मोहनापारिका तीन गाउँ दशगजाभित्रै ‘सिल’

वैशाख ७, २०७७

मोहन बुढाऐर

धनगढी — कैलालीका तीन गाउँ सीमा नदी मोहना पारि भारतको दुधुवा नेशनल पार्कसँंग जोडिएका छन् । कोरोना महामारीबाट बच्न दुवै मुलुकको लकडाउनमा यी गाउँ दशगजाभित्रै ‘सिल’ भएका छन् ।

पश्चिमदेखि पूर्व नेपाल–भारत सीमामा बग्ने मोहना पारि, कैलारी गाउँपालिकाका शिवरत्न, मोहनपुर र हौसलपुर गाउँ छन् । कैलाली प्रशासनले मोहना तर्न रोक लगाएपछि उनीहरु गाउमै थुनिएका हुन् । ‘नेपाली भूमिमै घर भए पनि सीमा बन्द छ । आफ्नै देशको सीमाभित्रै जान पाउदैनौं,’ हौसलपुरका भलमन्सा टीका चौधरीले भने, ‘मोहना नदी वारि सशस्त्र प्रहरीले साङ्लो बाँधेर प्रवेश निषेध गरेको छ । अर्काको देश भारतको सीमा नाँघेर जान सक्ने कुरै भएन ।’

समान्य अवस्थामा उनीहरुको दैनिकी भारतीय क्षेत्रमै निर्भर रहन्छ । अहिले अत्यावश्यक सामानका लागि पनि एसएसबीले मोहना पार गर्न नदिएको उनले बताए । ‘यता आफनै देशभित्र पस्न सशस्त्र प्रहरीले रोक लगाउने गरेको छ,’ उनले भने, ‘अहिले कुनै आपत्ति आइलागे पनि आफ्नो देश छिर्न सक्ने अवस्थामा पनि छैनौ ।’

यी तीन गाउमा भारतका बिभिन्न सहरबाट यी गाउँमा पनि धेरै जना फर्केका छन् । क्वारेन्टाइनलगायत कोरोना सावधानी सम्बन्धी गाउमा कुनै व्यवस्था नभएको स्थानीयले बताए । केही लक्षण देखिएकाले पनि कहाँ उपचार गराउने ठाउ नभएको र अन्य कुनै राहत पनि पाउन नसकेको उनीहरुको गुनासो छ ।

हौसलपुर भारतीय बस्तीसंँग जोडिएकोले कोरोना संक्रमणको डरले प्रवेशमा रोक लगाएको हुनसक्ने स्थानीय कमलप्रसाद चौधरीले बताए । ‘अहिलेको परिस्थितिमा भारतीय बस्तीमै उठबस भइरहने हुदा मोहना वारिका बस्ती र बजार छिर्न दिइएको छैन,’ उनले भने ।

भारतको हौसलपुर बस्ती दुधुवा नेशनल पार्कसंँग जोडिएको छ । भारतको बेलापुरसुवा पनि हौसलपुरसंग जोडिएको छ । बेलापरसुवा र हौसलपुर गाउँको साँध खेतको आली छ । यहाँको रहनसहन भाषा र संस्कृतिमा पनि भारतीयको प्रभाव छ । अधिकांसले नेपाली भाषा बोल्न जान्दैंनन् । उनीहरुसँंगको सम्पर्क मातृभाषा थारु र हिन्दी मात्रै हो ।

हसुलियाका कुलदीप चौधरीले मोहना पारिका तीनै गाउमा पनि कोरोना परीक्षण गरिनुपर्ने बताए । ‘लकडाउन पछि भारतबाट युवाहरु घर फर्केका छन्,’ उनले भने, ‘त्यहाँ कुनै परीक्षण र क्वारेन्टाइनमा बसेका पनि छैनन् ।’ भारतमा लकडाउनसँंगै नेपालका स्वास्थ्य संस्थामा जचाँउन आउन नसक्दा त्यहाँ संक्रमण लुकेको हुनसक्ने त्रासमा छन् ।

कैलारी ७ को हौसलपुरमा २८, वडा नं. ३ को शिवरतन १०० र मोहनपुर गाउमा ३५ परिवार छन् । शिवरतन र मोहनपुर दुधुवासंगै जोडिएका छन् । यी दुई गाउ नजिक भारतीय बस्ती छैन । मोहनपुर र शिवरतनका बासिन्दालाई भने केही खुकुलो गरेको कैलारी गाउँपालिका अध्यक्ष लाधुराम चौधरीले बताए । ‘यी दुई गाउ पनि दुधुवा पार्कसँंग सटिएका छनु,’ उनले भने, ‘भारतीय बस्तीसंँग नजोडिएकाले अति आवश्यक कामका लागि सशस्त्र प्रहरीको अनुमतिमा आउन दिने भनेका छौ ।’

सीमावर्ती चन्दनचौकी बजारसँंग जाने गरे पनि अहिले उनीहरुलाई भारतीय बजार जान प्रतिबन्ध लगाएको अध्यक्ष चौधरीले बताए । कोरोना बारे सचेत गराउन यी गाउका युवालाई टास्क फोर्स गठन गरेको र सशस्त्र प्रहरी समेत खटाइएको उनले बताए ।

मोहन

Link copied successfully