उनले सिफारिस गरेका १० फिल्म
काठमाडौँ — फेब्रुअरी तेस्रो साता बर्लिन फिल्म फेस्टिभलमा सहभागी हुन न्युयोर्ककबाट जर्मनी पुगे, फिल्म निर्देशक दीपक रौनियार । न्युयोर्कको दैनिकी सामान्य थियो । बर्लिनतिर पनि डर थिएन । इटालीमा भने कोरोना भाइरसले च्याप्दै गरेको समाचारहरु बाहिरिरहेका थिए ।
९ दिनपछि न्युर्योक फर्कँदा भने भयको बादल मडारिइसकेको थियो । कोरोनाले अमेरिकामा कब्जा जमाउँदै गरेको सुरुवाती दिनहरु थिए ती । थप डर के भइदियो भने बर्लिनबाट फर्कने बेला दीपकलाई रुघा लाग्यो, हल्का ज्वरो आयो । यात्राभर सतायो । कतै कोरोना त होइन ? त्रास हुने भइहाल्यो । आफ्नो पीसीपी (प्राइभेट केयर फिजिसियन) को सल्लाहमा दबाइ खाए, घरमै आराम गरे । धन्न ! निको भयो । दीपक भन्छन्, ‘यहाँ अझै पनि कोरोनाको जाँच गर्न सजिलो भएको छैन ।’
बर्लिनमा दीपकले नयाँ फिल्म ‘द स्काई इज माइन’का लागि लगानीकर्तासँग भेटे, वितरक, निर्माताहरुसँग सम्पर्क बढ्यो । कान्स फिल्म फेस्टिभलमा ती लगानीकर्ताहरुलाई ‘फलो–अप’ गर्ने, लगानी जुटाउने अनि आउँदो सेप्टेम्बरबाट सुटिङ सुरु गर्ने योजना थियो । तर, कोरोना कति जब्बर भइदियो भने अब न कान्स हुने छाँटकाँट छ, न निर्धारित मितिमा छायांकन हुने सम्भावना नै ।
दीपकले दुखी हुँदै सुनाए, ‘एउटा गतिमा प्रतिफलमूलक काम भइरहेको थियो तर अब यो प्रोजेक्ट पछाडि धकेलिने भयो ।’ यद्यपि घरमै बस्न बाध्य हुनु परेको यो समयमा उनी स्क्रिप्ट फाइनल गर्दैछन् । उनी, कलाकार आशा मगराती र अर्का एक साथी मिलेर स्क्रिप्ट लेखिरहेका छन् ।
दीपक-आशा न्युर्योकको ज्याक्सन हाइटमा बस्छन् । न्युर्योक पनि धेरै भीडभाड हुने क्षेत्र हो । उनका अनुसार त्यहाँ नेपालमा जस्तो लकडाउन लागू गरिएन । प्रशासनले अत्यावश्यक काममा बाहिर ननिस्कन आग्रह त गरेको छ तर अझै पनि मुख्य सडकमा मान्छेहरुको बाक्लो उपस्थिति भइराख्छ । ‘हामी पनि दैनिक एक घन्टा जति हिँड्न निस्कन्छौं तर सकेसम्म सहायक बाटोहरु प्रयोग गर्छौं,’ दीपकले भने । खाद्यान्न र औषधि पसलहरु निर्वाध खुलिरहेको तर दूरी कायम गरिएको उनले बताए ।
न्युर्योकमा एकदमै छिटो संक्रमण फैलियो । यहाँको बाक्लो आवादी त्यसको मुख्य कारण देख्छन उनी। त्यसमाथि सुरुमा प्रशासनले स्वास्थ्यकर्मीलाई मास्क नपुग्ने भन्दै आमनागरिकलाई मास्क नलगाउन आग्रह गरेको तर करोनाको जाँच अवाश्यक मात्र उपलब्ध गराउन नसकेको उनी बताउँछन्। अझै यहाँ करोनाको शंका लाग्दा पनि जाँच गराउन सहज नभएको पनि उनले सुनाए। ‘तर, अहिले स्थानीय प्रशासन दैनिक जीवन सहज बनाउँदै भाइरसलाई पराजित गर्न प्रतिबद्ध देखिएको छ,’ दीपकले सुनाए, 'मान्छेहरु आफैं पनि सचेत भएका छन् ।'
दीपक बसेको बिल्डिङमा काममा गर्ने एक कामदारको कोरोनाकै कारण मृत्यु भयो। दीपकले पछि मात्र थाहा पाए । उनको छिमेकी खोकेको–खोक्यै हुन्छन्, संक्रमिक छन् कि शंका छ दीपकलाई। तर यहाँ एउटा राम्रो के छ भने, कुन समुदायमा, कुन घरमा बिरामी छन् प्रशासनले जानकारी दिँदैन। सम्प्रदायिकता नफैलियोस भनेर।
अहिले कोरोनाको ‘इपिसेन्टर’ अमेरिका । न्युर्योकचाहिँ अमेरिकाको पनि ‘इपिसेन्टर’ । यहाँमात्र शनिबारसम्म १७ हजार भन्दा धेरैको ज्यान गइसक्यो । ‘डर त लाग्छ नै,’ दीपकले सुनाए, ‘तर मेरै नर्स साथीहरु अस्पतालमा खटिरहेका छन्, कोही ग्रोसरीजस्ता मान्छेको भीड हुने ठाउँमा काम गरिरहेका छन् । उनीहरु जति मलाई जोखिम छैन भनेर चित्त बुझाइदिँदोरहेछ ।’ मानवीय स्वभाव नै यही हो । अर्काको दुख देखेपछि आफ्नो दुख कम लाग्ने ! केही दिनयता मुत्यु हुनेको संख्या घटिरहेकाले माहोल सामान्य बन्दै जानेमा आशावादी छन् उनी ।
बरु नेपालको खबर पढ्दा चिन्ता लाग्छ उनलाई । विरामी भर्ना लिन नमान्ने निजी अस्पताल, सडकमा अलपत्र मजदुर, घर पुग्न हप्तौं हिडिरहेका नागरिक, औषधि किन्न गएका र चिकित्सकलाई लाठी बर्साउने प्रहरी, मेडिकल सामाग्री किन्दा भएका भ्रष्टचार अनि राज्यको उदासिनताजस्ता समाचारले उनको मन हुडल्छ । ‘लाखौं खर्चेर चीनको बुहानबाट नेपाली ल्याउन सक्ने सरकारले काठमाडौंबाट लहान वा कतै आफ्नो घरसम्म नागरिकलाई पुर्याउन सक्दैन ?’ उनी अगाडि थप्छन्, ‘हामी गरिब त छौं तर भोका नागरिकलाई खुवाउनै नसक्ने गरिब पनि छैनौं । काठमाडौं धनी तर निर्दयी रहेछ’ भन्दै साना बालबच्चा बोकेर गाउँ फर्किरहेका मजदुरको रोदनमा हाम्रो सामाजिक र राज्य संचरनाको असली चरित्र झल्किएको छ ।’ भन्छन्, ‘कोरोना हाम्रा लागि ऐना भयो ।’
दीपक अमेरिकामा फिल्म पढाउँछन् । बीचमा केही हप्ता अध्यापन रोकियो । त्यसपछि घरबाटै अनलाइनमा पढाइरहेका छन् । फिल्म प्रोडक्सन भएकाले सुरुमा अनलाइनमा पढाउन सकस भएको थियो तर बिस्तारै बानी पर्दैछ । ‘विभिन्न देशका फिल्ममेकरलाई पनि गेस्टका रुपमा निम्त्याउँछु, उनीहरुसँगको छलफल रोचक भइरहेको छ,’ दीपकले सुनाए । उनकी पत्नी आशाले पनि केही समय अगाडि काम छोडेकी थिइन । त्यसैले अहिले दुवैको ध्यान लेखपढमै छ । त्यसबाहेक फिल्म हेर्नु त छँदैछ । भन्छन्, ‘फिल्म धेरै हेरिरहेको छु । समय बिताउनकै लागि हेरेको होइन । फिल्म हेर्नु मेरो नियमित काम नै हो ।’
दीपक निर्देशित ‘हाइवे’ र ‘सेतो सूर्य’ ले विदेशी फेस्टिभलमा ख्याती कमाए । कतिपय देशमा सार्वजनिक प्रदर्शन भयो । विश्व सिनेमञ्चमा नेपाली फिल्मको उपस्थिति जनाउने सिमित फिल्मकर्मीमा पर्छन् दीपक । दुई वर्षअघि न्युर्योक टाइम्सले प्रकाशित गरेको सम्भावना बोकेका संसारका उत्कृष्ट ९ नवनिर्देशकको सूचीमा उनी पनि थिए ।
दीपकले सिफारिस गरेका १० फिल्म
१) दियर इज नो इभिल (निर्देशक मोहम्मद रसुल्फ, इरान, सन् २०२०)
२) नेभर रेयरली समटाइम्स अलवेज (निर्देशक एलिजा हिटम्यान, अमेरिका, सन् २०२०)
३) प्यारासाइट (निर्देशक वोन–जु हो, दक्षिण कोरिया, सन् २०१९)
४) लेज मिजरिबल्स (निर्देशक लाज लाइ, फ्रान्स, सन् २०१९)
५) एस इज प्युअरेस्ट हृवाईट (निर्देशक जिया जान–का, चीन, सन् २०१८)
६) एटलान्टिक्स (निर्देशक माटी डिओप, फ्रान्स, सन् २०१९)
७) द फेयरवेल (निर्देशक लुलु वाङ, अमेरिका, सन् २०१९)
८) फोर्ड भर्सेस फरारी (निर्देशक जेम्स म्यानगोल्ड, अमेरिका, सन् २०१९)
९) लिटल वुमन (निर्देशक ग्रेटा गिर्विग, अमेरिका, सन् २०१९)
१०) म्यारिज स्टोरी (निर्देशक नोह बौम्वाच, अमेरिका, सन् २०१९)
