काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका १८ जना माल्दिभ्सका नागरिकलाई नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज एयरबस ए–३२० ले बंगलादेशको ढाकासम्म पुर्याइदिने भएको छ ।
निगमको संस्थागत विभागकी निर्देशक अर्चना खड्काका अनुसार निगमको जहाज अहिले (आइतबार) १० बजे काठमाडौंबाट ढाका उड्ने छ । ढाकाबाट ती १८ जना अर्को विमानबाट माल्दिभ्सस्थित माले अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भनिएको छ ।
निगमले काठमाडौंमा रहेको माल्दिभ्सको दुताबासको अनुरोधमा यो चार्टर उडान गर्न लागेको हो । निगमको जहाज ढाकाबाट रित्तै फर्किने छ ।
यसअघि वैसाख २ गते निगमले चार्टर उडानबाट काठमाडौंमा अलपत्र परेका ३४ जना ब्राजिलका नागरिकलाई पनि दिल्लीसम्म पुर्याइदिएको थियो ।
सरकारले लकडाउनमा व्यवसायिक उडानमा रोक लगाएको छ । तर, बिरामी, उद्धार, कार्गो तथा मानवीय सहायतासम्बन्धि चार्टर उडानलाई भने अनुमति दिने गरेको छ ।
लकडाउन यता २५ वटा अन्तर्राष्ट्रिय चार्टर उडानबाट ४१ सय ५४ जनाको उद्धार भइसकेको छ ।
