यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर-१ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।
What you should know
काठमाडौँ — ओपनर क्रिस लिनको ७५ रनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ७० रनको लक्ष्य दिएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ रन ६९ बनायो ।
लिन निकै भाग्यमानी पनि रहे । चितवनका कप्तान कुशल मल्लले २ रनमा हुँदा लिनको सजिलो रिटर्न क्याच छाड्न पुगे । चितवनलाई यो निकै महँगो पर्यो । उनले कुल ५६ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । १७ ओभरमा उनी रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए ।
लिनका ओपनिङ जोडी विनोद भण्डारीले १७ बल खेली २ चौका र १ छक्कासहित २१ रन बनाए । इशान पाण्डे १, प्रतियोगितामा पहिलो खेल खेलिरहेका पुनित मेहरा १३, हरमित सिंह १ रनमै आउट भए । आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरी दुवै २४ रनमा अविजित रहे । आरिफले १६ बल खेलि २ चौका र १ छक्का तथा दीपेन्द्रले १४ बल खेली २ छक्का प्रहार गरे ।
चितवनबाट सैफ जैबले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेका थिए । रन्जीत कुमारले ४ ओभरमा १६ र जर्ज स्क्रिमशवले ४ ओभरमा ४० रन खर्चेर १–१ विकेट लिए ।
सुदूरपश्चिम पहिलो ५ खेलै जितेर शीर्ष स्थानमा छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर-१ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।
