चितवनका संक्रमितसँग भेटेका ३२८ जनाले टिपाए विवरण- समाचार - कान्तिपुर समाचार

चितवनका संक्रमितसँग भेटेका ३२८ जनाले टिपाए विवरण

परिवारका आठ सदस्यको आरडीटी नेगेटिभ
रमेशकुमार पौडेल

चितवन — चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण गरिरहँदा वडा कार्यालयले थप त्यस्ता व्यक्तिको विवरण संकलन गर्दै छ ।

राप्ती नगरपालिका–८ का उनीहरू चैत ३ गते लन्डनबाट काठमाडौं झरी दुई दिनपछि चितवन आएका हुन् ।

स्वास्थ्य कार्यालयप्रमुख दीपक तिवारीका अनुसार शनिबार आठ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती उनीहरूका परिवार सदस्य हुन् । आरडीटी रिपोर्टकै आधारमा ढुक्न हुन नसकिने तिवारी बताउँछन् । ‘उहाँहरू पनि क्वारेन्टाइनमै हुनुहन्छ । केही समयपछि पीसीआर गरेर नै हेर्ने हो,’ उनले भने ।

भरतपुर अपस्पतालको आइसोलेसन वार्डमा रहेका ६१ वर्षीया महिला र उनका २७ वर्षे छोरासँग शनिबार स्वास्थ्य कार्यालयका अधिकारीहरूले भेट गरेका थिए उनीहरू नेपाल आएपछि कहाँकहाँ गए र कसलाई भेटे भन्नेबारे प्रारम्भिक जानकारी बटुलिएको तिवारीले बताए । ‘आफन्त तीन परिवारसँग निकै घुलमिल भएको देखिन्छ । त्यस्ता ११ जना व्यक्ति रहेछन् । पहिलो चरणमा उनीहरूलाई परीक्षण गर्दै छौं,’ उनले भने ।

काठमाडौं झरेकै दिन उनीहरूको हङकङबाट आएका अर्का छोरासँग भेट भएको थियो । पीसीआर परीक्षणमा ती छोरामा भने संक्रमण देखिएन ।

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका आमाछोरामा बेलायतबाट आएको महिनादिन बित्दा पनि रोगको लक्षण नदेखिएको चिकित्सक बताउँछन् । ‘स्वास्थ्यका हिसाबले उहाँहरू हामीभन्दा कता हो कता तन्दुरुस्त देखिनुहुन्छ । कोरोनाको कुनै लक्षण देखिँदैन,’ अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भने ।

बेलायतबाट फर्केको महिना दिनपछि कोरोना संक्रमण पुष्टि

यस्तो छ ट्राभल हिस्ट्री

स्वास्थ्य कार्यालयले जुटाएको विवरणअनुसार काठमाडौं झरेपछि तीनै आमाछोरा सुन्धाराको गेस्टहाउसमा बस्छन् । चैत ५ गते चितवनतिर लाग्छन् । सुन्धाराबाट कलंकीसम्म ट्याक्सी र त्यहाँबाट माइक्रो चढ्छन् ।

उनीहरूको घर पूर्वपश्चिम राजमार्गको सिमलटाँडीबाट तीन किमि उत्तरमा पर्छ । राजमार्गबाट घरसम्म आफन्तले मोटरसाइकलमा पुर्‍याउँछन् ।

वडाध्यक्ष बुद्धिराज थपलियाका अनुसार विदेशबाट आएका व्यक्तिहरूको विवरण लिने सिलसिलामा उनीहरूको पनि पहिचान भएको थियो । वडाकै निर्देशनमा उनीहरू चैत १० पछि होम क्वारेन्टाइनमा बसेका थिए । थर्मल गनले नाप्दा उनीहरूमा ज्वरो थिएन । क्वारेन्टाइनमा १७ दिन बसेपछि वैशाख ३ गते आरडीटी गरिने भयो । सुरुमा उनीहरूले आफूहरू स्वस्थ रहेको भन्दै आनाकानी गरेका थिए । तर महिलामा एन्टीबडी पोजिटिभ देखिएपछि दुई छोराको पनि स्वाब परीक्षण गरिएको हो ।

अहिलेसम्म ३२८ जनाले आफूहरू संक्रमितसँग सम्पर्कमा रहेको भनी विवरण टिपाएको वडाध्यक्ष थपलियाले बताए । तीमध्ये ५२ जनासँग उनीहरूको बढी घुलमिल भएको देखिन्छ । ‘विवरण आइरहेका छन् । ती कति सत्य हुन् भनेर बुझ्दै छौं,’ उनले भने, ‘परीक्षण सुरु गर्ने र क्वारेन्टाइनमा राख्ने काम अगाडि बढेको छ ।’

राप्ती नगरपालिकाले पिप्लेमा क्वारेन्टाइन बनाएको थियो । संक्रमितहरू फेला परेको ब्रह्मपुर गाउँभन्दा पिप्ले धेरै टाढा छ । त्यसैले ब्रह्मपुरकै स्कुलमा क्वारेन्टाइन बनाउने तयारी सुरु गरिएको वडाध्यक्ष थपलियाले बताए । ‘लक्षण नदेखिए पनि संक्रमण भेटिएका कारण उनीहरूसँग सम्पर्कमा आएका सबैको राम्रोसँग परीक्षण हुनुपर्‍यो भन्ने माग वडाबासीको छ,’ थपलियाले भने ।

प्रकाशित : वैशाख ७, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना प्रकोप : शनिबार दक्षिण कोरियामा ८ र चीनमा १६ जनामा मात्रै संक्रमण

एजेन्सी

बेइजिङ — दक्षिण कोरियामा पछिल्लो २ महिनामा पहिलो पटक शनिबार ८ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरियाको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार फेब्रुअरी १८ देखि यता पहिलो पटक एक अंकमा संक्रमण देखिएको जनाएको छ ।

आइतबार बिहानसम्म दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ६ सय ६१ पुगेको छ । त्यस्तै शनिबार थप २ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट दक्षिण कोरियामा मृतकको संख्या २३४ पुगेको छ । कोरियामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालेको विश्लेषण गरिएको छ । कोरोना नियन्त्रणविरुद्ध प्रभावकारी कदम चालेको भन्दै राष्ट्रपति मुन जाय इनको डेमोक्रेटिक पार्टीलाई त्यहाँका नागरिकले प्रचण्ड बहुमत दिएका छन् ।

चीनमा १६ जना मात्रै संक्रमित

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार शनिबार १६ जनाको मात्रै मृत्यु भएको छ । स्वास्थ्य आयोगका अनुसार मार्च १७ यता सबैभन्दा कमको मृत्यु भएको हो । त्यस्तै शनिबार कोरोना भाइरसको संक्रमणबाट चीनमा कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । आइतबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ७ सय ३५ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७७ हजार ६२ जना निको भएको पनि चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

शनिबार संक्रमण पुष्टि भएका १६ जनामध्ये ९ जना बाहिरबाट आएका व्यक्ति भएको पनि स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ३८ हजार ९ सय १० को मृत्यु भएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख ३५ हजार ८६ पुगेको छ । त्यस्तै ६६ हजार ६ सय ४ जना निको भएका छन् ।

त्यस्तै इटालीमा आइतबार बिहानसम्म २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ७५ हजार ९ सय २५ रहेको छ । कोरोना संक्रमणपछि इटालीमा निको हुनेको संख्या ४४ हजार ९ सय २७ रहेको छ ।

त्यस्तै आइतबार बिहानसम्म कोरोना संक्रमणबाट २० हजार ६ सय ३९, फ्रान्समा १९ हजार ३ सय ४९, बेलायतमा १५ हजार ४ सय ९८, बेल्जियममा ५ हजार ४ सय ५३, इरानमा ५ हजार ३१ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार ७ हजार एक सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार ५ सय ३९ पुगेका छन् । त्यस्तै संक्रमणपछि निको हुनेको संख्या ५ लाख ९५ हजार २ सय २९ जना निको भएका छन् ।

प्रकाशित : वैशाख ७, २०७७ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×