बुटवल — लकडाउन लम्बिदै गएपछि एसईई परिक्षा अब कहिले हुने हो थाहा छैन । यही अन्योलताका कारण विद्यार्थीले पढेका छैनन् । लकडाउनमा विद्यार्थीको पढाइ बिथोलिन नदिन केही स्थानीय तहले अनलाइन कक्षा सुरु गरेका छन् ।
रुपन्देहीमा तिलोत्तमा र सैनामैना नगरपालिकाले घरमै बसेर अनलाइन कक्षा लिन मिल्ने गरी कक्षा सञ्चालन गरेका छन् ।
आफ्नो नगरभित्रका सामुदायिक र नीजी दुवै विद्यालयका विद्यार्थीलाई लक्षित गरि तिलोत्तमा नगरपालिकाले १० दिनअघिदेखि अनलाइन कक्षा सञ्चालन गरेको हो । प्रत्येक दिन दिउँसो एक बजेदखि साँझ ६ बजेसम्म अनलाइन कक्षा सञ्चालन हुन्छ । तिलोत्तमा नगरपालिकाको फेसबुक पेज र युटुबबाट कक्षा चल्छ । प्रत्येकमा एकपटकमा एक सय विद्यार्थी जोडिन्छन् । कक्षामा करिब ४० जनासम्मले प्रश्नोत्तर गर्न सक्ने व्यवस्था मिलाइएको छ । विषयगत शिक्षकहरुले पालैपालो पढाउँछन् । अंग्रेजी र नेपाली दुवै माध्ययमबाट पढाइ हुन्छ ।
‘नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, कम्प्युटर गरी ६ वटा विषयमा पढाइ हुन्छ,’ तिलोत्तमा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदीप ढकालले भने, ‘कक्षा कोठामा सरह विद्यार्थीले नजानेको कुरा सोध्न र जिज्ञासा राख्न सक्छन् ।’ सबै कुरा अनलाइनमा छोडिने भएकाले कक्षा सञ्चालन नहुँदा पनि विद्यार्थीहरु इन्टरनेटमा जोडिएर अभ्यास गर्न सक्ने उनले बताए ।
अनलाइनबाट पढाउन शिक्षकहरु शान्ति नमूना माविमा जान्छन् । हरेक शिक्षकले पालैपालो कक्षा लिन्छन् । त्यहाँबाट पढाएको अनलाइन कक्षालाई तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झन्डै २७ सय एसईईको तयारीमा रहेका विद्यार्थीले सिक्ने गर्छन् । अनलाइन प्रविधिबाट पढाउन सबैभन्दा पहिले नगरभित्रका उत्कृष्ट शिक्षक छनोट गरियो । ती शिक्षकलाई अनलाइनबाट कसरी पढाउने भन्नेबारे सिकाइयो । त्यसपछि मात्रै अनलाइन कक्षा सुरु गरेको सूचना प्रविधि अधिकृत ढकालले बताए ।
केही दिन पढाउन असहज मानेका शिक्षकहरुलाई अहिले बानी परिसकेको छ । ‘कक्षा कोठामा पढाएका मान्छे एक्कासी प्रविधि प्रयोग गर्दा सुरुमा नर्भस भयौं,’ शान्ति नमुना माविकी शिक्षक शारदा पाण्डेले भनिन्, ‘अहिले बानी परेको छ ।’
एसईई स्थगितपछि लामो समय घरभित्रै रहेका विद्यार्थीहरु नपढि अन्य क्रियाकलापमै व्यस्त थिए । जसले अभिभावकलाई आजित बनाएको थियो । अनलाइन कक्षाको सञ्चालनपछि भने विद्यार्थीहरु मोबाईल तथा कम्प्युटरको माध्यमबाट कक्षामा संलग्न भएका छन् । अनलाइन माध्यम नयाँ भएकाले पनि विद्यार्थीहरुको मन जितेको छ । शंकरनगर दुर्गादत्त माविकी छात्रा सन्ध्या बस्ताकोटीले किताब पढ्न भन्दा अनलाइन कक्षा सुन्न सहज भएको बताइन् । ‘रमाइलो मानीमानी कक्षामा सहभागी हुन पाइन्छ,’ उनले भनिन्, ‘सम्झन पनि सजिलो भएको छ ।’
यता सैनामैना नगरपालिकाले पनि नौ वटा विद्यालयबाट अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । एक साताअघिदेखि सुरु कक्षा ६ घन्टा चल्छ । नगरभित्र रहेका जोकोही विद्यार्थी आफूले चाहेको विद्यालयको कक्षामा सहभागी हुन मिल्ने व्यवस्था गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । ‘अनलाइन कक्षमा शिक्षक र विद्यार्थी एक अर्काले प्रश्नोत्तर गर्न मिल्छ । नजानेका र प्रष्ट नभएका कुरा दोहोराउन सकिन्छ,’ उनले भने, ‘त्यसैले यो प्रविधि प्रभावकारी बनेको छ ।’
उता, तानसेन नगरपालिकाले दूर शिक्षा पाठशाला रेडियो कार्यक्रम सुरु गरेको छ । सामुदायिक रेडियो मदनपोखराको सहकार्यमा एसईईका परीक्षार्थीलाई लक्षित गरी कार्यक्रम सुरु गरेको हो । रेडियोले हरेक दिन बिहान सवा १० बजेदेखि दिउँसो ४ बजेसम्म रेडियोमार्फत कक्षा सञ्चालन गर्छ ।
जसमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र कम्यूटर विषयको पठनपाठन गरिएको छ । हरेक विषय हरेक दिन ४५ मिनेट पढाइ हुन्छ । रेडियो कार्यक्रम सुन्दै गरेका विद्यार्थीले पढाएको नबुझे र कुनै प्रश्न सोध्नुपरे तत्कालै सोध्न सक्छन् र उत्तर पाउँछन् । कतिपय गाह्रो प्रश्नको उत्तर अर्को दिनको कक्षामा शिक्षकले सुनाउने गरेका छन् ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यान पढाइबाट बाहिर नजाओस् भनेर रेडियोबाट पढाउन थालिएको बताए । ‘परीक्षा स्थगित भएपछि विद्यार्थी अन्योलमा भए । अभिभावक तनावमा,’ उनले भने, ‘अनलाइन कक्षाले विद्यार्थीहरु उत्साहित बनेका छन् । छोडेको पढाइ सुरु गरेका छन् ।’
तानसेन नगरपालिकाले सुरु गरेको सामुदायिक रेडियोको यस कार्यक्रमलाई पछिल्लो समय पाल्पाको रामपुर र मुक्तिनाथ, गुल्मीको गुल्मी, रुरु र श्रृंगेश्वर, बाग्लुङको रेडियो सारथीले पनि प्रत्यक्ष प्रसारण गरेको स्टेसन प्रबन्धक राजेश कुमार अर्यालले बताए।
याे पनि पढ्नुहाेस् ः
