अलपत्र ९० यात्रु घर पुगे

वैशाख ७, २०७७

विप्लव महर्जन

सल्यान — लमजुङ, नवलपरासी र धादिङमा अलपत्र परेका ९० यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ । विभिन्न जिल्लामा अलपत्र परेका सल्यान, रुकुम पश्चिम र जाजरकोटका बासिन्दालाई शारदा नगरपालिकाले गन्तव्यमा पुर्‍याएको हो ।

नगरपालिकाले सल्यानका ६९, जाजरकोटका १९ र रुकुमका १ जनालाई घर पठाउने व्यवस्था मिलाएको हो । विभिन्न समूहमा हिँड्दै आएका उनीहरु शनिबार श्रीनगर पुगेका थिए । उनीहरुलाई  उद्योग वाणिज्य संघ, वजार व्यवस्थापन समिति, सल्यान दृष्टिकोण र जेसिसले सामूहिक खाना खुवाएका थिए ।

अधिकांश यात्रुले हिँडेदेखि भरपेट खाना खान नपाएको थाहा पाएपछि खानाको व्यवस्था गरिएको संघका उपाध्यक्ष दिपक बोहराले बताए । उनका अनुसार सल्यानको कुमाख गाउँपालिकाका ३३, सिद्धकुमाखका ११, शारदा नगरपालिकाका १९ र बाग्चौर नगरपालिकाका ६ जना विभिन्न ठाउँमा अलपत्र परेका थिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully