काठमाडौँ — लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् ।
भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै उनी किरिया बसेका थिए ।
सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो । आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए । तर, भारतीय पक्षले प्रक्रिया पुर्याउनु पर्ने भन्दै समय लगाएको थियो ।
‘हामीले उनलाई ल्याउन ताकेता गरिरहेका थियौं । भारततिरको प्रक्रिया लामो भएकाले समय लाग्यो,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कान्तिपुरलाई भने । अहिले भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । ‘स्वास्थ्य परीक्षणपछि उनलाई सुरक्षाका साथ घर पुर्याउँछौं,’ पौडेलले भने ।
