नियमित कप्तान अनिल साहलाई परिवर्तन गरी डिफेन्डिङ च्याम्पियन जनकपुरलेे गर्यो बोल्ड निर्णय ।
काठमाडौँ — दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर वायन पार्नेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सको कप्तानी गरेका छन् । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा उनले टस जितेर ब्याटिङको निर्णय गरेका छन् ।
पार्नेल एनपीएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी हुन् । अघिल्लो खेलमा मात्र उनी जनकपुरको टालीमा समावेश भएका थिए र पोखरासँगको खेलमा अविजित अर्धशतक बनाएका थिए ।
जनकपुर पहिलो ३ खेलमा पराजित रहेको थियो भने नियमित कप्तान अनिल साहको कमजोर फर्म पनि रहेका कारण जनकपुरले सुदूरपश्चिमले बोल्ड निर्णय गरेको हो । अनिल जनकपुरको प्लेयिङ टोलीमा पनि छैनन् । उनको स्थानमा आदित्य महतालाई ल्याइएको छ ।
गत वर्ष जनकपुरले सुदूरपश्चिमलाई नै पराजित गरी उपाधि जितेको थियो । तर यस सिजनमा जनकपुरको प्रदर्शन निकै कमजोर रहेको छ । टोलीले अघिल्लो खेलबाट गत सिजनका हिरो लाहिरु मिलान्थालाई प्लेयिङ टोलीबाट बाहिर राखेको थियो ।
आसिफ शेख जनकपुरका विकेटकिपर–ब्याटर मार्की खेलाडी हुन् । तर उनलाई जनकपुरले यसपटक नेतृत्वदायी भूमिका दिएको छैन । गत सिजन अनिल घाइते भएको अवस्थामा अधिकांश खेलमा आसिफले नै कप्तानी गर्दै जनपुरलाई उपाधि दिलाएका थिए । प्लेअफ सम्भावनालाई जीवितै राख्न जनकपुरले बाँकी रहेका ४ खेल नै जित्नै पर्छ ।
सुदूरपश्चिम पहिलो चारै खेल जिती शीर्ष स्थानमा छ । सुदूरपश्चिमले नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ ।
