१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मस्जिद क्षेत्रमा सिल, परीक्षण गरिँदै

उदयपुरमा भेटिएका संक्रमित १३ पुगे
प्रदेश ब्युरो

काठमाडौँ — उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट विराटनगर ल्याइएकामध्ये शनिबार थप एक जनाको रिपोर्ट पोजेटिभ आएपछि मोरङ ल्याएका संक्रमितको संख्या १३ पुगेको छ । कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड–१९ उपचार केन्द्रमा राखिएको थियो । उनीहरूसँगै बस्दै आएका चार जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो । ती चारमध्ये एक जनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा पोजेटिभ पाइएको कोसी अञ्चल अस्पतालले जनाएको छ । ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राख्न भनिएको छ । शनिबार संक्रमण पुष्टि भएका बिरामी विराटनगर–१७ का भएको स्रोतले बताएको छ । यसअघि शुक्रबार संक्रमण पुष्टि भएकामा ११ जना भारतीय र एक जना नेपाली नागरिक थिए । उनीहरूको विराटनगरमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा पहिचान भएका संक्रमितको संख्या ३१ पुगेको छ । यिनमा तीन जना निको भएका छन् भने २८ जना उपचारमा छन् ।

उदयपुरमा कोभिड–१९ संक्रमण देखिएका ११ भारतीय र एक नेपालीको यात्रा विवरण खाजी भइरहेको छ । विराटनगरस्थित कोरोना उपचार केन्द्रमा राखिएका उनीहरूले कहाँकहा घुमे र ककसलाई भेटे भनेर प्रदेश सरकारले जानकारी लिन थालेको हो ।

उनीहरूको रगतको नमुना र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि विराटनगरस्थित कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा भने रिर्पोट पोजेटिभ पाइएको थियो । बिहीबार संकलन गरिएको स्वाबको नमुना काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा शुक्रबार परीक्षण गर्दा संक्रमण थप पुष्टि भएको थियो । संक्रमण पुष्टिपछि उनीहरूलाई उदयपुरको त्रियुगा–३ भुल्केस्थित मस्जिदबाट शुक्रबार राति एम्बुलेन्समा विराटनगर ल्याइएको हो । उनीहरूमा संक्रमित जस्तो बाहिरी लक्षण नदेखिएको चिकित्सकले बताएका छन् । निगरानीमा राखेर उनीहरूको स्वास्थ्य अवस्था अध्ययन भइरहेको छ । १२ जना भारतीयको टोलीमा रहेका एक जनामा भने रिर्पोट नेगेटिभ छ ।

मस्जिद आसपासमा परीक्षण सुरु

उदयपुरको भुल्केस्थित मस्जिदमा आइपुग्नुअघि ती भारतयी चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित मस्जिदमा बस्दा त्यहाँको समुदायसँग घुलमिल भएको स्थानीयको भनाइ छ । सिवाईमा १५ जना रहेकामा तीन जना विराटनगर फर्किएको र १२ भारतीय मात्रै भुल्के गएको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

२० देखि ४० वर्ष उमेर समूहका उनीहरू लकडाउनकै अवधिमा भुल्के मस्जिदमा पुगेका थिए । वीरगन्जको मस्जिदमा रहेका तीन धार्मिक गुरुमा कोभिड–१९ को संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिद अनुगमन गर्ने क्रममा उनीहरूलाई फेला पारेको हो ।

संक्रमण पुष्टिपछि भुल्के मस्जिद र आसपास क्षेत्रलाई सिल गरिएको छ । प्रदेश सरकारले पठाएको चिकित्सकसहितको परीक्षण टोली शनिबार दिउँसो भुल्के आइपुगेको स्वास्थ्य प्रमुख सुवेदीले बताए । टोलीमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसमेत छन् । सुवेदीले मस्जिद क्षेत्रमा आरडीटी किटबाट परीक्षण सुरु भएको जानकारी दिए । ‘पहिलो चरणमा मस्जिद रहेको क्षेत्र र त्यसपछि आसपासका बस्तीमा जाँच गर्छौं,’ उनले भने ।

भुल्केमा मुस्लिम समुदायका ५२ परिवारका करिब ६ सय जनाको नमूना परीक्षण गर्ने तयारी छ । शनिबार ६९ जनाको स्वाब संकलन गरिएको छ । स्वाब परीक्षणका लागि विराटनगरस्थित कोरोना परीक्षण प्रयोगशालमा पठाइनेछ ।

चौदण्डीगढी–५ सिवाईको मुस्लिम बस्तीमा अहिले पनि ६ जना भारतीय रहेको स्थानीयले जनाएका छन् । उनीहरू स्थानीय मस्तकिम मियाँकहाँ पाहुना भएर आएका हुन् । उनीहरू भारतको कुनौली आसपासका रहेको स्थानीयले बताए । संक्रमितहरूसँग उनीहरूको पनि हेलमेल रहेको दाबी स्थानीयले गरेका छन् । ‘पाहुना आएका ६ जनासँग उनीहरू (संक्रमित) को सम्पर्क भएको छैन,’ वडाध्यक्ष चौधरीले भने, ‘मस्जिदमा रहेका एक मौलाना र अर्का एक सहयोगीसँग भने हेलमेल भएको छ ।’

नगरपालिकाले पाहुना लागेका भारतीयलाई पनि राहत दिएको चौधरीले बताए । राहतपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष चौधरीको दाबी छ । सिवाईस्थित मस्जिद गाउँको बीचमा छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरसँगैको मस्जिदमा मुस्लिमसहित अन्य समुदायको बस्ती छ ।

सक्रमितसँगै रहेका अन्य चार जनालाई टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ । परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई क्वारेन्टाइनमा मात्र राखिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए ।

सप्तरीका मस्जिद सिल

उदयपुरमा कोभिड–१९ संक्रमण देखिएकाहरू सप्तरीका चार वटा मस्जिदमा पनि बसेको सूचना पाएपछि स्थानीय प्रशासनले उक्त क्षेत्र ‘सिल’ गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले शनिबार चार वटै मस्जिद रहेको क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

सप्तकोसी नगरपालिका १, २ र ४ र कञ्चनरूप नगरको बरमझिया मस्जिद क्षेत्रबाट आउजाउ गर्न नदिने निर्णय भएको जिल्ला प्रशासनका सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए । उनीहरूको सम्पर्कमा आएको अन्यको खोजी गरिने जनाइएको छ ।

मस्जिदका मौलबी, मौलाना र भान्सेलगायतको परीक्षण गरिने भएको छ । उदयपुर सीमामा थप कडाइसँगै जमातबाट आएका सबैको परीक्षण गर्ने र बोदेवरसाइन नगरपालिकामा छुट्टै स्वाब संकलन केन्द्र राख्ने निर्णय भएको छ ।

बोदेवरसाइनमा स्वाब संकलनका लागि स्वास्थ्य टोली परिचालन गर्न सेनालाई आग्रह गर्ने निर्णय गरिएको ठाकुरले बताए । अहिले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मात्र स्वाब संकलन हुँदै आएको छ । बोदेवरसाइन–५ जाजरमा गत फागुन ३ देखि ५ सम्म मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा भएको थियो।

तब्लिगी जमाती लुकेको प्रचार

कपिलवस्तुको चन्द्रौटा आसपास तब्लिगी जमाती लुकेर बसेको भारतीय पत्रिका राष्ट्रिय साहाराको दाबीपछि स्थानीय प्रशासनले खोजतलास तीव्र पारेको छ । तर अहिलेसम्म त्यस्ता कोही व्यक्ति फेला नपरेको प्रशासनको भनाइ छ ।

नयाँदिल्ली मर्कजबाट आएका तब्लिगी जमातसँग आबद्ध भएको समाचारमा उल्लेख छ । त्यसमा केही भारतीय, नेपाली र पाकिस्तानी संदिग्ध रहेको जनाइएको छ ।

दिल्ली मर्कजबाट फर्केकामा कोभिड–१९ संक्रमण देखिएको छ । पर्सामा पनि मर्कजबाटै फर्केका संक्रमणको सिकार भएका छन् । भारतमा पनि दिल्लीस्थित निजामुद्दिनमा आयोजित मर्कजबाटै फर्केका र त्यहीँ बसेकाबाट कोभिड–१९ संक्रमण बढेको छ ।

लकडाउन सुरु हुनुअघि नै जमातीहरू लुकिछिपी नेपाल प्रवेश गरेको समाचारमा बताइएको छ । त्यस्तै केही दुई साताअघि मात्र यहाँ आएको जनाइएको छ । उनीहरू पूर्व–पश्चिम राजमार्गको शिवराज नगरपालिकाको चन्द्रौटा बजार आसपासका मस्जिद, माछा मन्डी र इँटाभट्टामा लुकेर बसेको दाबी गरिएको छ ।

तीन–चार दिनअघि स्थानीय बासिन्दाले केही मुस्लिम अनुहारका नयाँ व्यक्ति बजारमा देखेपछि वडा प्रहरी कार्यालयलाई छापा मार्न दबाब दिएका थिए । त्यसपछि प्रहरीले तीन दिनमा तीन पटक छापा मारेको थियो । पछि प्रदेश सरकार र प्रजिअको निर्देशनमा दुई पटक छापा मारियो ।

शंकास्पद घर र इँटाभट्टामा छापा मार्दा एक पाकिस्तानी धर्मगुरु फेला परेको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उनी वैधानिक तरिकाले भिसा लिएर माघ ७ गते नेपाल आएको देखिएको छ । उनको तीन महिनाको भिसा अवधि छ । ‘उनलाई पक्राउ गरेका छैनौं,’ उनले भने, ‘सोधपुछ गरेर निगरानीमा राखेका छौं ।’

सजगता नअपनाई प्रहरीले छापा मार्दा संग्दिधहरू उम्किएको राष्ट्रिय साहाराका बढनी ब्युरो प्रमुख एवं समाचार सम्प्रेषक अजयप्रताप गुप्ताले बताए । ‘उनीहरू चन्द्रौटाबाट भागे पनि छेउछाउमै बसेका छन्,’ उनको दाबी छ, ‘उनीहरूको जति सक्दो छिटो खोजी गर्नु नेपाल र भारत दुवैको हितमा छ ।’

प्रदेश ५ को प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलानामक्सुद नेपालीले लकडाउनका कारण जिल्लाका मदरसा बन्द भएपछि धेरै भारतीय मौलाना आफ्नो घर भारत फर्किसकेको र यहाँ रहेकाहरू होम क्वारेन्टाइनमा बसेको बताए ।

– देवनारायण साह (मोरङ), डिल्लीराम खतिवडा (उदयपुर), अवधेशकुमार झा (राजविराज), मनोज पौडेल (कपिलवस्तु)

प्रकाशित : वैशाख ७, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?