कीर्तिपुरमा जारी खेलमा नयाँ कप्तान वायन पार्नेलको नेतृत्वमा जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको छ, जबकि सुदूरपश्चिम बलर अविनाश बोहराले ४ विकेट लिए।
What you should know
काठमाडौँ — अमेरिकी ब्याटर सञ्जय कृष्णमुर्थीको अर्धशतकबाट प्रेरित जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयललाई राम्रो स्कोर तेर्स्याउन सफल भएको छ ।
नयाँ कप्तान वायन पार्नेलले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ४५ रन बनाउन सफल भयो । अन्तिम ८ ओभरमा ७८ रन जोड्दै जनकपुर यो स्कोरमा उभिन सफल भएको हो ।
१२ ओभरमा ६७–४ को स्थितिमा रहेको जनकपुरको इनिङ्स तानेका कृष्णमुर्थीले ३८ बलमा ५० रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । कृष्णमुर्थीले दीपेन्द्रले फालेको १५ औँ ओभरमा २ छक्का र १ चौकासहित २० रन प्रहार गरेका थिए । कृष्णमुर्थी र आदित्य महताले पाँचौं विकेटमा ५५ रन जोडे । आदित्यले १३ बलमा २ चौकासहित १५ रन बनाए ।
अविनाश बोहराले १८ औँ ओभरमा कृष्णमुर्थी र शुभ कंसाकारलाई लगातार बलमा आउट गरेर सुदूरपश्चिमलाई खेलमा फर्काएका थिए । अविनाशले सो ओभरमा २ रनमात्र दिएका थिए । पार्नेल १२ बल खेली १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।
अविनाशले सुदूरपश्चिमबाट ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । अर्का तीव्र बलर स्कट कुग्लेनले ४ ओभरमा २२ रन खर्चेर ३ र दीपेन्द्रले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
जनकपुरको सुरुआत राम्रो थिएन । कुग्लेनले खेलको पहिलो ओभरमै आसिफ शेखलाई बोल्ड गरे । उनले नै मयन यादवलाई ६ रनमा एलबीडब्लु आउट गरे । ओपनर माज सदाकत ९ बलमा २ चौका प्रहार गरी १२ रनमा दीपेन्द्रबाट बोल्ड भए । यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे ।
जनकपुरबाट दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर पार्नेलले कप्तानी गरिरहेका छन् । पार्नेल एनपीएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी हुन् । अघिल्लो खेलमा मात्र उनी जनकपुरको टोलीमा समावेश भएका थिए र पोखरासँगको खेलमा अविजित अर्धशतक बनाएका थिए ।
जनकपुर पहिलो ३ खेलमा पराजित रहेको थियो भने नियमीत कप्तान अनिल साहको कमजोर फर्म पनि रहेका कारण जनकपुरले बोल्ड निर्णय गरेको हो । अनिल जनकपुरको प्लेयिङ टोलीमा पनि छैनन् । उनको स्थानमा आदित्यले खेलेका थिए ।
गत वर्ष जनकपुरले सुदूरपश्चिमलाई नै पराजित गरी उपाधि जितेको थियो । तर यस सिजनमा जनकपुरको प्रदर्शन निकै कमजोर रहेको छ । टोलीले अघिल्लो खेलबाट गत सिजनका हिरो लाहिरु मिलान्थालाई प्लेयिङ टोलीबाट बाहिर राखेको थियो ।
आसिफ शेख जनकपुरका विकेटकिपर–ब्याटर मार्की खेलाडी हुन् । तर उनलाई जनकपुरले यसपटक नेतृत्वदायी भूमिका दिएको छैन । गत सिजन अनिल अधिकांश समय घाइते हुँदा आसिफकै कप्तानीमा जनकपुरले उपाधि उचालेको थियो । प्लेअफ सम्भावनालाई जीवितै राख्न जनकपुरले बाँकी रहेका ४ खेल नै जित्नै पर्छ ।
सुदूरपश्चिम पहिलो चारै खेल जिती शीर्ष स्थानमा छ । सुदूरपश्चिमले नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ ।
