कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकामा नेपालीको क्रन्दन 

हिक्मत थापा

डेमोक्रेटिक रिपब्लिक अफ कंगोका एक नेपाली साथीसँग भर्खरै च्याट भयो । उनले निराश हुँदै भने, ‘हिजो बेलुकी मात्रै एक भारतीय साथीको कोरोनाले मृत्यु भयो । औषधी गर्न अस्पताल पनि भेटिएन । भएको एउटै अस्पतालका सबै डाक्टर संक्रमित भएर कोही क्वारेन्टाइन, कोही आइसोलेसनमा  बसेका रहेछन् । बिरामी भइएको छ तर उपचारमा जाने अस्पतालै छैन ।’

अफ्रिकामा नेपालीको क्रन्दन 

जीवन–मरणको स्थिति आएपछि अब आफ्नै गाउँठाउँमा फर्कने निधो भयो । त्यसका लागि कंगोको कूटनीतिक सहप्रमाणीकरण मामिला हेर्ने दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा निवेदन पठाइयो । दिनहरू बितेर गए तर दूतावासबाट कुनै सुनुवाइ भएको छैन ।

दुई सातायता हामीले एउटा ‘अफ्रिका ग्रुप–च्याट’ बनाएका छौं । यो समूहमा जन्जिबारका एक जना साथी पनि थिए । एकाएक उनी कुराकानीबाट अलग्गिए । उनको गुनासोपछि थाहा भयो, ‘टिकट खर्च आफैं बेहोर्छु’ भन्दा पनि नसमूहले घर फर्कन सक्ने प्रबन्ध गर्न सक्यो न त कहीँकतैको गैरआवासीय नेपाली संघले कुनै उपाय दिन सक्यो । बेकारको रोइलो गरेर बस्नुभन्दा ग्रुपबाटै बाहिर निस्कनु बेस भनेर उनी अलग्गिएका रहेछन् । यस्तो कठिन बेलामा केही भनेर सम्झाउन पनि सकिएन । किनभने आश्वासन मात्रैले केही हुने स्थिति पनि छैन ।

आज कस्तो अनौठो अवस्था सामुन्ने छ भने हाम्रो आफ्नै सरकारले हामीलाई नचिनेको हो कि झैं स्थिति देखिएको छ । राष्ट्रपति, प्रधानमन्त्री तहमा बाहिरी विश्वमा रहेका नेपालीको स्थितिबारे कुराकानी भइरहेको समाचारमा पढिन्छ । तर, यो बाहिरी विश्वमा अफ्रिका महादेश, अफ्रिकी मुलुकहरू नपर्ने रहेछन् कि भन्ने बोध भएको छ ।

हिजो अफ्रिकाका दुईमध्ये म बसेको भूगोलका आधारमा नजिकको नेपाली दूतावासमा फोन गरेँ । एक अधिकृतले फोन उठाए । आफ्नो नाम र यो देश (नाइजेरिया) बाट भन्दै थिएँ, उताबाट ठाडो जवाफ आयो– ‘तपाईंलाई अर्को दूतावास नजिक पर्छ । उता फोन गर्नुस् न ।’

यो महामारीका बेला संकटबोध गरेरै आफ्नो दूतावासमा फोन गरिएको हुन्छ । हाई–हेल्लो वा भलाकुसारी गर्न होइन । दूतावासमा फोन गर्नुको अपेक्षा आवश्यक सहयोग र सूचना पाइन्छ कि भन्ने हो । तर, सरकारी अधिकारी स्वयम् तर्किएको स्वरमा ‘यता होइन उता’ भनिरहेछन् । यो जवाफले दिक्क बनाउँछ नै ।

आइभोरी कोस्टका नेपाली साथीहरूको चिन्ता पनि उस्तै छ । त्यहाँ पनि संक्रमण बढ्दो छ । न सरकारले ‘लकडाउन’ गरेको छ न त जनताले सावधानी अपनाएका छन् । साथीले त्यहाँको डरलाग्दो स्थिति सुनाइरहेका थिए । ‘आफू सजग रहनुहोला, सावधान रहनुहोला’ भन्नुबाहेक विकल्प थिएन । त्यत्रो आन्तरिक द्वन्द्व, हजारौंको हत्या र लाखौंको आन्तरिक विस्थापन बेहोरेको समाजका लागि यो प्रकोपलाई सामान्य ठानिएको होला ।

वास्तवमा अफ्रिकी देशहरूमा स्वास्थ्य सुविधा, उपकरण, अस्पताल तथा चिकित्सकको उपलब्धता एकदमै न्यून छ । कोरोना भाइरस संक्रमणका कारण चीन, अमेरिका, युरोपपछि अब अफ्रिकी मुलुकहरू महमारीको इपिसेन्टर बन्दै छन् । अफ्रिकाभरका ५४ मध्ये ४० भन्दा बढी राष्ट्रमा नेपालीको उपस्थिति देखिन्छ, अधिकांशतः दक्ष कामदारका रूपमा । यहाँ ७ हजारभन्दा बढी नेपाली छन् ।

आज अफ्रिकी मुलुकमा बस्ने धेरै नेपालीको समवेत स्वर सुनिन्छ– यताको स्थिति अझ असहज बन्दै गएमा के गर्ने ? कता जाने ? कसरी जीवन धान्ने ? किनभने आफ्नै सरकारले पनि अहिलेसम्म हामीमाथि सरोकार देखाएको छैन । आज अमेरिकाजस्तो सुविधासम्पन्न देशमा त हाम्रा दाजुभाइ अस्पतालले भर्ना लिन नमानेका कारण उपचारहीन भएर ज्यान गुमाइरहेका छन् । यस बेला आफैमा दह्रो आत्मविश्वास राख्नुबाहेक के नै गर्न सकिन्छ र ?

यी तमाम निराशाका बीच यो साता अफ्रिकाका साथीहरू मिली एनआरएनए अफ्रिका राहत कोष बनाएका छौं । १० हजार डलरभन्दा बढी रकम जम्मा भइसकेको छ । आपसी सहयोग, उद्धार र समन्वयको कुरामा यो विपत्ति कोष पनि एउटा आत्मविश्वासको सेतु बनेको छ । तर, यो स्रोतसाधन र मुस्किलले जोडिएको आत्मविश्वासका माझ हामीले अरू केही होइन, आफ्नो राज्यको, आफ्नो सरकारको उपस्थिति बोध गर्न चाहेका छौं । इजिप्ट र दक्षिण अफ्रिकामा रहेका दुई दूतावासका कार्यक्षेत्र, परिधि र बाध्यता आफ्नै होलान् तर हामीलाई केही संकट आइपर्दा हामीलाई हाम्रो नेपाल सरकारले उद्धार र जीवनरक्षा गर्नेछ भन्ने झिनो आशाभरोसा मात्रै चाहेका हौं । अरू सहज बेलामा त आफैंले परेको जे पनि गर्न सकिएकै हो । यो मुस्किलको घडीमा आफ्नो मुलुकको ‘प्रिजेन्स’ सम्झिएका मात्रै हौं ।

(एक दशकयता नाइजेरियाको लागोसमा बस्दै आएका थापा गैरआवासीय नेपाली अभियन्ता हुन्)

प्रकाशित : वैशाख ७, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?