशीले पनि रुचाएका छन् । त्यसैले व्यावसायिक उत्पादन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर लाभ लिन सकिन्छ,’ अधिकारीले भने । त्यसै गरी आधुनिक कृषि उत्पादनलाई बढाउन पकेट क्षेत्र घोषणा गर्ने, चिस्यान केन्द्र र प्रोसेसिङ सेन्टरहरु बनाएर बढी लाभ लिन सक्ने बनाउने उनले बताए । 

रोजगार सिर्जना, पर्यटन विकासमा पनि लाग्ने उनको भनाइ छ । भरतपुरमा कृषिसँग सम्बन्धित मल, विषादीहरु उत्पादन गर्ने काराखाना स्थापना गरेका अधिकारीले आफ्नो ज्ञानका कारण कृषिलाई प्रथामिकतामा राखेर काम गर्ने बताए । ‘कृषिका साथै यो क्षेत्रका लागि आवश्यक पर्ने अन्य धेरै विषय र नीतिगत कुराहरु छन् । त्यसका बारेमा विज्ञहरुसँग सल्लाह गर्दै अगाडि बढ्ने छु,’ ३७ वर्षीय अधिकारीले भने । 

चितवन–२ मा अधिकारीसँगै सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । 

आमनिर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully