कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चितवनका संक्रमितसँग भेटेका ३२८ जनाले टिपाए विवरण

परिवारका आठ सदस्यको आरडीटी नेगेटिभ
रमेशकुमार पौडेल

चितवन — चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण गरिरहँदा वडा कार्यालयले थप त्यस्ता व्यक्तिको विवरण संकलन गर्दै छ ।

चितवनका संक्रमितसँग भेटेका ३२८ जनाले टिपाए विवरण

राप्ती नगरपालिका–८ का उनीहरू चैत ३ गते लन्डनबाट काठमाडौं झरी दुई दिनपछि चितवन आएका हुन् ।

स्वास्थ्य कार्यालयप्रमुख दीपक तिवारीका अनुसार शनिबार आठ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती उनीहरूका परिवार सदस्य हुन् । आरडीटी रिपोर्टकै आधारमा ढुक्न हुन नसकिने तिवारी बताउँछन् । ‘उहाँहरू पनि क्वारेन्टाइनमै हुनुहन्छ । केही समयपछि पीसीआर गरेर नै हेर्ने हो,’ उनले भने ।

भरतपुर अपस्पतालको आइसोलेसन वार्डमा रहेका ६१ वर्षीया महिला र उनका २७ वर्षे छोरासँग शनिबार स्वास्थ्य कार्यालयका अधिकारीहरूले भेट गरेका थिए उनीहरू नेपाल आएपछि कहाँकहाँ गए र कसलाई भेटे भन्नेबारे प्रारम्भिक जानकारी बटुलिएको तिवारीले बताए । ‘आफन्त तीन परिवारसँग निकै घुलमिल भएको देखिन्छ । त्यस्ता ११ जना व्यक्ति रहेछन् । पहिलो चरणमा उनीहरूलाई परीक्षण गर्दै छौं,’ उनले भने ।

काठमाडौं झरेकै दिन उनीहरूको हङकङबाट आएका अर्का छोरासँग भेट भएको थियो । पीसीआर परीक्षणमा ती छोरामा भने संक्रमण देखिएन ।

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका आमाछोरामा बेलायतबाट आएको महिनादिन बित्दा पनि रोगको लक्षण नदेखिएको चिकित्सक बताउँछन् । ‘स्वास्थ्यका हिसाबले उहाँहरू हामीभन्दा कता हो कता तन्दुरुस्त देखिनुहुन्छ । कोरोनाको कुनै लक्षण देखिँदैन,’ अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भने ।

बेलायतबाट फर्केको महिना दिनपछि कोरोना संक्रमण पुष्टि

यस्तो छ ट्राभल हिस्ट्री

स्वास्थ्य कार्यालयले जुटाएको विवरणअनुसार काठमाडौं झरेपछि तीनै आमाछोरा सुन्धाराको गेस्टहाउसमा बस्छन् । चैत ५ गते चितवनतिर लाग्छन् । सुन्धाराबाट कलंकीसम्म ट्याक्सी र त्यहाँबाट माइक्रो चढ्छन् ।

उनीहरूको घर पूर्वपश्चिम राजमार्गको सिमलटाँडीबाट तीन किमि उत्तरमा पर्छ । राजमार्गबाट घरसम्म आफन्तले मोटरसाइकलमा पुर्‍याउँछन् ।

वडाध्यक्ष बुद्धिराज थपलियाका अनुसार विदेशबाट आएका व्यक्तिहरूको विवरण लिने सिलसिलामा उनीहरूको पनि पहिचान भएको थियो । वडाकै निर्देशनमा उनीहरू चैत १० पछि होम क्वारेन्टाइनमा बसेका थिए । थर्मल गनले नाप्दा उनीहरूमा ज्वरो थिएन । क्वारेन्टाइनमा १७ दिन बसेपछि वैशाख ३ गते आरडीटी गरिने भयो । सुरुमा उनीहरूले आफूहरू स्वस्थ रहेको भन्दै आनाकानी गरेका थिए । तर महिलामा एन्टीबडी पोजिटिभ देखिएपछि दुई छोराको पनि स्वाब परीक्षण गरिएको हो ।

अहिलेसम्म ३२८ जनाले आफूहरू संक्रमितसँग सम्पर्कमा रहेको भनी विवरण टिपाएको वडाध्यक्ष थपलियाले बताए । तीमध्ये ५२ जनासँग उनीहरूको बढी घुलमिल भएको देखिन्छ । ‘विवरण आइरहेका छन् । ती कति सत्य हुन् भनेर बुझ्दै छौं,’ उनले भने, ‘परीक्षण सुरु गर्ने र क्वारेन्टाइनमा राख्ने काम अगाडि बढेको छ ।’

राप्ती नगरपालिकाले पिप्लेमा क्वारेन्टाइन बनाएको थियो । संक्रमितहरू फेला परेको ब्रह्मपुर गाउँभन्दा पिप्ले धेरै टाढा छ । त्यसैले ब्रह्मपुरकै स्कुलमा क्वारेन्टाइन बनाउने तयारी सुरु गरिएको वडाध्यक्ष थपलियाले बताए । ‘लक्षण नदेखिए पनि संक्रमण भेटिएका कारण उनीहरूसँग सम्पर्कमा आएका सबैको राम्रोसँग परीक्षण हुनुपर्‍यो भन्ने माग वडाबासीको छ,’ थपलियाले भने ।

प्रकाशित : वैशाख ७, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?