रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र

वैशाख ७, २०७७

हरि गौतम

रुकुम पूर्व — दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३ र ४ तथा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको १ र २ नम्बर वडाका युवा भारत केरालाको त्रिसुर जिल्ला बालुरमा छन् । दुई जिल्लाको दुई गाउँपालिकाका यी ४ वडा आपसमा जोडिएका वडा हुन् । कामकाज चलिरहेका बेला लकडाउन भएपछि उनीहरु घर फर्कन पाएनन् । भारत भन्दा नेपालले पछि लकडाउन गरेको थियो । पूर्व सूचना नै नगरी लकडाउनमा परेपछि उनीहरु यता न उता भएका छन् ।

सिस्ने गाउँपालिकाको ३ र ४ का ३ सय बढी युवाले त्यहाँ काम गर्थे भने बाँफिकोट गाउँपालिकाका १ र २ का २ सय बढी युवा बालुरमा विभिन्न काम गर्ने गर्दछन् । भारतमा लकडाउन भएदेखि नै उनीहरु कामविहीन बनेका छन् । बसेर खाँदा भएको पैसा पनि सकिएको छ भने सहयोगी पनि कोही छैनन् । होटलमा काम गर्नेहरु भन्दा ज्यालादारी गर्नेहरु थप समस्यामा परेका छन् । कोरोना भाइरस फैलिरहेका बेला एउटै कोठामा १५/१६ जना बस्नुपर्ने बाध्यता छ । चाहेर पनि दूरी कायम गर्ने र सतर्क हुने अवस्था नरहेको उनीहरुले बताएका छन् । स्थानीय ढोका थुनेर घरमा बसेका छन् भने नेपालीहरु भने एउटै कोठामा उकुसमुकुस भएर बस्नुपर्ने अवस्था छ कि त खुला ठाउँमा गएर बस्नुपर्ने बाध्यता छ । बाहिर निस्कँदा प्रहरीले समस्या बनाउने गरेको छ । 


‘हामी वरपरका मात्रै ५ सय बढी छौं । काम छैन । रासन पानी पनि सकिन थाल्यो,’ सिस्ने गाउँपालिका–३ का धनबहादुर खड्काले भने, ‘काम भइरहेकै बेला लकडाउन भएपछि घर न घाटको भइएको छ ।’ यीमध्ये कति त परिवारसहित छन् । श्रीमान, श्रीमती र छोराछोरी हुनेहरुलाई झन समस्या परिरहेको खड्काले जानकारी दिए । समस्या बढ्दै गएपछि नेपाल सरकार र स्थानीय सरकारले उद्दार गर्छ कि भन्ने आशमा आफूहरु बसिरहेको उनको भनाइ छ । लामो समयदेखि बिना कामै बस्नुपर्दा कमाएको पैसा पनि सकिएपछि गाडी भाडासम्म नभएकाहरु पनि छन् । होटल बन्द छन् भने स्थानीयले पनि काम दिन मानेका छैनन् । होटल बाहेकमा काम गर्नेहरुले बालुरका स्थानीयको दाउरा चिर्ने, रुख काट्ने, चका (रुख कटहर) टिप्ने, आँप टिप्ने, नरिवल टिप्ने, मरिच टिप्ने, धान काट्ने जस्ता काम गर्ने गर्दछन् । होटल तथा कम्पनीका काम गर्नेहरुले पनि बस्ने सुविधा मात्रै पाइरहेका छन् । घर फर्कने तयारी भइरहेका बेला भएको लकडाउनले समस्या बनाएको बाँफिकोट गाउपालिका–२, का तिलक केसीले बताए।

हिउँदे बाली लगाएर त्यहाँ पुगेकामध्ये अधिकांश हिउँदे बाली भित्र्याउन र वर्षे बाली लगाउने घर आउने गर्दछन् । हिउँदे बाली भित्र्याउने गरी आउने तयारीमा रहेकाहरु लकडाउनमा फसेको केसीले बताए । आफूहरु उद्दार हुने खबरको प्रतिक्षमा रहेको पनि उनीहरुले बताएका छन् । भारतले मार्च २० अर्थात गत चैत्र ७ गतेदेखि लकडाउन गरेको थियो । परिवारका सदस्यहरुले एक महिनादेखि भारतमा अलपत्र परेपछि घरपरिवार पनि चिन्तामा छन् । अर्काको देश कामविहीन बस्दा समस्या बन्दै गएको सिस्ने गाउँपालिका–४, का दलबहादुर बुढाले बताए । फुर्सदको समयमा कमाउन गएकाहरु उल्टै समस्यामा परेपछि हरेक घरपरिवारमा चिन्ता थपिएको बुढाको भनाइ छ। 

हरि

Link copied successfully