एनपीएल : विराटनगरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

सुदूरपश्चिमले दुई महत्वपूर्ण खेलाडी परिवर्तन गरेको गरेको छ । स्कट कुग्लेन र क्रिस लिनको स्थानमा टोलीले जस ब्राउन र ध्रुव परासरलाई खेलाएको छ ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

NPL: Sudurpaschim's batting against Biratnagar

What you should know

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा फिल्डिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगिसकेको छ । गत सिजनमा फाइनलमा पराजित सुदूरपश्चिमले यस पटक लगातार खेल जित्दै आएको छ ।

विराटनगर प्ले अफमा निश्चित भइसकेको छ । सुदूरपश्चिमलाई ठूलो अन्तरमा पराजित गरेमा टोलीले पुनः सुदूरपश्चिमसँग क्वालिफायर १ मा खेल्ने सम्भावना बन्छ । काठमान्डु गोर्खाजलाई उछिन्न विराटनगरले सुदूरपश्चिमविरुद्ध ठुलो अन्तरमा विजय हात पार्नुपर्नेछ ।

सुदूरपश्चिमले दुई महत्वपूर्ण खेलाडी परिवर्तन गरेको गरेको छ । स्कट कुग्लेन र क्रिस लिनको स्थानमा टोलीले जस ब्राउन र ध्रुव परासरलाई खेलाएको छ । कुग्लेन टोलीका प्रमुख बलर हुन् भने लिन चितवन राइनोजविरुद्धको अघिल्लो खेलमा अविजित ७५ रन बनाउँदै प्लेयर अफ द म्याच बनेका थिए ।

ब्राउन सुदूरपश्चिम टोलीका नियमीत सदस्य हुन्, तर चितवनसँग अघिल्लो खेलमा उनलाई खेलाइएको थिएन । यूएईका ब्याटर परासरको एनपीएलमा यो पहिलो खेल हो ।

विराटनगरले चार खेलाडी परिवर्तन गरेको छ । मार्टिन गप्टिल टोलीमा फर्किएका छन् । जनकपुर बोल्ट्ससँगको खेलमा घाइते भएका गप्टिलले त्यसपछिका ३ खेल गुमाएका थिए । उनले स्कटिस ब्याटर जर्ज मन्सीको स्थान लिने छन् । 

त्यस्तै नरेन भट्ट, शंकर राना र सूर्य तामाङलाई टोलीमा ल्याइएको छ । उनीहरुले नारायण जोशी, साहिल पटेल, सुवास भण्डारीको स्थान लिने छन् । गत सिजन काठमान्डुबाट खेलेका शंकरले विराटनगरको जर्सीमा पहिलो खेल खेल्न लागेका हुन् । 

कान्तिपुर

Link copied successfully