सुदूरपश्चिम लगातार छैटौँ खेल जितेर क्वालिफायर-१ मा

काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर-१ मा खेल्ने छ ।

मंसिर १८, २०८२

विनोद पाण्डे

Sudurpaschim advances to Qualifier-1 after winning sixth consecutive match

What you should know

काठमाडौँ — सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा प्रवेश गरेको छ । सुदूरपश्चिमले बिहीबारको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रालाई कायमै राख्यो ।

सुदूरपश्चिमले पहिलो ६ खेल नै जितेर फाइनलनजिक पुगेको हो । सुदूरपश्चिमको यस विजयले विराटनगर किंग्स पनि प्लेअफमा सुरक्षित भएको छ । सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगरको ८ अंक छ । काठमान्डु र विराटनगर पहिलो पटक प्ले अफ पुगेका हुन् ।

काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर-१ मा खेल्ने छ । विराटनगरले शनिबार हुने खेलमा सुदूरपश्चिमलाई ठूलो अन्तरले पराजित गरेमात्र काठमान्डुलाई नेट रन रेटमा उछिन्ने सम्भावना रहन्छ ।

लुम्बिनी लायन्सले शुक्रबार हुने खेलमा जनकपुर बोल्टलाई पराजित गरेमा चौथो टोलीका रूपमा प्लेअफ पुग्ने छ । अन्यथा लुम्बिनी, जनकपुर, चितवन र पोखरा एभेन्जर्समध्येको १ टोलीको प्लेअफमा पुग्ने सम्भावना रहन्छ ।

१ सय ७० रनको विजय लक्ष्य लिएर आएको चितवन त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १७.१ ओभरमा १ सय २० रनमा अलआउट भयो । भेट्रान रवि बोपाराले चितवनबाट सर्वाधिक २९ रन बनाए । उनले २३ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

Sudurpaschim advances to Qualifier-1 after winning sixth consecutive matchदेव खनाल १९ बलमा ३ चौका प्रहार गरी २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, डेविड मलान र सैफ जैब समान ६, अमरसिंह रौटेला ९ रनमा आउट भए । सुदूरपश्चिमका पुनित मेहराले ३ विकेट लिए । उनले २.१ ओभरमा १४ रन खर्चेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, इशान पाण्डे र प्रतियोगितामा पहिलो खेल खेलिरहेका हिक्मत महराले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर क्रिस लिनको ७५ रनमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ रन ६९ बनाएको थियो ।

लिन निकै भाग्यमानी पनि रहे । चितवनका कप्तान कुशल मल्लले २ रनमा हुँदा लिनको सजिलो रिटर्न क्याच छाड्न पुगे । चितवनलाई यो निकै महँगो पर्‍यो । उनले कुल ५६ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । १७ ओभरमा उनी रिटायर्ड हर्ट भएर मैदान छाडे ।

Sudurpaschim advances to Qualifier-1 after winning sixth consecutive matchलिनका ओपनिङ जोडी विनोद भण्डारीले १७ बल खेली २ चौका र १ छक्कासहित २१ रन बनाए । इशान १, प्रतियोगितामा पहिलो खेल खेलिरहेका पुनित १३, हरमित १ रनमै आउट भए । आरिफ शेख र दीपेन्द्र दुवै २४ रनमा अविजित रहे । आरिफले १६ बल खेली २ चौका र १ छक्का तथा दीपेन्द्रले १४ बल खेली २ छक्का प्रहार गरे ।

चितवनबाट जैबले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेका थिए । रन्जित कुमारले ४ ओभरमा १६ र जर्ज स्क्रिमशवले ४ ओभरमा ४० रन खर्चेर १–१ विकेट लिए । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully