आरडीटी किट सकिँदा रोकियो परीक्षण

१० हजार किट मागेकामा ३ हजार पठाउँदै संघीय सरकार । २ हजार ७२४ को परीक्षण गर्दा १ जनामा पोजिटिभ

वैशाख ७, २०७७

विप्लव महर्जन, कलेन्द्र सेजुवाल

सुर्खेत र सल्यान — र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट सकिँदा कोभिड–१९ को परीक्षण सुर्खेत, सल्यान र मुगुमा स्थगित भएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अन्य जिल्लामा पनि आइतबारसम्मका लागि मात्र किट स्टक छ ।

निर्देशनालयका अनुसार पहिलो चरणमा करिब ५ हजार आरडीटी किट सबै जिल्लामा पठाइएको थियो । तीमध्ये शुक्रबारसम्म २ हजार ७ सय २४ को परीक्षण भई रिपोर्टसमेत आइसकेको छ । मुगु, खत्याडका एक जनाको बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘अब थोरै किट मात्र स्टक छ,’ निर्देशनालयकी निर्देशक रीता भण्डारीले भनिन् ।

सुर्खेतमा सबैभन्दा बढी १ हजार २ सय जनाको आरडीटी किटबाट परीक्षण भएको छ । सुरुमा १ हजार किट दिइएकामा अपुग भएपछि २ सय ६० थप गरिएको निर्देशक भण्डारीले बताइन् । मुगुको खत्याडमा एक जनामा ‘एन्टिबडी’ पोजिटिभ देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणमा तीव्रता दिने योजना बनाएको थियो । तर जिल्लामा पठाइएका १ सय ४० किट शुक्रबार सकिएपछि परीक्षण रोकिएको कार्यालय प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार अहिले ७ वटा किटमात्र बाँकी छन् । ‘थप किट मागिरहेका छौं तर सुर्खेतमा पनि पर्याप्त छैन भन्ने खबर आएको छ,’ उनले भने ।

निर्देशनालयले भने कालीकोट र जुम्लाका लागि पठाइएका किटबाट सयवटा मुगुमा पठाएको जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली ती किट लिएर शुक्रबार जुम्लाबाट मुगुतिर हिँडेको छ । डा. नगरकोटीका एन्टिबडी पोजिटिभ देखिएका खत्याडका ती व्यक्तिसँगै ५५ जना पनि गाउँमा पुगेका थिए । उनीहरूको अहिलेसम्म परीक्षण हुन सकेको छैन ।

कालीकोटमा ४ सय किट पठाइएकामा शुक्रबारसम्म १ सय ६ वटाको परीक्षण भइसकेको छ । ६० किट मुगुका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार चैत १ गतेसम्म ३ सय ३२ जना व्यक्ति भारतलगायत संक्रमित मुलुकबाट जिल्लामा भित्रिएका थिए । त्यसपछि आएका व्यक्तिको संख्या संकलन गरी अपडेट गर्ने काम भइरहेको छ । जिल्ला स्वास्थ्यले भने अपेक्षित रूपमा परीक्षण तीव्र पार्न सकेको छैन । प्रजिअ पौडेलले पहिलो चरणमा विदेशबाट आएका सबै व्यक्तिको आरडीटी किटबाट परीक्षण गर्न खोजिएको बताए ।

सल्यानमा ६ सय किट पठाइएकामा शनिबारसम्म ८० किट मात्र स्टक छन् । जिल्लामा स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार लकडाउन अघि र पछि गरेर भारतलगायत देशबाट करिब ९ सय व्यक्ति भित्रिएका छन् । अहिले पनि मान्छे लुकिछिपी आउने गरेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयले बिहीबारदेखि भारतलगायत देशबाट आएकाहरूको द्रुत परीक्षण सुरु गरेको थियो । शनिबारसम्म दार्मा, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, कुमाख र सिद्धकुमाख गाउँपालिकाका ५ सय १८ जनाको परीक्षण सकिएको जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढामगरले बताए । उनका अनुसार किट अपुग भएपछि शारदा, बागचौर, बनगाडकुपिण्डे र कालीमाटीमा परीक्षण हुन सकेको छैन ।

‘विदेशबाट आएकामध्ये आधाको पनि परीक्षण हुन सकेको छैन,’ उनले भने, ‘हामीले प्रदेश स्वास्थ्य निर्देशनालयसँग किट मागेका छौं, आएपछि परीक्षण फेरि सुरु हुनेछ ।’

जाजरकोटमा ३ सय किट पठाइएकामा विदेशबाट फर्किएका २ सय ५० जनाको परीक्षण सकिएको छ । किट अभाव भएपछि परीक्षण स्थगित भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख टीकाराम जैसीका अनुसार भेरी, छेडागाड, नलगाड, जुनिचाँदे र बारेकोटमा मात्र परीक्षण भएको छ ।

डोल्पामा भने शुक्रबार बल्ल किट पुर्‍याइएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. सिजन रावलका अनुसार स्थलमार्गबाट १ सय ४० सय किट पुर्‍याइएकामा पहिलो दिन ३ जनाको परीक्षण भएको छ । तीनै जनाको नतिजा नेगेटिभ आएको छ । उनका अनुसार क्वारेन्टाइनमा मात्र करिब १ सय ३० जना बसेका छन् । केही व्यक्ति भारतबाट समेत आएका छन् । भारतबाट आएका, क्वारेन्टाइनमा बसिरहेका र अन्य केही सम्भावितको परीक्षण गर्न पहिलो चरणमा करिब ५ सय किट चाहिने उनले बताए ।

‘मेडिकल मार्च’ प्रभावित हुने चिन्ता

कर्णाली प्रदेश सरकारले आरडीटी किटसहित चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोलीलाई गाउँगाउँ परिचालन गर्ने योजना बनाएको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार

‘मेडिकल मार्च’ नाम दिइने यो अभियानका लागि संघीय सरकारसँग तत्काल १० हजार किट माग गरिएको छ ।

एकातिर ‘मेडिकल मार्च’ को योजना र अर्कोतिर अहिल्यै किट अभाव भएको अवस्थामा संघीय सरकारले भने ३ हजार किट मात्र पठाउने भएको छ । ती किट पनि कहिले सुर्खेत आउँछन् भन्ने थाहा नभएको निर्देशक भण्डारीले बताइन् ।

मन्त्री रावलका अनुसार कर्णालीमा करिब २ सय जना चिकित्सक कार्यरत छन् । हाल अस्पतालका ओपीडी (बहिरंग) सेवा बन्द भई चिकित्सक र स्वास्थ्यकर्मी फुर्सदिला भएको अवस्थामा उनीहरूलाई गाउँमा पठाउने योजना बनाइएको मन्त्री रावलले बताए । ‘डाक्टरहरू गाउँ पुगे जनतामा रहेको त्रास हट्छ र कोभिड–१९ को पहिचानमा पनि मद्दत पुग्छ,’ उनले भने, ‘यसका लागि मन्त्रालयले चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीको लगत संकलन गरिसकेको छ ।’ कर्णालीमा स्वास्थ्यकर्मीको अभाव रहेको भन्ने भ्रम हटाउन पनि मेडिकल मार्च अभियान थालिने उनको भनाइ छ । संघीय सरकारबाट मागेजति किट आउनेबित्तिकै स्वास्थ्यकर्मीको टोलीलाई परीक्षणका लागि परिचालन गरिने उनले बताए ।

मन्त्री रावलका अनुसार प्रदेशबाट जाने चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीमा स्थानीयस्तरमा कार्यरत स्वास्थ्यकर्मी पनि समावेश हुनेछन् । लकडाउन अघि र पछि कर्णालीका धेरै मान्छे भारतबाट गाउँमा पुगेकाले मेडिकल टिम पठाएर आरडीटी किटबाट परीक्षण गरेपछि मात्र कोभिड–१९ को वास्तविक जोखिम थाहा हुने उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

कलेन्द्र

Link copied successfully