बिहीबार पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । बिहीबार पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपीएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने ।
शाहबले चार ओभर ‘बलिङ’ गर्ने क्रममा २५ ‘रन’ खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ओभरमा जेसन रोयलाई ‘आउट’ गर्दै पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।
शाहबले पारिको अन्तिम ओभर बलिङ गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले दोस्रो बलमा विपिन खत्रीलाई ‘स्टम्पिङ आउट’ गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए ।
यसअघि एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।
